टिप्पणीबिहीबार, जेठ १, २०७१

नेपाली सिनेमाः जाग्यो आशा

रघु पन्त

सिनेमा पर्दाको त्यो कला हो, जसले सर्वाधिक जीवनलाई प्रभाव पार्छ। मानिसहरू आफूले हेरेका राम्रा सिनेमाहरू पछिसम्म सम्झिरहन्छन् र जीवनका कुनै न कुनै क्षणमा त्यसको प्रभाव अनुभव गर्छन्। मानवीय संवेदना, अनुभूति, जीवनका जटिलता, आकांक्षा, यथार्थ र युगबोधलाई प्रभावशाली अभिव्यक्ति दिने माध्यम हो– सिनेमा।

सिनेमा ‘मनोरञ्जन’ अर्थात् मन वहलाउने साधनको रुपमा मात्रै सीमित छैन। यो विधा मनलाई जगाउने र मस्तिष्कलाई झकझक्याउने माध्यमका रुपमा स्थापित भइसकेको छ। नेपालमा पनि सिनेमाको यो शक्तिलाई प्रयोग गर्ने युवा निर्देशकहरू देखिनु आफैंमा एउटा शुभ संकेत हो। मैले हालै हेरेका रेड मनसून र कबड्डी ले केही कमी–कमजोरी भए पनि सिनेमाको शक्ति बोकेका छन्।

कबड्डी

कबड्डीको एक दृश्य।

नेपालका केही समुदायमा चल्ने मामाचेली–फुपूचेला बिहेवारीको पृष्ठभूमिमा कबड्डी को कथा अघि बढ्छ। मामाकी छोरीलाई एकोहोरो प्रेम गर्ने काजी (दयाहाङ राई) फिल्मको केन्द्रीय पात्र हुन्। फिल्मको कथावस्तुको आधार र प्रारम्भ मामाकी छोरी विवाह गर्ने काजीको चाहना हो। यो चाहनासँगै कथा विस्तार हुँदै जान्छ र त्यसले आजको सामाजिक यथार्थ, मान्छेका जीवनका विविध पाटा र आकांक्षा खुलाउँदै जान्छ।

सिनेमासँगै मुस्ताङको नौरीकोट गाउँको सुन्दरताको पनि कलात्मक विस्तार हुन्छ। गाउँमा बस्नेहरूलाई यो सिनेमा आफ्नै परिवेशको कथा लाग्छ भने शहरिया दर्शकले तिक्खर नेपालीपन अनुभव गर्छन्। पटकथा, संवाद, संगीत र अभिनय समन्वयात्मक ढंगले अघि बढ्छ। अरु कतिपय कलाकार त रंगमञ्चमा खारिएका भइहाले, नयाँ अनुहार भए पनि नायिका रेश्मा गुरुङले स्वाभाविक अभिनय गरेकी छन्।

फिल्मले मुख्य कथासँगै जीवनका अरु पाटा पनि देखाउँछ, जो मुख्य पात्र र कथासँग गाँसिएर आएका छन्। मध्यान्तरपछि भने फिल्ममा अलि नाटकीयपन हावी हुन्छ र निर्देशकले थोरै हतार गरे जस्तो लाग्छ। र पनि, मनोरञ्जनात्मक ढंगले समकालीन समाजका अन्तर्विरोध प्रकट गर्न सफल छ, कबड्डी। यो फिल्म मार्फत नेपाली सिनेमाले रामबाबु गुरुङका रुपमा एक जना प्रतिभाशाली युवा निर्देशक फेला पारेको छ।

रेड मनसून

रेड मनसूनको एक दृश्य।

जीवनका जटिलता, भीडबीचको एक्लोपन, सुख–साथको खोजी, सामाजिक जीवनमा व्याप्त अराजकता, बाँच्नका लागि गर्नुपर्ने पैसाको जोहो र त्यसले उत्पन्न गर्ने विभिन्न अन्तर्विरोधको कथा समेटेर बनेको छ– रेड मनसून। यो फिल्मले जात्रा चलिरहेको शहरभित्र जीवनका स–साना आकांक्षा पूरा गर्न नपाएका मानिसहरूका जीवनका व्यथालाई कलात्मक भाषामा भन्छ। बाबुको हुकुम–दमनले पिल्सिएर भागेर प्रेमविवाह गरेकी छोरी, विधवा युवती, असक्त लोग्नेलाई पाल्न परपुरुषसँग सम्बन्ध गाँस्न विवश महिला र प्रेम विवाह गरेकी श्रीमती छँदाछँदै अर्को सम्बन्धमा आकर्षित हुने पुरुषको वरिपरि घुमेको छ, रेड मनसून को कथा।

सिनेमाले कथा भन्दै जाँदा शहरिया जीवनको पिरलो र कुण्ठाग्रस्त पात्रहरूका भोगाइ व्यक्त हुँदै जान्छन्। आफूले प्रेम विवाह गरेको युवतीलाई धोका दिने प्रेमी, भावी जीवनबारे विचारै नगरी घर छोड्ने युवती, अरुलाई पनि आफू जस्तै बनाउन खोज्ने कुटिल नारीको सम्बन्ध, द्वन्द्व, इर्ष्या र द्वेष सिनेमामा देख्न पाइन्छ।

यो फिल्म नेपाली सिनेमाको प्रचलित लिकमा छैन। नायक–नायिकाको प्रेमकथालाई नबोक्ने यो फिल्मले आजको नेपाली शहरी पात्रहरूको भोगाइ र मनोभावना उद्घाटन गर्छ। शहरिया जीवनको जटिलता, फेरिंंदो जीवनशैली तथा मूल्यमान्यता र आफ्नै तालले अघि बढिरहेको शहरको विरोधाभासलाई कलात्मक ढंगले उतार्न सफल छ, रेड मनसून। फिल्मका तीन महत्वपूर्ण नारी पात्रको भूमिकामा सृष्टि घिमिरे, सरिता गिरी र हिमाली दीक्षित सफल छन्।

रातो मच्छिन्द्रनाथको जात्राको दृश्यका साथ सिनेमाको फोटोग्राफी राम्रो छ। दृश्यहरूले कथावस्तु र त्यसको अवधारणालाई राम्ररी प्रस्तुत गरेका छन्। लोचन रिजालले संगीतकारको रुपमा राम्रो भविष्यको संकेत गरेका छन्। निर्देशकको रुपमा इलम दीक्षितले राम्रो इलम गरेका छन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>