रिपोर्टशनिबार, जेठ ३, २०७१
अपाङ्गता भएकालाई अवसरको आवश्यक
-यामकुमारी कँडेल
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरबाट ५४ किलोमिटर पश्चिम बाबियाचौरका दृष्टिविहीन नरबहादुर लामिछाने (४०) पत्नी मेनकाले छिमेकीको घरमा काम गरेर कमाएको तथा आफूले मागेर ल्याएको भरमा आफ्नो र छोराछोरीको गुजारा चलाउँथे। तर, २०६५ मा अपाङ्ग सशक्तिकरण केन्द्र, सुर्खेतबाट बस्ने मुढा बनाउने तालिम लिएपछि उनको जीवन फेरियो। भारतमा कारखानामा काम गर्दा आगोको झिल्को परेर १८ वर्षको उमेरमा दुवै आँखा गुमाएका उनी अहिले मुढा बेचेर परिवार पाल्ने भएका छन्।
पत्नी र छिमेकीले जुटाइदिने बाँस र टायरबाट उनले बनाउने मुढा गाउँमै रु.२५० मा बिक्री हुन्छ। महीनामा २५ मुढा बनाउने उनी र उनी जस्ता अपाङ्गता भएकालाई मुढा बिक्री गर्न छिमेकी विद्यापुर गाविसको अपाङ्ग संरक्षण केन्द्रले सहयोग पुर्याएको छ। उनीहरूले बनाउने एउटा मुढाको बजार भाउ भने रु.१८० मात्र छ। अपाङ्गता भएकाहरूलाई आर्थिक रूपले सबल बनाउन स्थापना भएको सो केन्द्रले नरबहादुरलाई रु.२० हजार सहयोग पनि गरेको केन्द्रका सचिव गंगाराम घिमिरे बताउँछन्।
सुर्खेत, वीरेन्द्रनगर–६ की रेनुका चौधरी (२६) ले चार वर्षअघि आमासँग कपडा किनिदिन आग्रह गर्दा आँखा नदेख्नेले किन राम्रो लगाउनु पर्यो भनेर हप्काइखाएपछि केही गरेर देखाउने ईख लिइन्। नभन्दै, उनले घरेलु उद्योग सुर्खेतबाट २०६८ मा संचालित लुगा धुने पाउडर बनाउने तालिम लिने मौका पाइन्। त्यसपछि, सँगै तालिम लिएका अर्का दृष्टिविहीन मायाप्रसाद जैसी (४३) सँग मिलेर पाउडर बनाउन थालिन्।
जलविन्दुले २०६० मा दुवै आँखाको ज्योति गुमाएका जैसी चाहिं पत्नी र छोराछोरीले छाडेपछि मागेर खानुपर्ने अवस्थामा पुगेका थिए। २०६१ मा दृष्टिविहीन टीकामाया रेग्मी (४०) सँग विवाह गरेपछि जीवन पहिले भन्दा सहज बने पनि घरेलु उद्योगबाट तालिम नलिंदासम्म उनले उस्तै आर्थिक संकट भोग्नु पर्यो। अहिले नगरपालिकाबाट रु.३० हजार सहयोग लिएर पाउडर बनाउने ग्रेडिङ मेशीन किनेर पाउडर बनाउन थालेपछि उनीहरूको जीवनमा परिवर्तन आएको छ। यो काममा रेणुसहित सडक दुर्घटनामा दुवै खुट्टा गुमाएका माधुराम चौधरी पनि संलग्न छन्।
उनीहरूको कारखानाले मासिक १२ क्वीन्टल पाउडर उत्पादन गरेर रु.५० हजार कमाइ गर्छ। दक्ष जनशक्ति र कच्चा पदार्थको अभावका कारण बजारमा माग भए अनुसार उत्पादन र आपूर्ति गर्न नसकिएको जैसी बताउँछन्।
जन्मँदै दुवै हातका औंला नभएका सुर्खेत लाटीकोइली–२ पिपिराका रामबहादुर चौधरी (३४) लाई पनि २०६० मा वीरेन्द्रनगरको स्टोभ मर्मत गर्ने काम नपाउँदासम्म पत्नी र एउटा छोरा पाल्न मुश्किल थियो। दायाँ हातका दुई वटा टुसा जत्रा औंलाको भरमा उनले अरूले जस्तै खेतीका सबै काम गर्नुपर्दथ्यो। तर, स्टोभ मर्मत गरेर मासिक रु.२ हजार कमाउन थालेपछि उनले ६ वर्षमा रु.३० हजार बचाए। त्यसपछि त्यो पैसाले वीरेन्द्रनगरमा आफैं सटर भाडामा लिएर स्टोभ, कुकर र ग्याँस चुलो मर्मत पसल खोले। अहिले उनी दैनिक रु.५ हजार कमाइ हुने गरेको र परिवार पालेर बचत पनि राम्रो गरेको बताउँछन्।
अपाङ्ग सशक्तिकरण केन्द्र सुर्खेतका अध्यक्ष विष्णुप्रसाद शर्माका अनुसार मध्यपश्चिममा ९३ हजार २७५ जना अपाङ्गता भएका रहेकोमा सुर्खेतमा १० हजार २५३ जना छन्। उनीहरूमध्ये ११३ जनाले मात्र अहिले आयआर्जन हुने काम गर्न सकेका छन्। यो तथ्यांकले बाँकी अपाङ्गता भएकाहरू परनिर्भर भएर कष्टपूर्ण जीवन बाँचिरहेको देखाउँछ।
साप्ताहिक खबरपत्रिका हिमालबाट