अन्तर्वार्ता/विचारसोमबार, बैशाख २९, २०७१

एमाओवादी सम्मलेनः विघटनको असर र परिमाण

mumaram Khanal

एमाओवादीको विराटनगर राष्ट्रिय सम्मेलन आखिरमा त्यस्तै भयो जस्तो अनुमान विश्लेषकहरूले मात्र होइन त्यसका नेताहरूले समेत गरेका थिए, अर्थात् सम्मेलन पार्टी विघटनको अन्तिम विन्दु बन्न पुग्यो । विशेष महाधिवेशनको माग गरेका बाबुराम भट्टराईले राष्ट्रिय सम्मेलन स्थगित गरिएन भने त्यो नै पार्टी विघटनको थलो बन्ने बताएका थिए । उता अध्यक्ष पुष्पकमल दाहालले भने राष्ट्रिय सम्मेलन स्थगित गरियो भने पार्टीलाई विघटनबाट रोक्नै नसकिने बताएका थिए । दाहालले चाहे जस्तै राष्ट्रिय सम्मेलन त भयो तर विघटन भने भट्टराईले भने जस्तै गरी भयो ।

एमाओवादीका शीर्षस्थ नेताहरूलाई थाहा छ, अब पार्टीलाई विघटनबाट जोगाउन सकिने छैन । त्यसोभए फेरि पनि लडाइँ किन भैरहेको छ त ? सत्य के हो भने, अहिले एमाओवादीभित्र पार्टीलाई विघटनबाट जोगाउन लडाइँ भइरहेको छैन । बरु विघटनको दोष कसको टाउकोमा हालिदिने भन्ने लडाइँ शुरू भएको छ । बाबुराम पक्षले विघटनको दोष आफूमा नआओस् भनेर संस्थापन पक्षबाट औपचारिक सांगठनिक कारबाही चाहेको छ भने संस्थापन पक्ष कारबाही नगर्दै बाबुराम पक्षले अर्को दल निर्माणको घोषणा गरोस् भन्ने चाहनामा छ । यो नाटकीय श्रृंखला अझै केही दिन चल्ने देखिन्छ ।

१८ बैशाखमा विराटनगरमा शुरु भएको एमाओवादीको प्रथम राष्ट्रिय सम्मेलनको उदघाटन समारोह । तस्वीरः चुमन बस्नेत

संविधानसभाको तेस्रो ठूलो दल मात्र होइन, अहिले पनि शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण हिस्सा हो– एमाओवादी । निरन्तर विघटित र कमजोर बन्दै गएको एमाओवादीको भविष्यले उसको आन्तरिक संकटलाई मात्र उजागर गर्दैन संविधान निर्माण प्रक्रियालाई पनि गम्भीर असर पार्ने देखिन्छ । यस अगाडिको विभाजनबाट नेकपा–माओवादी बनेपछि निकै कमजोर भएको एमाओवादीमा पुनः देखापरेको नयाँ फूटको बीजारोपण र विघटनले बहुआयामिक असर पार्नेछ । एकातिर यसको एउटा समुह संविधानसभा बाहिर छ भने भित्र रहेको हिस्सामा समेत संविधानसभालाई हेर्ने दृष्टिकोण अस्पष्ट देखिन्छ । विघटित र कमजोर हुँदै गरेको एमाओवादीको कारण मुलुकको राजनीतिमा पर्न सक्ने संभावित असर र परिणामबारे आकलन गर्नु अहिले वाञ्छनीय देखिन्छ ।

पार्टीभित्र र बाहिर

एमाओवादी पार्टीको आन्तरिक जीवनमा आएको विवाद, विभाजन र विघटनले स्वाभाविक रूपमा पहिलो असर उसको आफ्नै भविष्यमा पर्नेछ । शान्ति प्रक्रियामा आएपछि एमाओवादीभित्र मूलतः दुई वटा प्रवृत्ति देखा परेका थिए । पहिलो, संविधानसभालाई सकेसम्म आफ्नो अनुकूल उपयोग गर्ने, नसके विद्रोहद्वारा सत्ता कब्जा गर्ने । पार्टीभित्र त्यस्तो प्रवृत्तिको नेतृत्व मोहन वैद्यले गर्दथे । अर्कोतिर, शान्ति र संविधानलाई एउटा टुङ्गोमा पुर्‍याएर केही वर्ष शान्तिपूर्ण ढङ्गले बहुदलीय प्रतिस्पर्धाबाट अगाडि बढ्ने प्रवृत्तिको नेतृत्व बाबुरामले गर्थे । यी दुवै प्रवृत्तिहरूलाई अति बायाँ र अति दायाँ जान नदिई सन्तुलनमा राख्ने काम दाहालको थियो । तर पार्टीमा आएको पहिलो विभाजनपछि दाहालको सन्तुलित समीकरण नराम्ररी खलबलियो । परिणाम, एमाओवादीको आन्तरिक संकट बढेर गयो ।

बढ्दो आन्तरिक संकट समाधान गर्न दाहालले नारायणकाजी श्रेष्ठलाई वैद्यको डमी बनाएर बाबुराम समूहको समानान्तर हैसियत प्रदान गरिदिए । जबकि, वैद्य समूहको पार्टी बहिर्गमनपछि भट्टराईले आफूलाई भावी नेतृत्वको रूपमा हेरेका थिए । हेटौंडा महाधिवेशनमा श्रेष्ठलाई पनि उपाध्यक्षको पदीय हैसियत दिएपछि भट्टराई रुष्ट बनेका थिए । वैद्यको बहिर्गमनपछि पार्टीको वैचारिक लाइनको हिसाबले पनि भट्टराईले आफूलाई एमाओवादीको मुख्य नेतृत्व पाउनुपर्ने दावेदार ठानेका थिए । तर, दाहालका पछिल्ला निर्णयहरू उनले सोचे जस्ता भएनन् । उनी हेटौंडा महाधिवेशनपछि पार्टीलाई विघटनबाट बचाउने एक मात्र उपाय नेतृत्व परिवर्तन हो भन्नेमा विश्वस्त थिए ।

विभाजनपछि अस्तव्यस्त बनेको पार्टी संगठनलाई हेटौंडा महाधिवेशनले पनि समाधान गर्न सकेको थिएन । त्यसैले सांगठनिक समस्या समाधान गर्न दाहालले अनेक विकल्पमा छलफल चलाउँदै थिए । भट्टराई भने सहज नेतृत्व हस्तान्तरण बाहेक अन्य विकल्पलाई स्वीकार्ने पक्षमा थिएनन् । तर, पार्टीभित्र कमजोर पकडका कारण आफ्नो भनाइलाई सीधै राख्न सकिरहेका थिएनन् । त्यसैले उनले पद त्याग मार्फत दाहाल विरुद्ध पहिलो विद्रोह गरे ।

दोस्रो संविधानसभा निर्वाचन नहुने पक्का भैदिएको भए त्यति वेला नै एमाओवादीमा विभाजन आइसक्थ्यो । निर्वाचनको वातावरण बन्दै गएको तात्कालिक परिस्थितिमा आन्तरिक द्वन्द्वलाई चर्काउन गाह्रो थियो । त्यसैले सांगठनिक अकर्मण्यता, अराजकता र अन्योलको बीचमा नै एमाओवादीले निर्वाचनको सामना गर्‍यो । त्यस्तो वैचारिक र सांगठनिक संकटको अवस्थामा लडिएको निर्वाचनमा उसको पराजय निश्चित थियो र भयो पनि । नेतृत्व हस्तान्तरणको विषयलाई मूर्त ढङ्गले राख्ने अवसरको पर्खाइमा रहेका भट्टराईलाई यो सुनौलो मौका थियो । उनले निर्वाचनमा पराजयको मुख्य जिम्मेवारी लिंदै दाहालले अध्यक्षबाट राजीनामा गर्नुपर्ने धारणा राखेपछि संघर्ष चर्कियो । अब दाहालको ध्यान वैद्य माओवादीसँग एकता गर्ने दिशातिर तानियो । त्यसैको परिणाम विराटनगर सम्मेलनमा देखापरेको हो ।

भट्टराईले बुझिसकेका थिए– संगठनको कुरा गरेर मात्र दाहालले नेतृत्व छोड्ने छैनन्, बरु वैद्य माओवादीसँग मिलेर आफूलाई थप कमजोर पार्नतिर लाग्ने छन् । त्यसैले दाहालले हेटौंडा महाधिवेशनको गलत वैचारिक व्याख्या गरेको र संविधान निर्माणमा भन्दा विद्रोहतिर झुकाव गएकोले नयाँ वैचारिक तथा सांगठनिक निर्माणको लागि भन्दै भट्टराईले विशेष महाधिवेशनको माग गरे । भागबण्डाको मामिलामा असन्तुष्ट श्रेष्ठसँग पनि भट्टराईले दाहाल विरुद्ध अस्थायी मोर्चा बनाए । संविधानसभा निर्वाचनपछि यही अस्थायी मोर्चाले दाहालमाथि दबाब बढाउँदै लगेको थियो । दाहाल भने दबाबलाई सकेसम्म नजरअन्दाज गर्दै अगाडि बढिरहेका थिए । त्यसैले सम्मेलन स्थगित गर्नुपर्ने मोर्चाको माग विपरीत उनले राष्ट्रिय सम्मेलन गरेरै छोडे ।

विराटनगर सम्मेलनबाट एमाओवादी विभाजनको भयंकर दुष्चक्रमा फसिसकेको छ । पार्टीमा बाबुराम मात्र होइन, ढिलो वा चाँडो नारायणकाजी समूह पनि टिकिरहन सम्भव हुने छैन । अर्कोतिर वैद्य माओवादीसँग एकता गरेर शक्तिशाली बन्ने कुरा पनि हाललाई सम्भव छैन । किनकि संविधानसभा रहुन्जेल एमाओवादीले संविधानसभा छोड्न र माओवादीले त्यहाँ सहभागिता जनाउने आधार देखिंदैन । वर्तमान संविधानसभाप्रति दाहालमा उल्लेख्य उदासीनता रहेको भए पनि त्यहाँबाट बाहिरिने जोखिम मोल्न सक्ने अवस्थामा छैनन् उनी । अन्य कुनै कारणले संविधानसभाको परिस्थिति प्रतिकूल भयो भने चाहिं एमाओवादी बाहिरिने खतरा छ ।

अर्कोतिर, एमाओवादीमा देखा परेको फूटले माओवादीमा एकताको आशा जगाइदिएको छ । पार्टी विभाजनपछि अकर्मण्य र कमजोर बनेको माओवादीको लागि बाबुरामको बहिर्गमन एकताको आधार बन्न सक्छ– नेत्रविक्रम चन्द समूहबाट कडा विरोध रहे पनि । बरु दाहाल विरुद्धको मोर्चालाई बलियो बनाउने शर्तमा बाबुरामसँग मिल्न सक्छ । तर, संविधानसभाको उपस्थितिभित्र भने औपचारिक रूपमा एकता वा विभाजनको घोषणा गर्न असंभवप्रायः छ । त्यसकारण संविधानसभाले संविधान जारी गरे वा नगरे पनि यो प्रक्रियाको अन्त्य पछि मात्र विभाजन वा एकताको औपचारिक प्रक्रिया संभव हुनेछ ।

सैद्धान्तिक स्पष्टता र सांगठनिक उदारता अपनाउन सक्ने हो भने एमाओवादी विघटनको प्रत्यक्ष र अधिकाधिक लाभ एमालेले उठाउन सक्नेछ । किनकि एमाओवादीले हेटौंडाबाट पारित गरेको वैचारिक लाइनको आधार घनश्याम भुसाल लगायत एमालेका केही युवा नेताहरूले आठौं महाधिवेशनमा प्रस्तुत गरेको दस्तावेज हो । एमालेको आगामी नवौं महाधिवेशनमा पार्टीको सर्वसम्मत वैचारिक लाइन त्यही बन्ने करीब करीब निश्चित देखिएको छ । स्पष्ट छ, एमाओवादीको हेटौंडाको अस्पष्ट वैचारिक लाइनलाई बाबुरामको अन्तरविरोधले अझ अस्पष्ट र विरोधाभासपूर्ण बनाउने छ । एमालेले वैचारिक स्पष्टताको साथ नेपालको आर्थिक/सामाजिक चरित्रको विश्लेषण, त्यसको आधारमा वर्ग विश्लेषण र सामाजिक रूपान्तरणको कार्यक्रम बनाउन सक्यो भने एमाओवादी विघटनको रफ्तार अझ तीव्र हुनेछ ।

संविधान र संविधानसभा

शान्ति प्रक्रिया र नयाँ संविधान मार्फत तत्कालीन माओवादीको हिंसात्मक विद्रोहको व्यवस्थापन गर्न नै संविधानसभा स्थापना भएको हो । तर एमाओवादीमा देखिएको वर्तमान विवादले संविधान निर्माण प्रक्रियामा सोचेभन्दा गम्भीर असर पार्नेछ । समग्र एमाओवादी र अझ त्यहाँभित्रको शान्ति र संविधानको पक्षधर समूह कमजोर हुँदै जाँदा संविधान निर्माणमा के–कस्ता व्यवधानहरू उत्पन्न हुन सक्छन् भन्ने अहिलेको सर्वाधिक गम्भीर सवाल हो । सर्वविदितै छ, एमाओवादीभित्र शान्ति र संविधानको पक्ष–विपक्षमा बहस चल्दाचल्दै अन्ततः विभाजनमा गएर मात्र विवाद टुङ्गिएको थियो ।

शान्ति र संविधानप्रति असहमति जनाएर संविधानसभाको निर्वाचन बहिष्कार गरेको वैद्य समूहको लाइनप्रति दाहालको आकर्षण बढ्दै गइरहेको छ, अहिले । यसले पार्टी कमजोर बनेपछि संविधानसभाप्रति दाहालको बढ्दो अरुचिलाई संकेत गर्छ । भट्टराईसँग राजनीतिक दूरी बढ्दै जाँदा स्वाभाविक रूपमा दाहाल र वैद्यको दूरी घट्ने छ । तर संविधानसभाको ‘प्रतिगामी’ चरित्रबारे स्पष्ट रहेका वैद्य दाहालको राजनीतिक लाइनमा आउने संभावना शून्य छ । यस्तो अवस्थामा दाहालले कुनै पनि वेला संविधानसभालाई अस्वीकार गर्न सक्ने संभावना रहन्छ ।

संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापति बाबुराम भट्टराई छन् । एमाओवादीभित्र निरन्तर उनी शान्ति र संविधानको पक्षमा उभिंदै आएका छन् । विराटनगर सम्मेलनबाट बाबुरामको पूरा समूह बाहिरिएपछि एमाओवादीको विभाजन निश्चित जस्तै बनेको परिप्रेक्ष्यमा उनले संविधान निर्माणमा पार्टीको धारणा बोक्छन् कि बोक्दैनन् भन्ने सवाल एमाओवादीको लागि चुनौती बनेको छ । बाबुरामले पार्टीको आधिकारिक लाइन बोकेनन् भने पार्टीको अन्तरविरोध अझ चर्को बन्नेछ र समय अगावै संविधानसभाबाट एमाओवादी बाहिरिने छ । संविधान निर्माणको विपक्षमा रहेको बाह्य जगतले पनि यो अभियानमा आफ्नो पूरा तागत लगाउने छ । त्यस्तो अवस्थामा अहिलेको निर्वाचनमा कमजोर देखिएको जातीय र क्षेत्रीय शक्ति पनि वर्तमान संविधानसभाको विपक्षमा उभिने छन् । संविधान निर्माणमा यस्तो अवरोध आएमा त्यसको सामना गर्न संविधानसभा सक्षम हुने छैन । र अन्ततः संविधान निर्माण नगरिकन संविधानसभा अर्को असफलतामा टुंगिनेछ ।

आफ्नै पार्टीसँग मोहभंग हुँदै जाँदा बाबुरामले नयाँ शक्तिको आवश्यकताबारे बहस चलाउन शुरू गरेका थिए । उनले पार्टीभित्रै नयाँ शक्ति निर्माण गर्ने दाबी गरे पनि यथार्थ त्यस्तो होइन । पार्टीभित्रका आफ्ना अनुयायी र नयाँ राजनीतिक शक्तिको आवश्यकता देख्ने बाह्य जगतको राजनीतिक र गैरराजनीतिक क्षेत्रलाई पनि समेटेर पार्टी निर्माण गर्न सकिने आकलनमा भट्टराई देखिन्छन् । दाहालको पूर्ण तयारी नपुगेको अवस्थामा पनि बाबुरामले पार्टीको कुनै पनि पदमा आफ्नो टीमलाई नराख्नुको मुख्य कारण नयाँ पार्टी निर्माणको लागि बाह्य जगतले कस्तो ‘रेस्पोन्स’ गर्छ भन्ने पर्खाइ पनि हो । अपेक्षित ‘रेस्पोन्स’ आएमा बाबुरामले चाँडै नयाँ पार्टी घोषणा गर्ने संभावना छ । त्यस विपरीतको अवस्थामा भने उनले दाहालसँग सम्झौता गरेर पार्टीको तल्लो निकायमा रहेर बस्नुको विकल्प छैन ।

पार्टीभित्रको नयाँ कचिंगलबाट सबभन्दा धेरै समस्या भने दाहालमाथि आइलागेको छ । न संविधानसभामा रहन सक्ने न भाग्न सक्ने अवस्थामा पुग्दैछन्, दाहाल । बाबुरामले उनलाई पुर्‍याउन चाहेको पनि यही ठाउँमा हो । निर्वाचनको मतगणना लगत्तै संविधानसभालाई नकारेर अगाडि बढ्न चाहेका दाहाललाई बाबुरामले आफ्नै राजनीतिक रोडम्यापबाट नभाग्न चेतावनी दिएर रोकेका थिए । अहिले भने दाहाल बाबुरामलाई न लिन सक्ने न छोड्न सक्ने ठाउँमा छन् । यो संकट टार्न आफूसँग सम्झौता नगरी दाहाललाई सुखै नहुने बुझाइमा बाबुराम छन् । त्यसैले, आजको दिनसम्म एकअर्कालाई दबाबमा राख्ने अनि सम्झौता गर्ने उद्देश्यका साथ आ–आफ्ना अडानमा टिकेका छन्, दुवै जना । तर, स्थिति यति संवेदनशील भइसकेको छ कि कुनै पनि वेला एमाओवादीमा औपचारिक विभाजन आउन सक्छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>