थप समाचारशनिबार, जेठ ३, २०७१
बिरामी बन्यो जनकपुर अस्पताल
– ईश्वरचन्द्र झा, जनकपुर
१२ माघ २०७० मा हिमाल खबरपत्रिका ले जनकपुर अञ्चल अस्पतालमा गरेको सर्वेक्षणमा ६० प्रतिशत बिरामी र तिनका आफन्तले चिकित्सक नभेटिने जवाफ दिए। ९५ प्रतिशतले लामो पर्खाइपछि आउने चिकित्सकले पनि पर्याप्त समय दिएर बिरामीलाई चेकजाँच नगर्ने बताए। त्यति नै प्रतिशतले यो अस्पतालमा आउन नपरे हुन्थ्यो भन्ने जवाफ दिए। आम मानिस जस्तै धारणा राख्ने अस्पतालका प्रशासन प्रमुख दीपक ठाकुर भन्छन्, “समयमा ड्युटी आउनुपर्यो भनेर डाक्टरलाई भन्दा भोलिपल्ट राजीनामा पठाउँछन्।”
गत ९ असोजमा अस्पताल कर्मचारी तथा विकास समितिको बैठकमा समितिका अध्यक्ष कामेश्वर झाले बालरोग विशेषज्ञ सूर्यनारायण यादवलाई समयमै ड्युटीमा आउन सचेत गराउँदा भोलिपल्ट राजीनामा पठाएका थिए। नेपाली कांग्रेस जनकपुर नगर समितिका अध्यक्ष धीरेन्द्र मोहन झा प्रशासन प्रमुख र विकास समितिका अध्यक्षले अस्पताललाई कार्यकर्ता र आसेपासे भर्नाकेन्द्र बनाएकाले डाक्टरले ड्युटीमा हेलचेक्र्याइँ गर्ने मौका पाएको बताउँछन्।
अस्पतालको अल्पकालीन तथा दीर्घकालीन नीति, योजना र कार्यक्रम बनाएर स्वीकृतिका लागि समितिमा पेश गर्ने जिम्मेवारी पाएका विकास समिति अध्यक्ष झाको ध्यान अस्पतालको भवन र पर्खाल निर्माणको टेन्डर हात पार्ने मात्र देखिन्छ। प्रशासकीय प्रमुखको जिम्मेवारी पाएका अस्पताल प्रमुख (मेेडिकल सुपरीटेन्डेन्ट) बलराम मिश्रा पनि १० बजे अस्पताल आउनुको साटो नजिकै रहेको आफ्नो क्लिनिक ‘आरोग्य सदन’ पुग्छन्। दुई बजे अस्पताल आएर केहीबेर बस्नासाथ उनलाई घर फर्कन हतार हुन्छ।
अस्पतालको रोग
दुई वर्षअघि विकास समितिको अध्यक्ष बनेका झाको कार्यकाल आव २०६९/७० मा तलब, भत्ता, कार्यालय सञ्चालन, निर्माण तथा मर्मतसम्भार, उपकरण खरीद, स्वास्थ्य कार्यक्रम, यातायात–इन्धन खर्च तथा भ्रमण भत्तामा रु.८ करोड २४ लाख ६६ हजार ७६७ खर्च गर्दा बेरुजु देखिएको कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाको आन्तरिक लेखा परीक्षण (आलेप) प्रतिवेदनमा उल्लेख छ। अस्पतालको आम्दानी त्यो वर्ष रु.७४ लाख १२ हजार १५७ मात्र भएको थियो।
आलेप प्रतिवेदनमा तलबी प्रतिवेदन पारित नगरी रु.३ करोड ७२ लाख ७५ हजार तलब खर्च गरेको, औषधि खरीदमा खरीद ऐन अनुसार बोलपत्रको प्रक्रिया नपुर्याएको, रब्बानी कन्स्ट्रक्सनलाई कार्य सम्झौता भएपछि मोबिलाइजेशन पेश्की दिएको रु.३ करोड २५ लाख ८१ हजार ४८२ फर्छ्योट नभएको उल्लेख छ। अस्पताल स्रोतले पनि प्रसूति सेवा र परिवार नियोजन सेवातर्फ नेपाल सरकारबाट प्राप्त औषधिलाई औषधि पसलबाट बिल भरपाई बनाई दोहोरो रकम लिएको, मन्त्रालयको आपूर्ति शाखाबाट ल्याइएका उपकरण अस्पतालमा दाखिला नगरी निजी नर्सिङ होम र अस्पताललाई बिक्री गरिएको बतायो।
२०६४/६५ मा स्वास्थ्य सेवा विभागले अञ्चल अस्पतालको आग्रहमा अस्पताल विकास समितिलाई उपलब्ध गराएको तीन वटा शव राख्न सकिने फ्रिज चार वर्षसम्म उपयोग नगरेर काम नलाग्ने बनाइएको तत्कालीन अस्पताल प्रमुख गौराङ्ग मिश्र पनि स्वीकार्छन्। सो फ्रिज अहिलेसम्म बनाइएको छैन।
२०६५ मा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रबाट प्राप्त एचआईभी संक्रमण पत्ता लगाउने ‘सीडी फर काउन्ट’ उपकरण सञ्चालन गर्न अरुणकुमार मल्लिक, ओमराज यादव, रामचन्द्र झा र राम सुफल यादवलाई प्रशिक्षण दिए पनि २०६९ देखि बिग्रिएको यो उपकरण मर्मत गरिएको छैन। त्यही कारण ९ महीनादेखि धनुषा, सर्लाही, महोत्तरी, सिन्धुलीका एचआईभी संक्रमितहरूको आँकडा पत्ता नलागेको एआरटी सेन्टरका फोकल पर्सन प्रदीप साह बताउँछन्। दुई वटा डिजिटल एक्सरे मेशीनमध्ये एउटा एक वर्षदेखि बिग्रिएको छ। दैनिक ५०० बिरामी आउने अस्पतालमा २०६४ मा डा. मुकेश चौरसिया वीरगञ्ज सरुवा भएपछि कोही सर्जन छैनन्।
अस्पतालमा सरकारी दरबन्दीका फिजिसियन, प्रमुख मेडिकल अफिसर, पेडियाटि्रसियन, प्याथोलोजिस्ट १/१ जना र विकास समितिको तर्फबाट मेडिकल अधिकृत ११ जना, डेन्टल सर्जन १ जना कार्यरत छन्। उनीहरूमध्ये कोही विदामा हुन्छन् भने कोही क्लिनिक, नर्सिङ्ग होममा व्यस्त रहन्छन्। विकास समिति अध्यक्ष कामेश्वर झा भने “मेडिकल सुपरीटेन्डेन्ट डा. मिश्र यो क्षेत्रकै वरिष्ठ बालरोग विशेषज्ञ बाहिर उपचार गर्न गए पनि एक कल फोन गर्नासाथ अस्पताल आउने गरेको” बताउँछन्।
सरकारीतर्फ ११७ कर्मचारीको दरबन्दी रहेकोमा ९३ जना र विकास समितितर्फ १५२ को दरबन्दी रहेकोमा १३० जना कर्मचारी कार्यरत छन्। तर, उनीहरू पनि बाहिर काम गर्ने भएकाले वार्डहरूमा बिरामीलाई सार्न समस्या पर्ने गरेको छ।
कार्यालय समयमा उपस्थित नहुने, नियम विपरीत कार्य गर्ने चिकित्सक र कर्मचारीलाई नसिहत दिने, तलब वृद्धि वा बढुवा रोक्का गर्ने, भविष्यमा सेवाका निमित्त अयोग्य ठहरिने/नठहरिने गरी नोकरीबाट हटाउने अधिकार अस्पताल नियमावली २०६३ ले विकास समितिलाई दिएको छ। तर, अहिलेसम्म कसैलाई कारबाही गरिएको छैन। अस्पतालको एकसय मिटर वरपर अस्पतालमा कार्यरतहरूले क्लिनिक तथा नर्सिङ होम सञ्चालन गर्न नपाइने व्यवस्था भए पनि वरिष्ठ डाक्टरहरूले नै क्लिनिक चलाएका छन्।
अस्पतालका दशौं तहका प्याथोलोजिस्ट राजकुमार महतोको ‘प्याथो क्लिनिक’, आठौं तहका मेडिकल टेक्नोलोजिस्ट अरुण कुमार मल्लिकको ‘मल्लिक प्याथोलोजी’, राम विनय साहको ‘विनय डायग्नोस्टिक सेन्टर’, ल्याव टेक्निसियन ओम यादवको ‘ओम प्याथोलोजी’, राम सुफल यादवको ‘पवन प्याथोलोजी’, ल्याब असिस्टेन्ट वसन्त मेहताको ‘मेहता ल्याब’ र सन्तोष ठाकुर र गुनानन्द साहले अस्पताल नजिकै निजी प्याथोलोजी चलाएका छन्। अस्पताल विकास समितिका पूर्वअध्यक्ष कुमरकान्त झ्ा अस्पतालको ओपीडी पनि पूरा समय नचलेको बताउँछन्।
अञ्चल अस्पतालमा बाहिरभन्दा प्याथोलोजी जाँच शुल्क सस्तो छ। उपकरण पनि पर्याप्त छन्। तर, त्यहाँ जाँच गराउँदा चिकित्सकहरूले ‘डायग्नोसिस’ लेख्दैनन्। अस्पताल स्रोतका अनुसार चिकित्सक र प्याथोलोजीको मिलेमतोमा डायग्नोसिस गर्न निजी प्याथोलोजीमा पठाइन्छ। त्यसबापत प्याथोलोजीहरूले चिकित्सकलाई ५० प्रतिशत कमिशन दिन्छन्।
_________________________________________________________________________________________
इतिहासमा जानकी अस्पताल
बुबालाई तीर्थ गराउन आएका डा. जयबल्लभ दासले २००७ तिर तुलसी मेहर, भद्रा घले, पद्मा कार्कीको आग्रहमा बसहियाको गान्धी आश्रमबाट सातामा एक दिन स्वास्थ्य सेवा दिन थाले। तीन चार वर्ष त्यो क्रम चलेपछि एक दिन जानकी मन्दिरका महन्थ नवलकिशोर दासका गुरुभाइ रामनाथ अघोरीले डा. दासलाई सहयोग गर्ने भए अस्पताल बनाउन आफू तयार रहेको बताए। त्यसपछि अघोरीले जानकी मन्दिरमा अनशन शुरू गरे। अनशनको दोस्रो दिनमा जानकी मन्दिरमा भएको स्थानीयहरूको भेलाले महन्थ नवलकिशोर दासको आँपको बगैंचामा अस्पताल खोल्ने निर्णय गर्यो। त्यसपछि अघोरीले अनशन तोडे।
डा. दास, गंगाधर दत्त, देवनन्द झाहरूको सहयोगमा फुसको अस्पताल भवन बन्यो। २०११ को विवाह पञ्चमीदेखि त्यही भवनमा अस्पताल शुरू भयो। डा. दासले पहिले बहिरङ्ग सेवा र पछि आकस्मिक सेवा शुरू गरे।
त्यो वेला अस्पताल संचालन गर्न मासिक रु.२५० खर्च लाग्थ्यो। पहिलो महीनाको खर्च डा. दासले व्यहोरे भने दोस्रो महीनाको खर्च जनकपुरका व्यापारी विश्वनाथप्रसाद साहले। तेस्रो महीना व्यवस्थापन समिति गठन गरियो, जसको अध्यक्ष डा. गौरीनारायण गिरी र सचिव सरोज कोइराला थिए। समितिलाई महेन्द्र नारायण निधि, रुद्रप्रसाद गिरी, मकेश्वर सिंह लगायतले आर्थिक संकलनमा सहयोग गरे। प्रत्येक वर्ष रामनवमी र विवाह पंचमीको मेलामा आउने थिएटरसँग एक शो च्यारिटी गराएर सहयोग जुटाइन्थ्यो।
जानकी अस्पतालले २०१७ देखि सरकारी अस्पतालसरह सहयोग पाउन थाल्यो। सहयोगको लागि जनकपुर चुरोट कारखानाका कामदारसँग भारु २ पैसा र वन विभागबाट प्रत्येक घर बनाउने पुर्जी मार्फत रु.२५ पैसा असुलिन्थ्यो। १ पुस २०१७ मा तत्कालीन राजा महेन्द्रले एकदलीय शासन शुरू गरेपछि अस्पतालका अधिकांश सहयोगी निर्वासित भएकोमा रामपदारथ मिश्र भने जनकपुरमै रहे। जसको आग्रहमा रामचन्द्र साह र फुलगेन साहले दुइटा पक्की भवन बनाइदिए।
२०१८ मा जनकपुर आएका राजा महेन्द्रलाई अघोरी र डा. दासले अस्पतालको विकासका लागि तुलसी गिरी मार्फत विन्तीपत्र हाले। केही दिनपछि अस्पतालका लागि रु.५० हजार निकासा भयो, जसबाट अन्तरंग विभागको अर्को भवन बनाइयो। २०२१ मा सरकारले पहिलो पटक डा. विमलकुमार घोषलाई अस्पतालमा खटायो। २०२३ मा अस्पताल सरकारलाई हस्तान्तरण गरियो।
अहिले जनकपुर अञ्चल अस्पताल इमर्जेन्सीमा भर्ना हुने बिरामीहरूलाई प्राथमिक उपचार गर्ने भन्दा बढी सेवा दिन नसक्ने अवस्थामा छ। दुर्घटनाका बिरामीलाई धरान वा काठमाडौं रेफर गर्नुपर्छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट