रमझममंगलबार, जेठ ६, २०७१
फेसबुक चलाउँदा होशियार !
-गणेश आचार्य
तपाईंले आजसम्म फेसबुक, ट्वीटर लगायतका सामाजिक संजालमा कतिपटक आफैंले खिचेका तस्वीर राख्नुभयो? अरुले खिचेको तस्वीर राखेको भए, कतिपटक त्यो फोटोग्राफरको नाम राख्नुभयो? कतिपटक ऊसँग सोध्नुभयो? कतिपटक लिखित सहमति लिनुभयो?
सर्च इन्जिनहरुको तीव्र प्रयोग हुन थालेपछि आफूलाई चाहिएको तस्वीर इन्टरनेटमा खोजेर चलाउने चलन बढेको छ। सामाजिक संजालमा रमाउनेहरुको बढोत्तरीसँगै यस्तो अभ्यास तीव्र बनेको छ। तर, साइबर कानूनका अध्येताहरु भन्छन्– यो गैरकानूनी हो।
यस्ता दुई–तीन वटा मुद्दा हेरेका इन्टरनेट सोसाइटी नेपालका अधिवक्ता बाबुराम अर्याल आफ्नो तस्वीर कसैले अन्यत्र प्रयोग गरेको पाए पनि कानूनी बाटो खोज्ने चलन खासै नभएकोले मात्र, नत्र नेपालमा जेल चलान हुनसक्ने सामाजिक संजाल प्रयोगकर्ताको संख्या ठूलै हुनसक्ने बताउँछन्। अर्याल भन्छन्, “केही केश छन्, जसमा मुद्दा हाल्नेले नै रुचि नदेखाएपछि त्यतिकै छोडियो।”
नेपालमा लिखित सहमति लिनुपर्ने कानून भए पनि त्यसको व्यावहारिक प्रयोग एकदमै कम छ। कानून अनुसार, अरुको तस्वीर पुनः प्रयोग गर्दा फोटोग्राफर या सम्बन्धित व्यक्तिलाई क्रेडिट दिएर मात्र पुग्दैन, ऊसँग नन–एस्क्लुसिभ लाइसेन्स एग्रिमेन्ट (नेला) या अरु किसिमको लिखित सहमति गर्नुपर्छ। साइबर कानूनका अर्का अध्येता सन्तोष सिग्देल भन्छन्, “त्यसो गर्नुभएको छैन र त्यो सिर्जनाको धनीले मुद्दा हाल्यो भने, तपाईं हार्ने सम्भावना धेरै हुन्छ।”
क्रियटिभ कमन्स
सकेसम्म लिखित सहमतिको बानी बसाल्नु राम्रो हो। आफूलाई चाहिएको तस्वीर खिच्ने व्यक्ति अर्को देशको परेको वा आफ्नै देशको भए पनि भेट्न गाह्रो भएको वेला काम लाग्छ– क्रियटिभ कमन्स। फ्रि लाइसेन्सहरु भएको तस्वीर पाइने ठूलो भण्डार हो– क्रियटिभ कमन्स। सर्वाधिकार अर्थात् कपिराइट इस्यु हुने डरबाट बच्न विश्वमा प्रयोग हुने प्रविधिमध्ये अग्रपंक्तिमा पर्छ, क्रियटिभ कमन्स। यसले इन्टरनेटमा रहेका निःशुल्क कानूनी संयन्त्रको प्रयोगबाट कसैको सिर्जनालाई निर्धक्क पुनः प्रयोग गर्न सकिने बनाइदिन्छ।
आफूले खिचेको तस्वीर या श्रव्य–दृश्य गुगल, विकिमिडिया, फि्लकर, साउण्डक्लाउड, युट्युब लगायतका प्लेटफर्ममा अपलोड गर्दा क्रियटिभ कमन्सको लाइसेन्स लिन वा केही अधिकारहरु आफूमा सुरक्षित गर्न सकिन्छ। तोडमोड नगरी पुनः प्रयोग गर्न पाउने जस्ता विकल्प छान्न सकिन्छ। यसो गर्दा तपाईंले उत्पादन गरेको सामग्री विश्वभरका मान्छेलाई प्रयोग गर्ने र बाँड्ने अधिकार दिन मिल्छ। धेरैजसो अडियो–भिडियो र तस्वीर अपलोड गर्ने प्लेटफर्महरुमा क्रियटिभ कमन्सको लाइसेन्स प्रयोग गर्न पाइन्छ। अपलोड गर्नुअघि त्यसलाई ध्यानमा राख्नुहोला।
निःशुल्क लाइसेन्स खोज्ने
निःशुल्क लाइसेन्स भएका तस्वीर/अडियो/भिडियो खोज्न कुनै पनि इन्टरनेट ब्राउजरमा search.creativecommons.org टाइप गर्नुस्। त्यसपछि खाली बाकसमा आफूलाई चाहिएको तस्वीर/अडियो/भिडियोको नाम टाइप गर्नुहोस्। पुनः प्रयोग गर्न, बाँड्न या व्यावसायिक प्रयोग गर्न पाइने सामग्र्रीहरु खोज्न तलको दुई वटा चेकबक्समा क्लिक गरेर ठीक चिन्ह लगाउनुस्। ‘सर्च युजिङ्ग’ भनेर त्यो तस्वीर/अडियो/भिडियो भेटिनसक्ने गुगल, युट्युब, साउण्डक्लाउड लगायतका ठाउँ देखाइएको हुन्छ। त्यसैमा क्लिक गर्दा चाहेको तस्वीर/अडियो/भिडियो भेटिन्छ।
त्यसमा क्लिक गरेर प्रयोग गर्न पाइने या नपाइने, बाँड्न हुने या नहुने, पुनः उत्पादन गर्न पाइने या नपाइने कस्तो लाइसेन्स हो, यकिन गर्न भने भुल्नु हुँदैन। तस्वीर/अडियो/भिडियोको डिटेलमा क्लिक गर्दा त्यो कस्तो चिज हो, थाहा हुन्छ।
क्रियटिभ कमन्सबाट खोजिएका सामग्री प्रयोग या पुनः उत्पादन गर्दा त्यसको वास्तविक सर्जकको नाम लेख्न भने छुटाउनुहुँदैन। क्रियटिभ कमन्सले तपाईंलाई त्यो सर्जकसम्म पुगेर लिखित सहमतिमा हस्ताक्षर गराएर ल्याउने समय जोगाइदिन्छ। अर्को महत्वपूर्ण कुरा, अरुको निःशुल्क लाइसेन्स भएका सिर्जना प्रयोग गर्नेले आफ्ना सिर्जनालाई पनि विश्वभरका मानिसहरुले प्रयोग गर्न सक्ने गरी क्रियटिभ कमन्स सहित अपलोड गरिदिनु राम्रो हो।
साप्ताहिक खबरपत्रिका हिमालबाट