ब्लगबिहीबार, जेठ १, २०७१
फेरि पनि ‘हम भी देखेंगे’
लाजिम है कि हम भी देखेंगे
वो दिन कि जिसका वादा है
जो लोह–ए–अजल में लिखा है….हम भी देखेंगे
जब जुल्म–ओ–सितम के कोह–ए–गरां
रुई की तरह उड जाएँगे
… … …
सब ताज उछाले जाएँगे
सब तख्त गिराए जाएँगे
“त्यो दिन अवश्य आउने छ जब अन्यायका पर्वतहरू कपास जसरी उड्ने छन्। राजमुकुटहरू हुत्याइने र सिंहासनहरू पल्टाइने छन्। त्यो दिन हामी पनि हेरौंला” भन्ने भावार्थको फैज अहमद फैज (सन् १९११–१९८४) को प्रशिद्ध गीत पाकिस्तानी गायिका टिना सानीले गाउँदा दर्शकका रौं ठाडा भए।
मान्छेको अभिव्यक्ति स्वतन्त्रताका पक्षको बलियो स्वरका रूपमा पूरै दक्षिणएशियामा चिनिएको फैजको गीत ‘बोल’ नेपाली संगीतकार गायक आभासले गाए। पछि सोही गीत टिनाले पनि गाइन्।
बोल, के लब आजाद हैं तेरे
बोल जबाँ अब एक तेरी है।
…….
बोल, येः थोडा वक्त बहुत है
जिस्म ओ जबाँ की मौत से पहले
बोल, के सच जिँदा है अब तक
बोल, जो कुछ कहना है कह ले।
गायिका टिना सानी हिमाल साउथ एशियन लगायतका संस्थाहरूको निम्तोमा पहिलो पटक नेपाल आएकी हुन्। २४ वैशाख साँझ् ललितपुरस्थित यलमाया केन्द्रमा भेला भएका दर्शकलाई कार्यक्रम सञ्चालक कनकमणि दीक्षितले बताए अनुसार टिना सानीको नेपालमा यो दोस्रो कार्यक्रम थियो। दीक्षितका अनुसार पहिलो पटक उनले यहाँ ‘थाहै नपाई’ कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
नौ वर्षअघि मुलुकमा राजाको जङ्गी शासन थियो। तत्कालीन राजा ज्ञानेन्द्रका काम र व्यवहारबाट पञ्चायत फर्काउने प्रयत्न भइरहेको बुझिन्थ्यो। बोल्नमा प्रतिबन्ध नै त थिएन, तर परिस्थिति यस्तो बनाइएको थियो कि अधिकांश व्यक्ति सेल्फ सेन्सरसीपको करेली चपाएर बसेका थिए। तर हामीलाई बोल्नु थियो र बोलीका पक्षमा उभिनु थियो।
त्यस्तो वेलामा अभिव्यञ्जनाको निभ्न लागेको बत्तीलाई कलाको सुइरोले मात्र उकास्न सक्छ भन्ने अनुभव गरेर हामीले यलमाया केन्द्रका भित्तामा हिमाल एसोसिएसनको ब्यानर टाँग्यौं, मन मिल्ने साथीहरू भेला भयौं। फैजको प्रवृत्ति र प्रभावका बारेमा गौरीनाथ रिमालले बोल्नुभयो। उनका कविता र गजल गाइए, वाचन गरिए। पाकिस्तानबाट ल्याएको टिना सानीको रेकर्ड बजाएर पनि फैजका कविताको आस्वादन गरियो। त्यस वेला पनि गायक आभासले फैजको ‘बोल’ गाएका थिए।
टिना सानीको स्वरमा ‘देखेंगे’ सुन्दा त्यस दिन रोमाञ्च भएको अहिल्यै जस्तो लाग्छ। त्यसवेलासम्म राजमुकुट हुत्याउन र सिंहासन पल्टाउन कविताले मात्र सक्थ्यो। सत्ताको शक्तिले मान्छेको परिवर्तनको चाहनालाई उकास्यो, सघायो र हामीमध्ये धेरैले नसोचेको कुरा देख्न पायौं। ‘हम देखेंगे’ सार्थक भयो।
अहिले राजाको शासन छैन। त्यसवेला बोल्नेहरूलाई थुनिन्थ्यो, अहिले मौन रहन प्रेरित गरिन्छ, बोल्नेलाई अनेक किसिमले लाञ्छित गरिन्छ। लोकतन्त्रलाई मौन गराउने र इशारामा देश चलाउने षडयन्त्र चलिरहेको छ। बोल्ने नै वृत्ति भएकाहरू समेत जानेर वा नजानिकनै, कसैका रीसले वा आरिसले मौनताको संस्कृतिका संवाहक भएका देखिन्छन्। सम्भवतः यस्तै परिबन्दहरूका कारण फैजको कार्यक्रम फेरि आयोजना गरियो र त्यस्तै कारणले काठमाडौंको एउटा गहकिलो दर्शक समूहको सघन उपस्थिति रहयो। ‘बोल’ र ‘देखेंगे’ ले हामीलाई फेरि रोमाञ्चित बनायो।
फैज बहुआयामिक व्यक्ति थिए। विचारले उनी कम्युनिष्ट थिए तर मान्छेको चेतना र अभिव्यञ्जना पक्षमा उनको स्वर संसारका धेरै प्रजातन्त्रवादी लेखकहरूको भन्दा टड्कारो थियो। एकै शब्दमा भन्दा उनी मानवतावादी थिए। आफ्नो प्रभावशाली व्यक्तित्वका कारण उनी सत्ता र प्रतिपक्षमा रहेका अतिवादीहरूका आँखामा बिझाइरहन्थे। फलतः उनी जेल पर्दै गर्थे, निर्वासित समेत भएका थिए।
पाकिस्तानी नागरिक फैज दक्षिण एशियाका सम्भवतः भूटान बाहेक सबै देशमा चेतनाको प्रतीकका रूपमा सबैले मानेका कवि/शायर हुन्। उनले समयलाई जित्ने कविता लेखेका छन्, जसलाई स्वतन्त्रताकामीहरूले आफूभित्रको आगो जोगाउने, खरानीभित्रको भुंग्रोका रूपमा लिने गरेका छन्। हिजो जस्तो लाग्छ, २००५ मा उनकै कविताको सहारा लिएर हामीले सत्तालाई ‘हम देखेंगे’ भनेर धम्क्याएका थियौं। फैजका कविता यहीं छन्, हामी यहीं छौं र मान्छेको चेतना एवं मानवतालाई विभिन्न बहाना र तरीकाले दबाउन खोज्नेहरूलाई फेरि पनि भन्छौं, “हम देखेंगे…।”
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
