ब्लगमंगलबार, बैशाख ३०, २०७१
मन दुखाउने समाचार
जन्मभूमिबाट टाढा अमेरिकाको नर्थ क्यारोलिना राज्यको सानो शहरमा छु। जाडो सकिएर पारिलो घाम लागिरहेछ। उज्यालो छ जताततै, सुकेको दूबो जागेर जमीन हरियो कार्पेट ओछ्याए जस्तो भएको छ। चिसोले नाङ्गिएर कुरुप बनेका वृक्षमा पालुवा पलाएका छन्। तर मन नरमेकाले घामसँग पनि दिक्क लाग्छ।
अर्घाखाँचीको बस दुर्घटनामा १९ जनाको जीवन अन्त्य भएको समाचार आयो। त्यहाँ डा. विष्णु आचार्य र उनका पिताको मृत्यु हुँदा आफ्नै बुबा र दाजुको मृत्यु भए जस्तो लाग्यो। मैले पनि यस्तै दुर्घटनामा दाजु, बुबा र भाउजूलाई एकैपटक गुमाएकी थिएँ।
अब ती घरमा दशैंको टीका मुछिए पनि जमरासँग पहिले जस्तो आशिष दिइने छैन। मखमली र सयपत्री पनि फुल्ने छैनन्। चाडपर्वहरू त्यसै जाने छन्। मैले जस्तै उनीहरूले पनि विक्षिप्त मुटु लिएर बाँच्नुपर्नेछ। दुर्घटनाले परिवारका जीवित सदस्यलाई लगाएको घाउ क्यालेन्डर फेरिंदै जाँदा पनि निको हुने छैन। रातमा बज्ने टेलिफोनको घन्टीसँग पनि डर लाग्ने छ, अशुभ समाचार आउने डरले।
पन्ध्र वर्षअघि पुस महीनाको बिहान चार बजे आएको टेलिफोनले मलाई टुहुरी बनाएको सूचना दिएको थियो।
विद्यार्थी र डेराको जीवन थियो। घरबाट समयमा खर्च नआउँदा कठिनाइ हुन्थ्यो। दाजु चिकित्साशास्त्र पढ्न रसिया जानुभयो। हामी दिदीबहिनी बुबाले दिनुभएको खर्च बचाएर दाजुलाई पठाउँथ्यौं। अध्ययन सकेपछि गृहजिल्लामा काम गर्ने इच्छा राखेर उहाँ नेपालगञ्ज लाग्नुभयो। तर एक वर्ष नबित्दै दाजु, भाउजू र बुबासहित पाँच जनालाई एउटै दुर्घटनाले लग्यो।
बुबा र उहाँको एक्लो छोरा दाजुलाई मैले दागबत्ती दिएर खरानी बनाएँ। दिदीको बिहे भएकाले किरिया पनि मैले नै गर्नुपर्यो। अहिले पनि हिजो जस्तै लाग्ने त्यो घटना जति बिर्सन खोज्दा पनि सक्दिनँ। दिमागमा सधैं आउँछ, राप्तीको छेउमा लस्करै जलिरहेका पाँच चिता!
कति पढ्ने अझ् हेडलाइनहरूमा दुर्घटनाको खबर? मान्छेको मृत्यु दर्जनको हिसाबमा समाचार बनेको बन्यै छ। समाचार पढ्नेले केही समयमै बिर्सिन्छन्, अर्काे त्यस्तै दुखद् समाचार नआउँदासम्म। मलाई भने दुर्घटनाको खबर आउँदा चिने–जानेका कोही त परेनन् भनेर मन चिसो हुन्छ। त्यस्तो नाम नभेटेपछि ढुक्कको सास फेर्छु!
अहिले पनि हाम्रो देशका बाटा उस्तै छन्, सवारी साधन पनि उस्तै अवस्थाका छन्। नियम कानूनमा पनि फेरबदल भएको छैन। यस्तो अवस्थामा जो–कोही समाचार बन्न सक्छन्। बिहान घरबाट हिंडेको मान्छे साँझ् सकुशल आउलान् भनेर शंका गर्नुपर्ने अवस्था छ।
यातायात हेर्ने निकायको काम भाडादर तोक्नु मात्र हो कि अरू पनि हो? दुर्घटनापछि छानबिन समिति गठन गर्दैमा उसको दायित्व सकिन्छ? आजसम्म कुन छानबिन समितिले दिएको रिपोर्ट अनुसार भविष्यमा दुर्घटना हुन नदिने नीति नियम बने? भवितव्य भए पनि किन उस्तै दुर्घटना बारम्बार दोहोरिन्छन्? जस्ता प्रश्न अहिले पनि निरुत्तर छन्।
मूल्य वृद्धि हुनासाथ विद्यार्थी संगठनलाई हड्ताल गर्न हतारो हुन्छ। मूल्य घटाउन सक्दा ठूलै बाजी मारेको महसूस गर्छन्। तर, दुर्घटनाको कारण पत्ता लगाएर त्यसलाई रोक्ने नियम–कानून बनाउन कसैले झ्न्डा समातेको देखिंदैन। यस्तो पीडा दुर्घटनाबाट मृत्यु भएका परिवारको मात्र नहुनुपर्ने हो। किनभने, यस्तो पीडा भोलि जसलाई पनि पर्न सक्छ।
सानो उदाहरण– राजमार्गमा लेन छुट्याउने स्पष्ट धर्को कोरिएको छैन। जताबाट ‘ओभर टेक’ गर्दा र आफूखुशी जुन लेनमा कुदाउँदा पनि हुने अवस्था छ। यस्तो अवस्थामा विपरीत दिशाबाट आएको सवारी साधन देखिंदा साइड दिने र नभए ठोक्किने भन्दा विकल्प बाँकी रहँदैन। जबकि, लेन छुट्याउन सानो रकमले पनि पुग्छ।
भनसुनमा लाइसेन्स निकाल्न सक्दा हामी धेरै दंग पर्छौं। जबकि, त्यो आफ्नै लागि घातक हुन सक्छ। बनाइदिनेले पनि आफ्नै सन्तान त्यही चालकको यात्रु बन्लान् भनेर सोच्दैनन्।
अहिले मापसे गरेर सवारी चलाउन नियन्त्रण गरिएकाले राजधानी र शहरी क्षेत्रमा सडक दुर्घटना कम भएको आँकडाले देखाउँछ। तर यस्तो जाँच सबै ठाउँमा हुनसकेको छैन। हामीकहाँ न रक्सी बेच्नेको उमेर तोकिएको छ न रक्सी किन्नेको नै। सडकछेउमा भट्टी राख्न पाउने, जहाँ मन लाग्यो त्यहीं गाडी रोकेर पिउन पाउने अवस्था छ। यसले पनि दुर्घटना बढाएका छन्।
कहिलेकाहीं लाग्छ बरु पैदल यात्रा सुरक्षित थियो। विकासको बहाना, चुनाव नजिकिंदा खनिएका मोटर बाटा, अनि त्यहाँ गुड्ने थोत्रा मोटरहरू! हुन पनि अप्ठ्यारा बाटोमा कुन मोटर साहूले नयाँ मोटर गुडाउने खतरा लिन्छ र? त्यसैले उकालोमा ब्रेक फेल भएर गाडी २०० मिटर तल झ्र्यो भन्ने जस्ता समाचार प्रायः आइरहन्छन्। हरेक वर्ष गाडीको ‘इस्पेक्सन’ गराई पास भएको सर्टिफिकेट दिंदा यस्तो समस्या आउँदैनथ्यो होला।
करीब दश वर्षअघि बिहान तीनकुनेको फूटपाथमा हिंडिरहेकी एक महिलाको बसको ठक्करबाट मृत्यु भएको मलाई अझै सम्झना छ। त्यो वेला खलासीले गाडी हाँकेको तथ्य बाहिर आएको थियो। कति दुर्घटना ड्राइभिङ लाइसेन्स नभएको व्यक्तिले गाडी चलाएर भएको छ। विकसित देशमा यस्तो कल्पना समेत गर्न सकिंदैन।
गाडीको गति सीमा तोकिए पनि लागू भएको छैन। नियम बने पनि लागू भएन भने अर्थ हुँदैन। अमेरिकामा तोकिएको सीमा नघाए जरिवाना तिर्नुपर्छ। मेरै एक साथीलाई नर्थ क्यारोलिना घुम्न आउँदा ओभर स्पीडमा गाडी चलाएकाले ६ महीना गाडी चलाउन बन्देज लाग्यो।
अक्टुबर २००९ मा अमेरिकाको न्युयोर्कमा एक महिलाले मदिरा सेवन गरी गाडी चलाउँदा दुर्घटना भएर साथीकी एघार वर्षीया छोरी लेनड्रा रोजाडोको मृत्यु भयो। त्यसपछि मदिरा सेवन गरी पन्ध्र वर्षमुनिकालाई राखेर गाडी चलाउने चालकलाई चार वर्ष जेल सजाय, दुर्घटना भएमा सात वर्ष र मृत्यु भएमा १५ वर्ष जेल सजाय हुने कानून बन्यो। विकसित मुलुकमा दुर्घटनाबाट पाठ सिकेर यसरी कानून सुधार गरिन्छ।
हामीकहाँ, सडक दुर्घटना न्यून गर्न राष्ट्रियस्तरमा कुनै संयन्त्र बनाइएको छैन। अमेरिकामा दुर्घटना गराई भाग्ने (हिट एन्ड रन) लाई हत्या गरे बराबर सजाय हुने कानून छ।
चौथो अंग भनिने पत्रकारिताले पनि अब मृतकको संख्या गन्ती गरेर समाचार छाप्नुहुँदैन । दुर्घटनाका कारण पत्ता लगाउँदै तिनलाई दोहोरिन नदिन सचेतना बढाउनुपर्छ भने त्यसका लागि नियम र कानून बनाउन दबाब दिइरहनुपर्छ। यस्तो नगर्ने हो भने मैले जस्तै पीडा भोग्नेको संख्या बढिरहनेछ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
