ब्लगआइतबार, जेठ ४, २०७१
वैकल्पिक टेको
नेपालीको दुर्दान्त अवस्थाको सबैभन्दा ठूलो कारक के हो? यस्तो आरोप लगाउँदै हान्नलाई सिङ उध्याएर बसेका साँढेहरू अरू कोही नभई राजनीतिक डढेलोमा हात सेकाउन पल्केकाहरू नै हुन्। हामीकहाँ राजनीतिकरणले नबिटुल्याएको क्षेत्र कुनै बाँकी छैन।
नेताजीहरूको घुम्रे नजरबाट जे जति जोगिएका थिए, तिनले पनि ‘आ बैल मुझे मार’ को शैलीमा दलको ढोका ढकढक्याउँदै आफूलाई बिटुल्याइसकेका छन्। तर, गाउँखाने कथामा गाउँ दिंदा जस्तो दोषभागी चाहिं राजनीति मात्र रे! बरा, नेतागण चाहिं गल्ली, चोक, चौराहका आम मान्छेदेखि टेलिभिजन, रेडियो र अखबारका भाम मान्छेसम्मका मट्याङ्ग्रा सहँदै खप्पराँ फुलौरा फुलाएर हिंड्न अभिशप्त देखिन्छन्।
सहँदै जाँदा के जातिको पनि दिन फिर्छ भने झैं नेताजीहरूको पनि दिन फिरेको देखियो, पत्रकार महासंघको अधिवेशनताका। पत्रकारको लेखाइ, बोलाइ एवं सोधाइको बाह्रमासे खेदाइबाट थलिएका नेताजीहरूले उल्टै पत्रकारलाई कटाक्ष गर्दै मटक मारेको बिरलाकोटी दृश्य देखियो। मुख फोर्न साह्रै कञ्जुस्याईं गर्ने एक नेताले पनि मौकामा चौका हान्दै भन्नुभो, “राजनीतिक दल मिल्न सकेनन् भन्दै एकोहोरो खेद्ने? सक्ने भए आफू मिलेर देखाऊ, नत्र नकारात्मक सम्चार फैलाउने बन्कर प्रवृत्ति बन्द गर।”
चौथो अङ्गको कुम्भमेलाताका यसरी वर्षने नेताजीको हिम्मत मेरा लागि बुझ्िनसक्नु पहेली बन्यो। मेरो घैंटामा घाम लगाउने काम गरे नेपाली पत्रकारहरूको छतरी संगठनमा नयाँ नेतृत्व चुन्न भेला भएका प्रतिनिधि महानुभावहरूले। पत्रकारहरूको भेलामा कुनै उपमा वा पगरी धारण नगरेका पत्रकार सिला खोज्दा’नि फेला परेनन्, हाट बजाराँ शुद्ध गाईको दूधको सट्टा ‘गाईको दूध’ र शुद्ध तोरीको तेलको सट्टा ‘तोरीको तेल’ मात्र भेट्टाउन दुरुह भए जस्तै! अधिवेशनस्थलमा भेला भएका प्रतिनिधिहरूको परिचय माग्दा जवाफ बर्सियोः “नमस्कार, म जय नेपाल पत्रकार!”
“अभिवादन, म लालसलाम पत्रकार!”
“क्रान्तिकारी पत्रकार!” एकले मुड्की उचाल्दै भने।
“शिरोमणि क्रान्तिकारी पत्रकार!” बिजुली वेगमा उचालेको मुड्की टेबलमा बजार्दै अर्काले झ्न्डै ‘पत्रकारसँग परिचय गर्दा सहकर्मीहरू घाइते’ शीर्षक समाचार जन्माएनन्।
“अनि चाउरो मुख लाएर अधिवेशनस्थल बाहिर फेरी लगाइरहेका चाहिं को हुन्?” मैले आफ्नो सातो थाम्दै सोधें।
“ती चाहिं अलपत्रकार”, कसैले भन्यो।
“तिनले के गर्छन्?”
“ती प्युसा सम्चार मात्र लेख्छन्!”
“किन ती पत्रकार बन्न सकेनन्?”
“हाम्रो छातामा ओत लाग्न नआएकाले बाहिर रुझिबस्या हुन्”, कसैले विस्तार लगायो।
पत्रकार प्रतिनिधिहरूको परिचयका पत्रहरू उधिन्दै जाँदा फलानो पार्टीको पूर्व जिल्ला सभापति, ढिस्कानो दलको वर्तमान जिल्ला अध्यक्ष, ढिम्कानो दलको का.वा. इन्चार्जदेखि युवा नेता, महिला नेतृ एवम् पितृ नेतासम्मका अनेक औतारी भेटिए। कार्यकर्ता प्रतिनिधिहरूको बाहुल्य रहेकाले पो पत्रकारहरूको धतुरो खुस्काउने गरी जागाज्योति हुन नेताजीलाई आइतबार नभएको रहेछ। अर्थोक जे भए’नि नेतृत्व चुन्ने मूल काम फत्ते पार्न पत्रकार मित्रहरू सफल भए। नयाँ नेतृत्वले पनि विगतमा नेतृत्व सम्हाल्नेहरूले झैं रंगी–विरंगी छाता ओढ्ने छत्रे पत्रकार एवम् अलपत्रे पत्रकारहरूको अधिकार स्थापित गर्दै सेवा, सुविधामा उत्पात वृद्धि गराउने छन् भनी आशा गरौं।
स्वतन्त्र पत्रकारहरूको संगठनमा फेरि दोहोर्याएर रातो छाता उघि्रयो। पत्रकारिता जगतमा क्रान्ति गर्ने उद्घोष गर्दै गठित ‘लालसलाम पत्रकार मोर्चा’ ले ह्वीप लाएर भए’नि ‘जय नेपाल पत्रकार युनियन’ लाई ‘क्लिन स्वीप’ गर्न सफल भयो। वामपन्थी पत्रकारहरूको धु्रवीकरणले एउटै कम्निष्ट केन्द्र बनाउने प्रचण्ड गफलाई केही दिन बतास लाउने अनुमान गरौं।
बहिष्कारवादी दलले कार्यकर्ता पत्रकार पंक्तिलाई निर्वाचनमा सहभागी हुने अनुमति दिनुलाई भने सकारात्मक विकास मान्नुपर्छ। आवाजविहीनहरूको आवाज वहन गर्ने क्रममा चाहिं पत्रकार मित्रहरूले मातृ पार्टी, पितृ पार्टी एवम् भ्रातृ संगठनका मुखियाहरूको मुख ताकी पेशालाई दुखिया बनाउने छैनन् भन्ने कामना गरौं।
पत्रकारहरूको निर्वाचनमा पराजित राजनीतिक दलले मतान्तर मेट्ने गरी आफ्ना कार्यकर्ता महासंघमा भर्ती गराउन सकून्। विजेता दलले जितान्तर फराकिलो पार्न अझ् परिष्कृत रणनीति बुन्न सकून्। गुणात्मक विकास विस्तारै होला, पहिले संख्यात्मक विस्तार गरौं। दिन दुगुना, रात चौगुना महासंघको आकार बढोस्। दलहरू निकम्मा भए भन्दै वैकल्पिक राजनीतिक शक्ति जन्माउने हुँइया बेतोडसँग चलिरहेछ। विभिन्न दल आवद्ध कार्यकर्ताको जमघट महासंघमा बढ्दै जाँदा त्यो राजनीतिक दलहरूको भर्पाइ गर्ने वैकल्पिक टेको बन्न सक्छ। महासंघ परिवारलाई सफलताको एकमुष्ट शुभकामना!
साप्ताहिक खबरपत्रिका हिमालबाट