टिप्पणीबुधबार, बैशाख ३१, २०७१

पेशामा राम्रो नर्सिङ

डा. सुमनराज ताम्राकार

त्यस्तो अस्पताल वा स्वास्थ्य संस्थाको कल्पना गर्न सकिन्न जहाँ नर्स (परिचारिका) नहुन्। अस्पताल वा स्वास्थ्य संस्थामा चिकित्सकहरूले रोगको निदान गरी आवश्यक औषधि लेखिदिने वा चिरफार गर्ने मात्र हो, यसका लागि आवश्यक सबै कामको पछाडि नर्सहरूको तयारी हुन्छ। बिरामी उपचारको शुरूदेखि अन्त्यसम्म नर्सहरूको महत्वपूर्ण भूमिका हुन्छ, भलै मानिसहरूले उनीहरूको कामलाई त्यति धेरै वास्ता वा सम्मान नगरेका हुन्। शल्यक्रियाका लागि र त्यसपछि नर्सहरूले कति धेरै मिहिनेत गर्दछन्? सामान्यतः ध्यान दिइएको हुँदैन।

आलोपालो नै किन नहोस्, बिरामीसँग हरहमेसा साथमा रहने नर्सहरू नै हुन्। कहिलेकाहीं आशा अनुरुप बिरामीको तयारी गरिराखेको हुँदैन अर्थात् चाहिएका सामान पुर्‍याइराखेको हुँदैन। यस्तोमा मनमुटाव अनि वादविवाद हुन्छ नै, तर त्यो छोटो समयका लागि हुन्छ। वास्तवमा बिरामीलाई सहज रूपमा निको पार्ने उद्देश्य बोकेका नर्सहरूको सेवाभाव र मीठो वचनले बिरामीको समस्या निदानमा ठूलो भूमिका खेलिरहेको हुन्छ।

बेलाबखत कुनै–कुनै नर्सको व्यवहारले विवाद निम्त्याएको देखिन्छ/सुनिन्छ, तर त्यसलाई व्यक्तिविशेष र तत्कालीन परिस्थितिको परिणाम मान्न सकिन्छ। यसबारेमा बढी मनन गरी आफ्नो बानी–व्यहोरामा सुधार ल्याउने दायित्व नर्सहरूको हो। कामको बोझ्, थकान अनि आफ्नै समस्याले पनि कहिलेकाहीं फरक व्यवहार भएको हुन सक्छ, तर बिरामी र उनका परिवारजनलाई समेत सहज सेवा दिनु नर्सको कर्तव्य हो। बिरामी र उनका परिवारजन नम्र हुनै पर्छ, तर त्योभन्दा बढी नम्रता र संयमको अपेक्षा नर्स तथा अरू स्वास्थ्यकर्मीहरूबाट गरिन्छ।

बिरामी र उनका आफन्तहरू त्यसै पनि पीडा, चिन्ता र अन्योलमा हुन्छन्। त्यस्तो वेलामा नर्सले रोगबारे, यसको उपचार एवं नतीजाबारे सरल भाषामा बुझाउनुपर्छ। बिरामी वा उनका आफन्तहरूलाई आवश्यक परामर्श दिन नर्सहरूले पनि चिकित्सकहरूले जस्तै निरन्तर पढाइ र अनुसन्धान जारी राख्नुपर्छ। नयाँ–नयाँ प्रविधिबारे आफूलाई अद्यावधिक बनाइराख्नुपर्छ।

अस्पताल वा सम्बन्धित स्वास्थ्य संस्थाहरूले पनि आफ्ना नर्सहरूलाई निरन्तर गोष्ठी एवं कार्यशालाहरूमा सहभागी बनाइरहनुपर्छ। यस्ता कार्यक्रमहरूको आयोजना आफ्नो जनशक्तिमा लगानी हो। नर्सहरूले बिरामी र उनका आफन्तजनसँग कुराकानी गर्नु अगाडि उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको निर्देशन पनि पालना गर्नुपर्छ। कतिपय अवस्थामा बिरामीको समस्याको संवेदनशीलताका कारण एकै व्यक्तिले संवाद गर्नु राम्रो हुन्छ।

मे १८२० मा फ्लोरेन्स नाइटिङ्गेलले टुकी बालेर थालेको नर्सिङ अभियानलाई ओलम्पिक खेलसँग दाँज्न मन लाग्छ। ओलम्पिक टर्च विश्वभरि घुमाएर खेल स्थलमा ल्याइपुर्‍याएपछि ओलम्पिक आयोजना हुन्छ। मानव हितका लागि नाइटिङ्गेलले थालेको नर्सिङ अभियान पनि आज विश्वभरि फैलिएको छ।

केही वर्षदेखि पवित्र पेशा नर्सिङ पनि व्यावसायिक बन्न थालेको छ। नेपालमा पनि नेपालीजनलाई बिर्सेर केवल आर्थिक उद्देश्यका लागि नर्सहरू विदेश पलायन (ब्रेनडे्रन) हुन थालेका छन्। व्यक्तित्व र वृत्ति–विकास कुनै पनि नर्सको अधिकार हो। तर, यस्तो अधिकारको वकालत गर्दा उनीहरूको पेशागत विकासका लागि भएको देश र परिवारजनको लगानीलाई बिर्सन मिल्दैन।

यो कुरालाई मनन गरी दुर्गम ठाउँहरूमा निश्चित समय काम गरेपछि अर्थात् सेवा पुर्‍याएपछि मात्र विदेश जाने व्यवस्था गर्नुपर्ने वेला आयो कि? यस विषयमा नेपाल नर्सिङ काउन्सिल, सरकार अनि सम्बन्धित निकायको ध्यान जानु आवश्यक भइसकेको छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...