अन्तर्वार्ता/विचारमंगलबार, जेठ ६, २०७१
ती तालिवान यी माओवादी
अफगानिस्तानको तालिवानी ‘क्रुसेडर्स’ र नेपालको माओवादी ‘क्रुसेडर्स’ बीच केही भिन्नता छन्। तथापि दुवै ज्यादतीकर्ताको उद्देश्य एउटै रहेको परिणामले पुष्टि गर्छ। इस्लामलाई बदनाम गर्दै तालिवानीको उदय र पतन भयो भने अन्तर्राष्ट्रिय, क्षेत्रीय र छिमेकी देशहरूको प्रभावका कारण उदय भएको र पतन भएको माओवादीले पनि माओलाई बदनाम गर्यो। आफ्नो स्वार्थमा धक्का लाग्दा अमेरिका विरुद्ध तालिवानीहरूले जेहाद छेडे जस्तै अवस्थामा अहिले माओवादी पनि पुगेको देखिंदैछ।
भारतीय खुफिया संस्था ‘रअ’ का पूर्व निर्देशक बी रमणले आफ्नो पुस्तक कावब्वाइज एन्ड ‘रअ’ मा लेखेका छन्, “सन् १९९८ मा ओसामा विन लादेनले स्थापना गरेको क्रुसेडर्स र जेवीस (यहुदी) हरूका विरुद्ध अन्तर्राष्ट्रिय इस्लामिक फ्रन्टको गठन सीआईएका अधिकारीहरू विलियम क्यासे र लि. कोम्टेको दिमागबाट उब्जिएको थियो।”
नेपालका माओवादीको सन्दर्भमा भने सीआईएका पूर्व अधिकारी जोन केनेथ न्याउसको पुस्तक ‘अर्फान्स् अफ कोल्ड वार’ उल्लेखनीय छ। जसमा लेखिएको छ, “नेपाल तिब्बतसहित क्षेत्रमा युद्ध लोभ र व्यापारद्वारा मात्र पकड राख्न सम्भव छैन। यसका लागि स्थानीय जातिलाई विभाजित गर्नुपर्दछ भन्ने आफैंले लेखेको काठमाडौं प्रतिवेदन सम्झ्न्छु। सन् १९९७ मा ७४ वर्षको उमेरमा काठमाडौं जाँदा जातीय संघर्ष विस्तार भएको छ। अमेरिकालाई साम्राज्यवादी भन्ने माओवादीले यो एजेन्डा विस्तार गरिरहेका छन्, अब आईएलओ १६९ राष्ट्रसंघमा प्रवेश गराउन सके हिमालय पर्वतमालालाई हाम्रो मुख्यालयले सताउनेछ।”
तालिवानले जसरी नै माओवादीले पनि पश्चिमा साम्राज्यवाद विरुद्ध चर्काे नारा दिएको छ। तर, यो राजनीतिले ऊबाट भएका अपराध र ज्यादतीले क्षमा पाउन सक्दैनन्, पीडितहरूको संघर्षलाई बदनाम गराउन जतिसुकै गोयबल्स हमला चलाए पनि। नन्दप्रसाद अधिकारी दम्पतीको अनसनमा डलर देख्नु गोयबल्स हमलाको एउटा रूप हो। तालिवानले अफगानिस्तानका ऐतिहासिक धरोहरहरू समाप्त गर्ने क्रममा उत्तरी वामियान प्रान्तमा रहेको १८ सय वर्ष पुरानो संसारको सबैभन्दा ठूलो बुद्धमूर्ति तोडेको थियो।
नेपालमा पनि माओवादीले संस्कृत विश्वविद्यालयमा रहेको साढे चार सय वर्ष पुरानो हस्तलिखित संस्कृत ग्रन्थ जलायो। निर्दोष शिक्षक मुक्तिनाथ अधिकारी र पण्डित नारायणप्रसाद पोखरेलको हत्या गरेर अरूलाई हतोत्साहित गर्ने योजना अघि बढायो। पशुपतिनाथ, भाषा, राष्ट्रिय पोशाक, नेपाल एकीकरणका नायक, वि.सं. विस्थापन गर्ने प्रयत्न पनि क्रुसेडर्स (इसाई) मिसनकै अभिन्न अंग थियो। तालिवानले पिछडिएको मुस्लिम समाजमा भ्रम दिए जस्तै माओवादीले पनि रोल्पा, रुकुम जस्ता विकट र पिछडिएको समाजमा सर्वहारा मुक्तिको नाराले भ्रम सिर्जना गर्न खोज्यो।
तर, समयले तालिवानलाई उदाङ्गो पारे जस्तै माओवादीलाई पनि शान्ति प्रक्रियाको सात वर्षले उदाङ्गो बनायो। यसलाई नयाँ शक्तिको नारा दिने बाबुराम भट्टराई र कम्युनिस्ट केन्द्र भन्ने पुष्पकमल दाहालले पनि स्वीकारेका छन्। यी नारामै माओवादीको विधिवत् विघटन लुकेको छ। नभए पुरानो पार्टी छँदाछँदै नयाँ शक्तिको आवश्यकता किन पर्यो तथा सत्ता कब्जा गर्न पशुपतिदेखि सेनापतिसम्म धावा बोल्ने दाहाललाई कम्युनिस्ट केन्द्र किन चाहियो?
नयाँ शक्ति असम्भव
जति आकर्षक देखिए पनि नयाँ शक्ति बनाउने नाराको कार्यान्वयन असम्भव छ। २०४६ मा दलविहीन पञ्चायती व्यवस्था विघटनपछि त्यसको कर्मचारीतन्त्रको उपल्लो तहमा पुगेका देवेन्द्रराज पाण्डेले लोकदल स्थापना गरे। जहाँ विचलित वामपन्थीदेखि सबै तहतप्काका बुद्धिजीवी थिए। तर, त्यो सफल भएन।
त्यसपछि पाण्डे नागरिक समाजको आवरणमा देखा परे भने टंक कार्की पुरानो घर एमालेमा फर्किए। कांग्रेसका कुवेर शर्माले पनि वामपन्थी बद्रीप्रसाद खतिवडासँग मिलेर नयाँ शक्ति बनाउने अभ्यास नगरेका होइनन्।
बाबुरामको नयाँ शक्ति पनि पाण्डे र शर्माको अभ्यासभन्दा फरक हुने देखिंदैन। पूँजीवादी र समाजवादी क्रान्तिका नारा शब्दाडम्बर मात्र हुनेछन्। यसले माओवादीलाई पनि तालिवानलाई जस्तै पर्दाभित्रको ‘क्रुसेडर्स’ शक्तिले छाडेको संकेत दिन्छ।
यो अवस्थामा दाहालले भनेको कम्युनिस्ट केन्द्र हिजो जस्तै भोलि पनि सम्भव छैन। किनभने, न्याय खोज्नेलाई साम्राज्यवादी दलाल भन्दै पश्चिमा चर्चको क्रुसेड षडयन्त्र गर्ने दाहालको भनाइलाई अब कसैले पत्याउने अवस्था छैन। कम्युनिस्टहरूमा नेकपा (एमाले) सशक्त छ भने नेकपा (माले), नेकपा (संयुक्त), नेकपा (मसाल), नेमकिपामा माओवादीप्रति कुनै मोह बाँकी छैन। त्यसैले दाहालको कम्युनिस्ट केन्द्रले आफैंबाट विभाजित मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी) र अरू केही व्यक्ति रहेका समूहलाई मात्र आकर्षित गर्न सक्छ। त्यसो भयो भने पनि माओवादीको विघटनको अन्तिम यात्रा रोकिने छैन।
विघटन अनिवार्य
निश्चित सिद्धान्त, संगठन र दिशा भएको पार्टी मात्र दीर्घकालीन हुन सक्छ। ती केही नभएकोले दुवै माओवादी र त्यही विगत भएका साना समूह जोडिंदा पनि माओवादीले दीर्घजीवन पाउने छैन। उसको सशस्त्र संघर्षभित्रको क्रुसेडर्स ज्यादती पहिल्यै पर्दाफास भइसकेको छ। ऊसँग न बलियो संगठन छ, न त डरत्रास देखाउन कथित सेना नै। त्यसैले जे गरे पनि उसको नियति दायाँ–बायाँ गोलचक्कर लगाउनु बाहेक केही हुने छैन।
माओको ब्यानरमा चीन निकट प्रोपोगण्डा गर्दै जोन केनेथ न्यासको अजेन्डा बोकेका कथित माओवादी र मधेशको आवरणमा भारत निकट देखाउँदै आएका कथित मधेशवादीहरू एउटै सिक्काका दुई पाटा हुन् भन्ने प्रमाणित भइसकेको छ। उनीहरूबारे चीन र भारत पनि भ्रममुक्त हुँदैछन्।
कागले कान लग्यो भन्ने हल्ला गरेर कागका पछाडि दौडाउने र कुखुरा चोर्ने दाउ असफल भएकाले दाहाल र बाबुरामले अहिले साम्राज्यवादी डलरवादीले युद्ध निम्त्याउन खोजेको प्रोपोगण्डा मच्चाएका हुन्। विराटनगरमा दाहालले भारत र चीनमा डलरवादीले अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाउनुको कारण पनि त्यही हो।
तर, उनको यो प्रयास भारतीय विस्तारवाद विरुद्ध सुरुङ युद्ध गर्ने भन्दै भारतीय प्रधानमन्त्रीलाई बिन्तीपत्र हालेभन्दा केही फरक छैन। मदन भण्डारी र राजा वीरेन्द्रलाई भारतले मारेको भन्दै बेइजिङलाई भ्रम दिने उनको कुप्रचार पनि असफल भइसकेको छ।
दक्षिण अफ्रिकामा नेल्सन मण्डेला विरुद्ध खडा गरिएको इन्काथा नामको नक्कली कम्युनिस्ट पार्टी लुटेरामा परिणत भएर विघटन भयो। निकारागुवामा उग्रवामपन्थी अतिवादीले पहिलो निर्वाचनमा बहुमत ल्याएर सरकार निर्माण गरे पनि दोस्रो निर्वाचनमा समाप्त भयो। माओवादीको स्थिति पनि तिनीहरूको भन्दा फरक छैन।
कम्बोडियामा सत्ता कब्जा गरेर आपराधिक र अमानवीय घटना गराउने पोलपोटका जीवित नेता/कार्यकर्ताले अहिले सजाय भोगिरहेका छन्। नेपालमा पनि अमानवीयताको हद पार गर्नेहरू उम्किन पाउने छैनन्। तर, महाभारतमा दुर्योधनको ज्यादतीलाई साथ दिने भीष्म पितामह र द्रोणाचार्यले पनि कारबाहीको भागिदार बन्नुपरे जस्तै इमानदार विद्वान्हरूको नियति नहोस् भन्नेतर्फ भने सबैले चिन्ता गर्नुपर्ने अवस्था छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट