थप समाचारआइतबार, जेठ ४, २०७१

दुई माओवादीबीच गठबन्धनको तयारी

रासस

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेता बाबुराम भट्टराईसँगको सम्बन्धमा टकराव भएसँगै नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यसँगको पार्टी एकताका लागि वार्ता प्रक्रियालाई तीव्रता दिएका हुन् । विराटनगरमा राष्ट्रिय सम्मेलन चलिरहँदा दाहालले वैद्यलाई फोन गरी कम्युनिष्ट केन्द्र बनाउनेसम्बन्धी प्रस्ताव सम्मेलनमा आफूले लैजान लागेको र त्यसको उद्देश्य दुई माओवादीबीचको एकता भएको जानकारी दिएका थिए ।

जवाफमा वैद्यले पनि आफ्नो पार्टीको बुद्धनगरमा जारी पोलिटव्युरो बैठकमा आफूले पनि पार्टी एकतासम्बन्धी प्रस्ताव ल्याउन लागेको जानकारी दाहाललाई गराएका थिए । वैद्यबाट सकारात्मक जवाफ पाएसँगै दाहालले भट्टराईलाई फकाएर जानेभन्दा पनि वैद्यसँग एकता गरेर जाने गरी आधार तयार बनाउने नीति सम्मेलनमा लिएका थिए ।

शान्तिप्रक्रियामा आएसँगै भट्टराईले भनेका कुरा मान्दै कतिपय जटिल कुरामा समेत भट्टराईसँग सम्झौता गर्दै आएका दाहाल सो सम्वन्धलाई पुनरावलोकन गर्ने मनस्थितिमा पुगिसकेका हुन् । एमाओवादी विभाजनको संघारमा पुगेको बेला तत्कालिन प्रधानमन्त्री भट्टराई पार्टी एकताको पहल गर्नुको साटो ब्राजिल भ्रमणमा गएका थिए । भट्टराई ब्राजिल रहेकै बेला पार्टी विभाजन भएको थियो ।

पार्टी विभाजन गलत थियो भन्ने निश्कर्ष सहित पार्टीको साख फर्काउन वैद्यहरुसँग एकताको विकल्प नभएको अध्यक्ष दाहालको ठम्याई छ । हालै राजधानीमा भएको एक कार्यक्रममा अध्यक्ष दाहालले पार्टी एकताका लागि वैद्यलाई पार्टी अध्यक्ष मान्न तयार रहेको सार्वजनिकरुपमा घोषणा गरेका थिए ।

परिस्थिति अनुसार असाध्यै लचक र कठोर हुन सक्ने खुबी भएका दाहालले वैद्यहरुसँग एकता गर्न जस्तोसुकै त्याग गर्न पछि नपर्ने जनाएसँगै एकताका लागि पहल गर्न दुवै पार्टीका मध्यम पंक्तिका नेताहरुलाई समेत आग्रह गरेका छन् ।

वैद्य पक्षलाई रिझाउने उद्देश्यले नै दाहालले बिराटनगरमा राष्ट्रिय स्वाधिनताको पक्षमा पार्टी दरो रुपले उभिन नसकेको स्विकार गर्दै अब पार्टी स्वाधिनताको पक्षमा खरो रुपमा उभिने बताउँदै भारतलाई विस्तारवादी भनी दस्तावेजमै उल्लेख गरेका थिए ।

वैद्यको पार्टीभित्रै एमाओवादी विघटनको सङ्घारमा पुगेकाले त्यसबाट बच्न अध्यक्ष दाहालले पार्टी एकताको हल्ला चलाएको भन्ने ठूलो पंक्ति छ । पार्टी विभाजन पछि पनि पार्टी फुटको खासै औचित्य सावित गर्न नसकेको वैद्य माओवादीले पनि आफ्नो कार्यदिशा स्विकार गरेको खण्डमा एमाओवादीसँगको एकतालाई प्राथमिकतामा राखेको छ ।

अध्यक्ष दाहाल पनि हेटौँडा महाधिवेशनबाट लिएको कार्यदिशालाई संशोधन गरी वैद्य पक्षको केही क्रान्तिकारी लाईनलाई मिलाउँदै दुवै पक्षलाई मान्य हुने कार्यदिशा बनाउन तयार देखिएका हुन् ।

शान्ति र संविधानका पक्षपाती भट्टराईलाई सो कुरा मनपरेको छैन । भट्टराई पक्षीय नेता रायमाझी भन्छन्, “हेटौंडा महाधिवेशनको आर्थिक क्रान्ति सम्बन्धी कार्यदिशालाई थप समृद्ध गर्नुको साटो अध्यक्ष दाहालले विद्रोहको कार्यदिशा पारित गरेको पालुंटार सम्मेलनको कार्यदिशामा पार्टीलाई लग्न खोजेको आशंका हामीलाई छ ।”

तर संस्थापन पक्षका नेता अग्नी सापकोटा भने आफुहरुको पहिलो प्राथमिकता संविधानसभाबाटै संविधान लेख्ने रहेको दावी गर्छन् । जनताको पक्षमा संविधान नलेखिने अवस्थामा मात्रै विद्रोहको विकल्प हुने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...