रिपोर्टशनिबार, जेठ ३, २०७१
‘मोदी मोडल’लाई मत
-सन्त गाहा मगर र रमेश कुमार
१६ औं लोकसभा निर्वाचन मार्फत छिमेकी भारतमा भारतीय जनता पार्टीले ३० वर्षपछि एकल बहुमत सहितको अभूतपूर्व विजय हासिल गर्यो । सन् २००१ देखि गुजरातलाई तीव्र आर्थिक विकास र सुशासनको बाटोमा हिंडाएर सफल प्रशासकीय नेतृत्व दिएका मोदीको मोडललाई पत्याएर भारतीय जनताले उनको दल भाजपालाई दश वर्षपछि सरकारको नेतृत्व सुम्पिए ।
५४३ सदस्य रहेको लोकसभामा मोदीको दल एक्लैले २८२ र भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्र्याटिक एलायन्स–एनडीएले ३३६ सीट जितेको छ । सन् २००९ को चुनावमा ११६ सीटमा चित्त बुझाएको भाजपा यो अवस्थामा पुग्दा २०६ सीट जितेर गठबन्धन सरकार चलाएको कांग्रेस भने ४४ सीटमा खुम्चिएको छ ।
विश्व राजनीतिको शक्ति केन्द्र मानिएको अमेरिका र पश्चिमाले नरुचाएका भनिएका नेता मोदीले सम्भवतः अबका पाँच वर्ष भारतको स्थायी र बलियो सरकारको नेतृत्व गर्ने छन् । विकासको लोकप्रिय नारा दिएर उदाएका मोदीको गुजरात मोडल देशव्यापी बन्न सक्छ/सक्दैन भन्ने चाहिं समयले देखाउनेछ ।
लगातार १० वर्ष नेतृत्व गरेर भारतलाई संसारको तेस्रो ठूलो अर्थतन्त्र बनाएका प्रधानमन्त्री मनमोहन सिंहको पार्टी भारतीय राष्ट्रिय कांग्रेसको पराजय हुनुमा भारतका अखबारहरूमा लामो समय काम गरेका पत्रकार युवराज घिमिरे जनताको परिवर्तनप्रतिको स्वाभाविक अपेक्षा मान्छन् । मोदीको आक्रामक चुनावी अभियानसामु कमजोर देखिएको कांग्रेस नेतृत्वलाई चुनावअघिका चुनावी आकलनहरूले पनि रक्षात्मक बनाइसकेको थियो । चुनाव हुनुअघि नै ‘मोदी मेनिया’ बाट सत्तारुढ पार्टी परास्त भए जस्तो देखिएको भारतीय चुनाव समेत हेरेका घिमिरे बताउँछन् ।
६३ वर्षीय मोदीको बोल्ड छविका अघि उनीभन्दा दुई दशक कान्छा प्रतिस्पर्धी राहुल गान्धी फिका देखिन्थे । सात दशक पुरानो नेहरू–गान्धी परिवारको राजनीतिक विरासतलाई कमजोर बनाउन ‘चायवाले’ मोदीले आम मान्छेसँग सम्बन्ध स्थापित गरे, राजनीतिज्ञ र जनताबीचको दूरी घटाउँदै । उनले आफ्ना प्रतिस्पर्धीलाई शाहजादा भन्दै जनतासँग टाढा राख्ने प्रयास पनि गरे । उनले आफ्ना समर्थक वा कार्यकर्तासँगै विकासको नारा दिएर आम मान्छे तथा भ्रष्टाचार निवारण र सुशासनको नारा दिएर मध्यमवर्गलाई आकर्षित गरे ।
प्रधानमन्त्रीका रूपमा मनमोहन सिंह स्वच्छ र निष्कलंकित देखिए पनि उनको सत्ता साझेदार गठबन्धनका मन्त्रीहरूको बद्नामीको मूल्य कांग्रेसले चुनावमा चुकाउनु पर्यो । सिंहले गठबन्धन सरकारको बाध्यताका रूपमा त्यसलाई अथ्र्याए पनि मतदाताले भ्रष्टाचार र अनियमिततालाई नस्वीकारेको पत्रकार घिमिरे बताउँछन् ।
भारतीय जनताले साझेदारी प्रजातन्त्रमा विश्वास गर्ने भए पनि मनमोहन सिंहको सरकार कांग्रेस नेतृ सोनिया गान्धीले पर्दा पछाडिबाट दिएको आदेश कार्यान्वयन गर्ने जस्तो मात्र देखिनुलाई पनि जनताले नपचाएको उनको धारणा छ । “दुई वटा शक्तिकेन्द्र हुँदा सरकारले स्वतन्त्र काम गर्न सकेन भन्ने छाप जनतामा परेको देखिन्छ” परराष्ट्र मामिला जानकार राजन भट्टराई भन्छन्, “यसले कांग्रेसको विपक्षमा माहोल बनायो ।”
आफ्ना विचार स्पष्ट रूपमा जनतामा राख्न सक्नु पनि भाजपा सफल हुनुको अर्को कारण रह्यो । भारतीय मिडिया र सामाजिक सञ्जालहरूलाई मोदीले गरेको प्रयोगलाई धेरैले सफलताको कारण मानेका छन् । खास गरेर, कांग्रेस नेतृत्वको सरकारले सन् २००९ को निर्वाचनपछि चामत्कारिक आर्थिक सुधार गर्न नसकेको र महँगी लगायतका कारण आम जनता चिढिएकाले कांग्रेसको विपक्षमा जनमत गएको विश्लेषण भट्टराईको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रचार पाएको बलात्कार र हिंसाका घटनाहरूले पनि सरकारलाई नकारात्मक असर पारे ।
परम्परागत चुनावी प्रचारको साटो अत्यन्तै सावधानी र व्यवस्थितसाथ गरिएको ‘ब्रान्ड मोदी’ को चुनावी अभियान पनि विजयको अर्काे कारण मानिन्छ । कतिपयले यसलाई संसारकै सफल चुनावी अभियानमध्ये एक भएको टिप्पणी गरेका छन् । मोदीले अभियानक्रममा छानेका प्रभावशाली र आशा जगाउने युवा नेतृत्वले उनलाई अघि बढाएका थिए ।
कांग्रेसका मनमोहन सिंह अर्थमन्त्री हुँदादेखिको उदारवादी अर्थनीतिको नारालाई यसपटक मोदीले सडक, रेल र विद्युत्को विकासे नाराले छायामा पारे । पूर्व अर्थसचिव रामेश्वर खनाल विचारको राजनीति, जातीय, धार्मिक र क्षेत्रीय मुद्दालाई आर्थिक समृद्धि र विकासका मुद्दाले ओझेलमा पारेको यो चुनावमा देखिएको बताउँछन् ।
राजनेताले जनतासँग ‘कम्युनिकेट’ गर्न नसक्दाको परिणाम चुनावमा मनमोहन सरकारले भोगेको छ । पीभी नरसिंह राव नेतृत्वमा मनमोहन सिंह अर्थमन्त्री भएको वेला सन् १९९२ पछि अघि बढाइएको आर्थिक उदारीकरणको मोडलले भारतलाई संसारको ठूला अर्थतन्त्रका देशको सूचीमा पुर्यायो, भारतीय अर्बपतिको संख्या बढायो र ठूलो संख्यामा मध्यमवर्गको उदय गरायो, तर कांग्रेसले त्यसको लाभ लिन सकेन ।
अर्कातिर, भ्रष्टाचारको मुद्दा उचालेर दिल्ली विधानसभामा धूम मच्चाएको अरविन्द केजरीवालको आम आदमी पार्टीको भूमिका अपेक्षाभन्दा कमजोर बन्यो बरु बदलामा त्यसको फाइदा यस्ता अहम् मुद्दालाई अघि बढाउन अपरिपक्व भन्दा ठूला र स्थापित शक्ति चाहिन्छ भन्ने सन्देश मतदातामा दिएर भाजपा शक्तिशाली बन्यो । पपुलिस्ट मुद्दामा भन्दा पनि विश्वासिलो नेतृत्वका लागि राजनीतिक दर्शन र संगठन पनि आवश्यक हुन्छ भन्ने उदाहरण हो, आम आदमीको पराजय ।
राष्ट्रिय स्वयंसेवक संघको पृष्ठभूमिबाट आएका मोदीलाई हिन्दू पक्षधर र विवादित छविका नेताका रूपमा लिइन्छ । उनले आफूइतरका समुदाय र सम्प्रदायलाई शासन र नेतृत्वको दृष्टिले कसरी हेर्छन् त्यसले उनको मात्र होइन समग्र भारतको भविष्य तय गर्छ । उदार आर्थिक नीतिभन्दा पनि अघि बढेर ‘निओकन’ विचारधारालाई प्रवद्र्धन गर्न चाहने र अर्थशास्त्री पीएन भगवतीबाट दीक्षित मोदीको आर्थिक शैली उदारवादी हुनेमा शंका छैन । यद्यपि, समग्रतामा अंकमा वृद्धि देख्न चाहने त्यो राजनीतिक र आर्थिक खुलापनको ठूलो फाइदा भने तल्लो तहका सर्वसाधारण होइन, उनलाई जिताउन मरिमेटेका कर्पोरेट जगतले लिने विश्वास गरिन्छ ।
नेपाल सम्बन्ध
नेतृत्वले जनताका मुद्दा, आर्थिक विकास, समृद्धि तथा सुशासनलाई अघि बढाउन नसक्दा असफल हुने पुष्टि भारतीय चुनावको परिणामले देखाएको कूटनीतिक मामला जानकार भट्टराई बताउँछन् । पत्रकार घिमिरे चाहिं सार्वजनिक निर्णय प्रक्रिया, कानून निर्माण तथा राज्य सञ्चालनका विधिको तय जनताले चुनिएको संसद्ले गर्नुपर्ने र विदेशीको क्षेत्राधिकार नभएको सन्देश यो चुनावले दिएको बताउँछन् ।
उनका अनुसार, चुनावी परिणामको नेपालमा तत्काल मनोवैज्ञानिक असर मात्र देखिने छ, यसको सुस्त असर भने क्रमशः आउने छन् । २०६२/६३ को आन्दोलन र पछिका प्रत्येक ठूला घटना र मुख्य निर्णयहरूलाई प्रभाव पार्दै आएको र प्रत्यक्ष भूमिका देखाउँदै आएको साउथ ब्लकको भूमिकासँग भाजपा असन्तुष्ट छ । चुनावी घोषणापत्रमै ‘कांग्रेस सरकारको छिमेक नीति असफल भएको’ उल्लेख गरेकाले भाजपाको नेतृत्वको सरकारको नेपाल नीतिमा परिवर्तनको संकेत गर्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
