रिपोर्टआइतबार, जेठ ४, २०७१
जन्डिसको जगजगी
कमल रिमाल, विराटनगर
खानेपानी संस्थानले ५५ वर्षअघि जडान गरेको पानीको पाइपबाट ढलको मलमूत्र छिरेर उपभोक्ताको धारामा पुगेकाले विराटनगरमा हेपाटाइटिस ई (जन्डिस) रोग निरन्तर फैलँदैछ । तीन सातादेखि फैलिएको जन्डिसले ३० वैशाखसम्म विराटनगरमा १४ सयलाई लपेटिसकेको छ भने ११ जनाको ज्यान गएको छ ।
विराटनगरको कोशी अञ्चल अस्पताल सहित निजी अस्पताल अहिले जन्डिसका बिरामीले भरिभराउ छन् । २३ वैशाखमा विराटनगरका सबै अस्पतालमा रगत परीक्षण गराउनेमध्ये १७६ जना जन्डिसका रोगी पाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
उपभोक्ता आक्रोश
कहिलेकाहीं आउने धाराको पानी धेरै नै फोहोर देखिएपछि उपभोक्ताले १७ वैशाखमा खानेपानी संस्थानको कार्यालयमा तोडफोड गरेका थिए । ३० वैशाखमा जिल्ला प्रशासनमा पनि धर्ना दिएका उपभोक्ताले जन्डिसबारे त्यहाँ छलफल गरिरहेका शहरी विकास मन्त्री डा. नारायण खड्कालाई ज्ञापनपत्र पनि बुझाएका थिए ।
जन्डिस फैलने डरले स्थानीयले धाराको पानी खान छाडेपछि विराटनगरमा ‘मिनरल वाटर’ को खपत अत्यधिक बढेकोे छ । अहिले एक लिटर बोतलको पानी व्यापारीले रु.३० मा बिक्री गरिरहेका छन् । तर, मोरङ कटहरीमा मे २०१४ मा उत्पादित पेरिस नामक मिनरल वाटरमा पनि लेदो भेटिएपछि, यसतर्फको विश्वास हराएको छ ।
जन्डिस फैलने क्रम बढेपछि २८ वैशाखदेखि विराटनगरका निजी विद्यालय पाँच दिनका लागि बन्द भए । ८ वैशाखमा ग्रीन क्रस अस्पतालमा विराटनगर–१५ की कृषा राई (१५) को मृत्यु भएपछि जन्डिसको प्रकोप शुरू भएको देखिएको थियो । त्यो घटना चिकित्सकहरूको लापर्वाहीका कारण भएको शुरूमा आरोप लाग्यो । तर, त्यहाँका वरिष्ठ डा. दीपक सिग्देलले जन्डिसको महामारी फैलिन लागेको बताएर सर्वसाधारणको आक्रोश साम्य पारे ।
१३ वैशाखमा हिमालखबर डटकमले विराटनगरमा जन्डिस फैलिएको समाचार पहिलो पटक दिएपछि केन्द्रीय तहमा यो चासोको विषय बन्न पुग्यो । अहिलेसम्म विराटनगरमा शहरी विकास, वन तथा भूसंरक्षण र स्वास्थ्य मन्त्रीहरू आइसकेका छन् । शहरी विकास मन्त्री खड्काका अनुसार, जन्डिस थप फैलन नदिन मन्त्रिपरिषद्ले पनि उच्चस्तरीय अध्ययन टोली परिचालन गर्ने निर्णय गरेको छ ।
पाँच महीनादेखि पाइप सफा नगरी पानी वितरण गर्दै आएको संस्थानले भने लोडसेडिङका कारण पर्याप्त पानी दिन नसकेको जनाएको छ । पाइप सफा गर्ने तथा फुटेका पाइप हटाएर नयाँ लगाउन थालिएको संस्थानका महाप्रबन्धक अर्जुन ढकालले दाबी गरे । विराटनगरमा दैनिक १ करोड ५० लाख लिटर खानेपानीको माग भए पनि संस्थानले ७० लाख लिटर वितरण गर्दै आएको छ । चार वटा मात्रै जेनेरेटर रहेकाले पानी तान्ने १० वटा पम्पमध्ये चार वटा मात्रै चलाउने गरिएको संस्थानले जनाएको छ ।
जताततै जोखिम
जन्डिस फैलनुमा खानेपानीको पाइप फुटेर ढल मिसिनु कारण रहेको अनुगमन टोलीको निष्कर्ष छ । २८ वैशाखमा होटलहरूमा अनुगमन गर्दा शौचालय नालामा मिसाइएको पाइएपछि जनस्वास्थ्य कार्यालयले शौचालयको पाइप सार्न निर्देशन दिएको छ । खानेपानी संस्थानको पाइपबाट आउने पानी परीक्षण गर्दा पनि जन्डिस संक्रमण हुने ‘कोलिफर्म’ नामक जीवाणु पाइएको छ ।
नगरका १३ स्थानमा परीक्षण गर्दा चार ठाउँको पानीमा यो जीवाणु पाइएको र रोगीहरू पनि ती ठाउँमै बढी भेटिएका थिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले संस्थानले वितरण गरेको पानीमा भेटिएको कोलिफर्म मानिसको दिसापिसाबबाट आएको बताए ।
शौचालयभन्दा ४० फिट नजिकको ट्युबेलको पानीमा कोलिफर्म सर्ने सम्भावना रहेकोमा विराटनगरका अधिकांश घरमा शौचालयको ट्याङ्की नजिकै ट्युबेल गाडिएका छन् । डा. मरासिनी कोलिफर्म मिसिएको धाराको पानी नउमाली फिल्टर गरेर मात्रै पिउँदा जन्डिस सर्ने बताउँछन् ।
जनस्वास्थ्य र नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरवासीलाई जन्डिसबाट जोगिन आह्वान गरेका छन् । जन्डिसको रोकथामका लागि रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको पानीमा मिसाएर पिउन ४ हजार ६०० बोतल पियूष र ६० हजार क्लोरिन ट्याब्लेट वितरण गरिएको जनस्वास्थ्य प्रमुख नवराज सुब्बा बताउँछन् । पियूष र क्लोरिन महाशाखा र युनिसेफसँग थप माग गरिएको पनि उनले बताए ।
छानबिन र नियन्त्रणका लागि विशेषज्ञहरू विराटनगर आउने क्रम जारी रहे पनि अहिलेसम्म उपलब्धि देखिएको छैन । अस्पतालहरूले बिरामीलाई केही दिन राखेर खतरामुक्त भएपछि घरमै आराम गर्न पठाउने गरेका छन् । डा. सिग्देल भन्छन्, “आराम, स्वच्छ खान र पिउन पाएपछि जन्डिस निको हुन्छ, अरू औषधि चाहिंदैन ।”
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
