रिपोर्टमंगलबार, बैशाख ३०, २०७१
यसरी फन्दामा परे सभासद सञ्जय साह
–डम्बरकृष्ण श्रेष्ठ र ईश्वरचन्द्र झा
जनकपुर बमकाण्डका मुख्य योजनाकार साह अन्ततः २० वैशाखमा प्रहरीको हातमा आए। नेपाल सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष तथा एक्ला निर्वाचित सभासद् साहलाई वीरगञ्जमा समातिएको धनुषा प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को दाबी छ।

गणतन्त्र घोषणा भएको उपलक्ष्यमा बन्दूक पड्काउँदै तत्कालीन सभासद् सञ्जय साह । तस्वीरहरुः ईश्वरचन्द्र झा
प्रहरीले १८ वैशाख २०६९ मा भएको जनकपुर बम विस्फोटका मुख्य योजनाकार मान्दै डेढ महीनाअघिदेखि नै साहलाई ‘मोस्ट वान्टेड’ सूचीमा राखेर खोज्न थालेको थियो। बम विस्फोटमा मिथिला नाट्यकला परिषद् (मिनाप) की कलाकार रञ्जु झा, जनकपुर–८ का विमलशरण दास, व्यवसायी सुरेश उपाध्याय, जनकपुर–१० का झ्गरु मण्डल र बेंगाशिवपुर–२ का जितेन्द्र दासको ज्यान गएको थियो।
धनुषाका प्रहरी उपरीक्षक उत्तमकुमार सुवेदीका अनुसार, घटनाका नाइके मुकेश चौधरी पक्राउ परेपछि सभासद् साहको पोल खुलेको हो। चौधरी लगत्तै पक्राउ परेका ओमप्रकाश यादवले पनि जीवनाथ चौधरीको हत्याको लागि रामानन्द चोकमा सभासद् साहले विस्फोट गराउन लगाएको बयान दिएका थिए। १८ माघमा जनकपुरमा पक्राउ परेलगत्तै चौधरीकै बयानका आधारमा साहका सहयोगी यादव पक्राउ परेका थिए। यद्यपि, साहले थुनछेकका लागि भएको अदालती बहसमा ओमप्रकाश र मुकेशलाई आफूले नचिनेको बताएका छन्।

हतकडीमा सभासद्ः २१ वैशाखमा धनुषा प्रहरीले गरेको पत्रकार सम्मेलनमा हतकडी सहित बमकाण्डका प्रमुख योजनाकार भन्दै सार्वजनिक गरिएका सभासद् सञ्जय साह।
ओमप्रकाश यादव पक्राउ परेको सूचना पाउने बित्तिकै सभासद् साह चैत तेस्रो साता कोठामै मोबाइल छाडेर काठमाडौं छाडेका थिए। प्रहरी स्रोतका अनुसार उनी वीरगञ्ज हुँदै पटना भएर दिल्ली पुगेका थिए। उनले दिल्लीबाटै गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई फोन गरेर मुद्दाको किनारा लगाइदिन आग्रह गरेका थिए। स्रोतका अनुसार गृहमन्त्री र प्रधानमन्त्रीबाट काम नहुने देखेर अत्तालिएका साह त्यसपछि धनुषाका प्रहरी उपरीक्षक सुवेदीलाई सरुवा गराउन लागेका थिए। आफ्ना सहयोगीहरू मार्फत जनकपुरमा सम्पर्क गरिरहेका सभासद् साह वैशाख तेस्रो साता दिल्लीमै पक्राउ परेको एउटा स्रोत बताउँछ।
तत्कालीन प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्याल संयोजकत्वको समितिले प्रारम्भिक अध्ययनपश्चात् अञ्चल प्रहरी कार्यालय जनकपुरमा पत्रकार सम्मेलन गरी विस्फोटमा राजनीतिक संलग्नताको संकेत गरेको थियो। पछि सरुवा भई आएका धनुषा प्रहरी प्रमुख सुवेदीले अर्याल समितिमा सदस्य रहेका प्रहरी निरीक्षक गोविन्द पुरीको नेतृत्वमा विस्फोटको गुत्थी सुल्झाउन दर्जनौं अप्रेशन चलाएका थिए।
२०६९ सालभरि कुनै सफलता नपाएको धनुषा प्रहरीले पश्चिम नेपालको धनगढी पारि भारतीय भूमिबाट उमा सिंहका हत्याका प्रमुख योजनाकार भनिएका स्वामीजी भनिने उमेश यादवलाई पक्राउ गरेपछि एकपछि अर्को भेद पत्ता लगाउँदै गयो। त्यसपछि पृथ्वी सिंह भनिने श्याम यादव, दीपक सिंह, राजन मुक्ति र मुकेश चौधरीलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी टेलिफोन वार्ता लगायतका प्रमाणका आधारमा रामानन्द चोक विस्फोटका मुख्य योजनाकार सभासद् साह नै रहेको निचोडमा पुगेको प्रहरी उपरीक्षक सुवेदी बताउँछन्।
यसरी बन्यो योजना
मिथिला राज्य स्थापनाको माग गर्दै जनकपुरका चर्चित कलाकार तथा बुद्धिजीवीहरू रामानन्द चोकमा शान्तिपूर्ण धर्नामा बसिरहँदा त्यतिवेला पनि सभासद् रहेका संजय साह र तराई जनतान्त्रिक पार्टी मधेशका संयोजक मुकेश चौधरीबीच बम विस्फोट गराउने सम्बन्धमा टेलिफोन वार्ता चलिरहेको थियो।
प्रहरीले धनुषा जिल्ला अदालतमा पेश गरेको अडियो टेपमा मुकेश चौधरीले बम विस्फोटको योजना पूर्ण हुन लागे पनि त्यसबाट बढी क्षति हुने बताएका थिए भने साहले धर्नामा बसेका जीवनाथ चौधरी भीडबाट बाहिर निस्केपछि ताकेर विस्फोट गराउन सुझाव दिएका थिए। त्यसपछि चौधरीले विस्फोटमा जीवनाथ चौधरी मरेको समाचार सुन्न आग्रह गरेपछि टेलिफोन वार्तालाप बन्द हुन्छ। नभन्दै, केही छिनमा शान्तिपूर्ण धर्नामा शक्तिशाली बम विस्फोट हुन्छ र चार जनाको तत्काल घटनास्थलमै मृत्यु र ३३ जना घाइते हुन्छन्। घाइतेमध्ये जितेन्द्र दासको उपचारको क्रममा मृत्यु हुन्छ। चौधरी विस्फोट हुनुभन्दा अघि नै धर्नाबाट बाहिरिएकाले जोगिन्छन्।
प्रहरीको तत्कालीन अनुसन्धानपछि पक्राउ परेका बम राख्ने जयप्रकाश चौधरी सहित रिपेन्द्र झा, मुकेशकुमार कर्ण, सुरेश कुमार कर्ण र जितेन्द्र कर्णमाथि मूल अभियोग सहित न्यायाधिवक्ताको कार्यालय मार्फत जिल्ला अदालत धनुषामा २९ जेठ २०७० मा मूल अभियोग दर्ता गरियो। मुकेश चौधरीले धर्नामा बसे पनि विस्फोटबाट जोगिएका जीवनाथ चौधरीलाई पटक–पटक फोन गरी रु.५० लाख दिए घटनामा सभासद् साहको संलग्नता पुष्टिको प्रमाण उपलब्ध गराउने भनेका थिए।
विस्फोट अघि साह र चौधरीबीच भएको टेलिफोन वार्ता मुकेश चौधरीबाटै जीवनाथलाई उपलब्ध भयो। मुकेशको खोजी गरेका प्रहरीहरूले सोही बीचमा उमा सिंह हत्याका प्रमुख योजनाकार उमेश यादव (स्वामीजी) लाई पक्राउ गरे। पृथ्वी सिंह भनिने श्याम यादव पनि जयनगरमा पक्राउ परे। सशस्त्र समूहका नाइकेहरूबीच भागाभाग मच्चिंदा एक वर्षमा १४ जनामाथि गोली हानेका राजन मुक्तिका ‘सूटर’ धनुषा बथनाहाका दीपक सिंह पनि भारतबाट पक्राउ परे। त्यसपछि विभिन्न ठाउँमा गुप्तचरसँगै प्रहरी परिचालन भयो र कात्तिकमा पटनाबाट धनुषा कुम्हरौडा–७ का राजन मुक्ति भनिने रञ्जितकुमार झा समातिए।
त्यतिवेलासम्म बम विस्फोटको ५० प्रतिशत अनुसन्धान पूरा भए पनि गएको फागुन तेस्रो साता जलेश्वर नगरपालिका–११ का मुकेश चौधरी पक्राउ परेपछि अनुसन्धानले नयाँ मोड लिएको प्रहरी उपरीक्षक सुवेदी बताउँछन्। चौधरीले अदालत र प्रहरीलाई दिएको बयानमा आफ्नो पार्टीको वरिष्ठ सल्लाहकार रहेका सभासद् साहले नै रामानन्द चोकमा बम विस्फोट गराएको बताए। चौधरीले सभासद् साहका सहयोगी ओमप्रकाश यादवले आफूलाई विस्फोटका लागि भारु ५ लाख मुजफ्फरपुरमा उपलब्ध गराएको स्वीकार गरेपछि यादव जनकपुरबाटै पक्राउ परे। ओमप्रकाश पक्राउ परेलगत्तै सभासद् साह भूमिगत भएका थिए।
धनुषा प्रहरीले २४ चैत २०७० मा सभासद् साह घटनाको प्रमुख योजनाकार भएको दाबी सहित राजन प्रताप भनिने फूलकुमार बखैर, नागराज भनिने उमेश तिवारी र सुजित कुमार पाण्डे विरुद्ध विस्फोटको पूरक अभियोग दर्ता गरेर पक्राउ गर्ने वारेन्ट लियो। विस्फोटमा संलग्नको दाबी गरिएका चार जना अझै फरार छन्।
मुकेश चौधरी पक्राउ नपरुञ्जेल जीवनाथ चौधरीले गरेको सभासद् साहको संलग्नताको दाबीलाई प्रहरीले पत्याएको थिएन। मुकेश चौधरी पक्राउ परेसँगै कांग्रेस नेतृत्वको सरकार गठन भएपछि संजय साह विरुद्ध राजनीतिक दबाब समेत सिर्जना भएको थियो– प्रहरी उपरीक्षक सुवेदीले यसलाई अस्वीकार गरे पनि। विस्फोट हुनुभन्दा अघिदेखि नै साह र चौधरीबीचको विवाद जगजाहेर थियो। दुवैबीच २०६३ पछि जिविसको ठेक्कापट्टालाई लिएर विवाद बढेको थियो। रामानन्द चोक विस्फोट अघि चौधरीमाथि दुई पटक आक्रमण भइसकेको थियो।
व्यापारी अरुण सिंघानियाँको हत्यामा समेत साहको संलग्नता रहेको प्रहरीको आशंका छ। जिल्ला अदालतमा २५ वैशाखमा थुनछेक बहसपछि हिमाल सँग कुरा गर्न तयार भएका एक जना सरकारी वकीलतर्फका अधिवक्ताले साहको पृष्ठभूमिका कारण घरपरिवारका व्यक्तिको चिन्ताले पिरोलेको बताए।
_____________________________________________________________________________________
को हुन् सञ्जय साह
जनकपुरबाट ७ किलोमिटर दक्षिणपूर्वको लोहना–७ का संजय साह २०४८ मा बभनगामास्थित कन्टिर झा माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि जनकपुर छिरेका हुन्। झगडालु स्वभावका उनी सामूहिक विवादमा पटक–पटक कुटाइ खाँदै छुट्टै समूह बनाउन सफल भए।
नेपाली कांग्रेसका नेता स्मृतिनारायण चौधरी मार्फत राजनीति थालेका साह २०५४ मा एमालेका रामचरित्र साह धनुषा जिविस सभापति भएपछि स्थानीय निकायमा हुने विकास निर्माणको ठेक्कापट्टामा सक्रिय भए। जिविसको चुङ्गीकरका साथै सडकमा ढाट लगाएर सवारी कर असुली शुरू गरेका साहले विस्तारै गुण्डाहरू पाल्न थाले।
कांग्रेसका धनुषा सभापति रामसरोज यादवका अनुसार तत्कालीन प्रहरी प्रमुख विश्व जबराको सहयोगमा प्रहरीको रासन ठेक्कामा हात हालेका साह हेर्दाहेर्दै बीसौं बिघा जमीन किन्न सक्ने हैसियतमा पुगे। माओवादी ‘जनयुद्ध’ उत्कर्षमा हुँदा चार पटक सार्वजनिक अपराधको मुद्दा खेपेका उनी २०६४/६५ को मधेश आन्दोलनपछि सक्रिय राजनीतिमा आए। उनले कांग्रेस र एमालेका केही केन्द्रीय नेताहरूसँग सहयोग आदान–प्रदान पनि गरिरहेकै थिए।
साहले आन्दोलनबाट उठेका मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई रिझाएर फोरमको धनुषा अध्यक्षको जिम्मेवारीसँगै २०६५ सालको संविधानसभा निर्वाचनमा धनुषा–४ बाट टिकट पाएर विजयी पनि भए। संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा हुँदा जनकपुरस्थित घरबाट हवाई फायर गरेर उनी चर्चामा आएका थिए। फोरम विभाजन हुँदा विजयकुमार गच्छदारको लोकतान्त्रिकमा प्रवेश गरेका उनी संविधानसभामा सभामुखले बोल्ने समय नदिएको भन्दै माइक भाँचेर थप चर्चामा आए।
बाबुराम भट्टराई नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण राज्यमन्त्रीको जिम्मेवारी पाएका साहले जनकपुरमा एशियाली विकास ब्याङ्कको परियोजना आफ्नै सक्रियतामा आएको भन्दै दोस्रो संविधानसभा निर्वाचन लडेका थिए। त्यसअघि शरत्सिंह भण्डारीसँगको विवाद चर्किंदा फोरम लोकतान्त्रिकबाट अलग्गिएका उनले मधेश क्रान्ति फोरम गठन गरे। करीब १८ महीनापछि खिलराज रेग्मी नेतृत्वको सरकारले चुनाव घोषणा गर्दा उनी फोरम लोकतान्त्रिकमै फर्किएका थिए। त्यसको दुई महीनामा उनी सद्भावना पार्टीमा लागेका थिए। संविधानसभा निर्वाचनमा उनी धनुषा–४ बाट प्रत्यक्षमा जित्ने सद्भावनाको एकल सभासद् हुन पुगे।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
