थप समाचारमंगलबार, जेठ ६, २०७१

व्यर्थमा करोडौंको लगानी

हिमालखबर

बरियारपुरस्थित निर्माण सम्पन्न खानेपानी आयोजनाको ओभरहेड ट्यांक। तस्वीर: गोकुल घोरसाइने

बाराको बरियारपुर गाविसमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मार्फत १२ वर्षअघि निर्माण सम्पन्न खानेपानी आयोजना (ओभर हेड ट्याङ्की सहितको) अहिलेसम्म पनि संचालनमा आएको छैन। उपभोक्ताले महसुल तिरेर धारा जडान गर्न तत्परता नदेखाएपछि आयोजना संचालन हुन नसकेको हो।

महसुल तिरेर उपभोक्ताले धारा जडान नगरेपछि बरियारपुर जस्तै शुद्ध पिउने पानी सुविधाको लागि भनेर जिल्लाको फेटा, जीतपुर बकुलियामा करोडौं रकम खर्चेर निर्माण भएका योजना पनि संचालनमा आएका छैनन्। हस्तान्तरणमा ढिलाइ भएर तीन वर्षअघिबाट संचालनमा आएको सिम्रौनगढ आयोजना तीन सातादेखि बन्द छ भने संचालन खर्च धान्न नसकेर पर्सौनी गाविसको आयोजना बन्द हुने अवस्थामा छ।

निर्माण पूरा भएको चार वर्षपछि हस्तान्तरण भएको सिम्रौनगढमा बिग्रिएको पानी तान्ने मोटर मर्मत गर्ने रकम नहुँदा आयोजना बन्द भएको हो भने बक्यौता रकम तिर्न नसकेर विद्युत् प्राधिकरणले बिजुलीको लाइन काटेपछि पर्सौनीको समितिले सोलार प्लान्टबाट तानेर पानी वितरण गर्दै आएको छ।

दुई वर्षअघि मुश्किलले गठन गरेर संचालनमा आएका दुवै समितिको नाममा विद्युत् प्राधिकरण कलैयामा रु.३ लाखदेखि रु.४ लाख बक्यौता छ।

डिभिजनल इन्जिनियर अशोक सिंहले जिल्लाको उत्तरी भेगको निजगढ, सिमरा, पथलैया र अमलेखगंज गाविस बाहेक दक्षिणी भेगमा निर्माण भएका योजना संचालनमा समस्या आएको बताए। उपभोक्ताको चेतनास्तर वृद्धि नगरेसम्म यस्ता योजनामा गरिने लगानी व्यर्थ हुने उनी बताउँछन्। कार्यालयका अनुसार जिल्लाका थप २९ स्थानमा राष्ट्रिय योजना आयोगबाट सीधै छनोट भएका नयाँ योजना निर्माणाधीन छन्।

गोकुल घोरसाइने, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...