थप समाचारशुक्रबार, जेठ २, २०७१
संचालनको तयारीमा वासुलिङ सुगर मील
-बच्चु विक, धनगढी
व्यवसायी अरुण चन्दले दुई/तीन वर्षको दौडधुपपछि २०५१ मा ‘वासुलिङ सुगर एन्ड जनरल इन्डष्ट्रिज’ दर्ता गराएर कैलालीको चुहामा चिनी उत्पादन शुरू गर्दा नेकपा (माओवादी) ले रुकुम–रोल्पाका प्रहरी एकाइहरूमा आक्रमण गरेर १० वर्षे हिंसात्मक द्वन्द्वको जनाउ दिइरहेको थियो। परिणाम, भारतको ‘दि धामपुर सुगर मिल्स लिमिटेड’ को समेत लगानी रहेको उद्योग सुदूरपश्चिम नेपालमा रोजगारीको साथै कृषिमा क्रान्ति ल्याउन लाग्दा द्वन्द्वको चपेटामा परिहाल्यो।
सुदूरपश्चिमकै यो पहिलो उद्योगमा एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका थिए भने कैलाली, कञ्चनपुर, बाँके र बर्दियाका करीब एक लाख किसानले उखु खेतीबाट फाइदा लिन लागेका थिए। कृषि विकास ब्याङ्क, नेपाल औद्योगिक विकास निगम, राष्ट्रिय वाणिज्य ब्याङ्क, कर्मचारी संचयकोष र नेपाल ब्याङ्क लिमिटेडबाट रु.५७ करोड १७ लाख २८ हजार ऋण तथा रु.२५ करोड ६४ लाख ३४ हजार लगानी समेत गरी रु.८२ करोड ८१ लाख ६२ हजारमा स्थापना भएको उद्योग पोर्चुगलसम्म चिनी निर्यात गर्न थाल्दा बन्द गर्नुपरेको त्यसवेला कारखाना इन्चार्ज रहेका देव स्वाँर बताउँछन्। “दैनिक २५ हजार क्वीन्टल उखु पेल्ने उद्योगले वार्षिक दुई लाख क्वीन्टल चिनी उत्पादन गर्दा रु.३० करोडसम्म कारोबार हुन्थ्यो”, स्वाँर भन्छन्, “त्यसबाट उखु किसानहरूले रु.२० करोडसम्म पाउँथे।”
यो उद्योगले नै सुदूरपश्चिममा नगदेबालीको रूपमा उखु भित्र्याएको थियो। उद्योग सञ्चालन समितिका सदस्य डबल शाह त्यो वेला चार जिल्लाका गाउँ–गाउँ पुगेर किसानलाई उखु लगाउन प्रोत्साहन गरेको बताउँछन्। उद्योगले बिरुवा, मलखाद र जोताइको अग्रिम खर्च समेत दिएर उत्साहित पारेपछि सुदूरपश्चिमेलीहरू उखु खेतीमा हौसिएका थिए। त्यसबीचमा माओवादीहरूले ‘पञ्च प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको छोराको उद्योग’ भन्दै सताउन थाले भने सुरक्षा निकायहरूले पनि ‘उखुबारीमा माओवादी लुक्यो’ भन्दै खेतीमा बन्देज लगाउन थाले। “सेना–प्रहरीले उखु किसानलाई कुटपिट गरेे, उखु काटेर फालिदिए”, दुई बिघा खेतमा उखु लगाएका चुहा–२ का करवीरसिंह देउवा भन्छन्।
माओवादीले सताउन थालेपछि ठूला किसान विस्थापित भए भने साना किसानले पनि उखु लगाउन छाडे। २४ घन्टा चलिरहेको उद्योग यसरी १२ घन्टामा सीमित भयो। सुरक्षाको कारण देखाउँदै सरकारले नै राति चलाउन दिएन। २०६२ मा त माओवादीले उद्योगका कार्यकारी निर्देशक चन्दलाई नै अपहरण गर्यो।
अधिकारकर्मीहरूको पहलमा एक सातामा चन्द मुक्त भए पनि उद्योग बन्द भयो। उद्योग पुनः सञ्चालनको लागि अहिले चन्दलाई किसान र नागरिक समाजदेखि उद्योगी–व्यवसायी र राजनीतिक दलहरूसम्मले साथ दिएका छन्। कैलाली उद्योग व्यवसायी संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारी भन्छन्, “सुदूरपश्चिमका उद्योग वाणिज्य संघहरूको सक्रियतामा तयारी समिति नै बनाएर पहल भइरहेको छ।”
उद्योग आसपासका १४ गाविसमा डुबानका कारण अन्य बाली सप्रिंदैन। बलौटे माटो भएको ठाउँमा उखुखेती भने राम्रो हुने कैलाली जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी बताउँछन्। उनका अनुसार, २८ गाविसमा किसान समूह गठन गरेर उखु खेती थालिएको छ। वासुलिङ उद्योग संचालनमा स्थानीयसँगै भारतीय उद्योगीहरू पनि इच्छुक छन्। फागुन २०६९ मा आएको भारतको यदु ग्रुपका अध्यक्ष डी.पी. यादव नेतृत्वको व्यवसायीहरूको टोलीले लगानी गर्न इच्छा देखाएको छ।
उद्योग मन्त्रालयले पनि पुनः सञ्चालनका लागि उद्योग उपयुक्त रहेकोले रुग्ण उद्योगले पाउनुपर्ने सुविधा दिने भएको छ। उद्योग सञ्चालन समितिका सदस्य शाह रुग्ण उद्योगको सुविधा पाउने वित्तिकै सञ्चालन हुने बताउँछन्। उद्योग सञ्चालक चन्द भन्छन्, “आउँदो डिसेम्बरमा ‘ट्रायल’ गरेर २०१५ को शुरूबाट उत्पादन बजार पठाउने तयारीमा छौं।”
यो उद्योग सञ्चालनमा आयो भने एकातिर भारतीय उद्योगहरूलाई सस्तोमा उखु दिनुपर्ने सुदूर र मध्यपश्चिमका किसानको बाध्यता हट्नेछ भने अर्कातिर यो क्षेत्रमा उद्योगधन्दा स्थापनाको माहोल बन्नेछ। सुदूरपश्चिममा प्रत्येक वर्ष भारतबाट आपूर्ति हुँदै आएको एक लाख ८० हजार क्वीन्टल चिनीको विकल्प त छँदैछ।
साप्ताहिक खबरपत्रिका हिमालबाट