रिपोर्टबिहीबार, जेठ ८, २०७१

जनप्रतिनिधि नहुँदाको परिणाम

हिमालखबर

– कुन्द दीक्षित, काभ्रेबाट

कटुन्जे गाउँ जाने कच्ची बाटोमा हिंडिरहेका भीम न्यौपानेले आफूभन्दा ठूलो घाँसको भारी बोकेकी महिलासँग उनका छोराछोरीको स्कूलको पढाइबारे सोधे। त्यसपछि एउटा चियापसलमा अडिएका उनलाई त्यहाँ रहेकाहरूले आत्मीयताका साथ मुस्कान र नमस्कारले स्वागत गरेभने उनले पनि उनीहरूको नाम बोलाएरै घरगृहस्थीका बारेमा सोधपुछ गरे।

२०५६ मा काभ्रेको गुडगुडे लघु जलविद्युत् आयोजनाको उद्घाटनमा बोल्दै गाविस अध्यक्ष भीम न्यौपाने । तस्वीरहरुः कुन्द दीक्षित

२०५४ मा भएको स्थानीय निर्वाचनमा न्यौपाने कुशादेवी गाविसको अध्यक्षमा पुनः निर्वाचित भएपछिको समय थियो, त्यो। त्यो वेला उनले मसँग भनेका थिए, “जनता अहिले जागरुक भइसकेका छन्, उनीहरू आफैं योजना बनाएर सहकार्य गर्दै आफ्नो जीवनस्तर सुधार्न सक्षम छन्।”

पन्ध्र वर्षपछि म फेरि भीम न्यौपानेसँग त्यही बाटोमा हिंडिरहेको छु, जुन अहिले मोटर बाटोमा परिणत भइसकेको छ। २०५९ मा स्थानीय निकायको अवधि पूरा भएर गाविस जनप्रतिनिधिविहीन बनाएपछि स्थानीय निकायको निर्वाचन भएको छैन। तर, अहिले पनि न्यौपानेलाई नागरिकताको सिफारिश लिन निकै परिवारले भेट्छन्, गाउँको विकास सम्बन्धमा सुझाव लिन पनि उनीकहाँ आइपुग्छन्।

२०५६ मा काभ्रे, दाङ र रूपन्देहीका गाउँमा न्यौपाने जस्ता नेताहरू भेट्दा, प्रजातन्त्रको जग बलियो बन्दै गरेको कुरा प्रत्यक्ष देखेको थिएँ, मैले। जसले, नेपाल जस्तो अविकसित र अशिक्षित राष्ट्रमा प्रजातन्त्र सुहाउँदैन र उपयोगी हुँदैन भन्नेहरूलाई गलत सावित गराउँथ्यो।

तर, त्यो वेलाको राष्ट्रिय राजनीति चाहिं अहिले भन्दा दयनीय अवस्थामा थियो। माओवादी द्वन्द्व चौथो वर्षमा टेकेको थियो। स्थानीय निर्वाचित प्रतिनिधि माओवादीका आँखामा कसिङ्गर बनेका थिए। त्यही कारण द्वन्द्व समापन हुने वेलासम्म नेपालका तीन हजार ९०० गाविसमध्ये तीनचौथाइ ध्वस्त बनाइए।

१५ वर्षपछि आफैले उदघाटन गरेको काभ्रेको गुडगुडे लघु जलविद्युत् आयोजनास्थलमा तत्कालीन गाविस अध्यक्ष भीम न्यौपाने ।

हेल्थपोष्ट र तालिम केन्द्र पनि रहेको कुशादेवी गाविस भवनमा माओवादीले दुईचोटि बम आक्रमण गर्‍यो। २०५९ मा छिमेकी रयाले गाविसका अध्यक्ष कृष्णप्रसाद सापकोटालाई माओवादीले कुशादेवी ल्याएर चरम यातना दिंदै हत्या गर्‍यो। त्यसपछि गाउँलेहरूमा त्रास पैदा गर्न माओवादीहरूले उनको शरीरलाई तल खोलामा र टाउको बाटोमा राखे। यो सब हुँदा पनि न्यौपानेले भने कुशादेवी छाडेनन्।

अहिले १४ वर्षपछि काठमाडौं नजिक रहेको कुशादेवीमा कुनै वेला युद्ध भएको थियो भनेर पत्याउन गाह्रो पर्छ। गाविस भवन पुनर्निर्माण भएको छ भने गाउँ विकसित हुँदै गएको देखिन्छ। डाँडाको टुप्पामा बसेर भीम न्यौपानेले आफ्नो गाउँ अवलोकन गर्दै भने, “स्थानीय प्रजातन्त्रमा विकासको क्षमता हुन्छ, हामीले यसलाई साकार बनायौं।”

गाविस अध्यक्षको दुई कार्यकालमा न्यौपानेले सरकारी स्कूलको स्तर उकासे, प्लस टुको स्थापना गराए, हेल्थपोष्टको आरम्भ गरे। त्यही अवधिमा ५० किमी मोटर बाटो निर्माण भयो, जसले गर्दा कुशादेवीका डेरी र किसानले आफ्ना सामग्री बजारसम्म लैजान पाए। उनले पानीको पहुँच नभएका वडामा खानेपानी पुर्‍याए, बेमौसमी तरकारीका लागि सिंचाइको व्यवस्था गरे। त्यही अवधिमा बनेको लघु जलविद्युत् आयोजनाले कुशादेवीलाई झिलीमिली बनाएको छ।

गाउँका किसानका गाईवस्तु मर्दा बीमा पाउने व्यवस्था गाविसले गर्‍यो। गाउँका लागि एउटा भैंसी किन्नु भनेको खतरा मोल्नु हो, तर बीमाको व्यवस्थाले त्यो खतरालाई कम पार्‍यो। यसले धेरै किसानलाई गरीबीबाट मुक्त बनायो।

२०६३ पछि गाविसहरू तीन प्रमुख राजनीतिक दल र सरकारले नियुक्त गरेको सचिवबाट चल्न थाले। तर, न्यौपाने जस्ता आदर्शवान् नेतासँग सुझाव र नेतृत्व माग्न अहिले पनि जनता पुगिरहेका छन्। सरकारले केही गर्ला भन्ने आशमा कुशादेवीका जनता छैनन्। केही गर्नुपर्दा उनीहरू आफैं अघि सर्छन्। जस्तै अहिले ट्रेकिङलाई व्यवस्थित गरेर कुशादेवीमा होम स्टे टुरिजमबाट स्थानीयवासीलाई फाइदा होस् भनेर लागेका छन्, न्यौपाने।

जनप्रतिनिधि विहीनताले कुशादेवी के गुमाइरहेको छ भन्ने चाहिं स्थानीय लक्ष्मण हुमागाईंको ‘पछिल्लो बाह्र वर्षमा यहाँ केही निर्माण भएको छैन’ भन्ने भनाइबाटै प्रष्टिन्छ। काठमाडौंका व्यवसायीहरूले पूरै पहाडी क्षेत्र आफ्नो पकडमा पारिसके, ढुंगाखानीको लागि; जसले कैयौं स्थानीयलाई विचल्लीमा पारेको छ। पानीको मुहान सुकेका छन्, एस्काभेटरले डाँडाकाँडा ताछ्दै छन् र टीपरले धूलो उडाएको उडायै छन्।

न्यौपाने भन्छन्, “निर्वाचित गाविस हुन्थ्यो भने यी समस्यामा हामी ध्यान केन्द्रित गर्थ्यौं। निर्वाचित जनप्रतिनिधि रहँदा जनताको नजरमा पनि हामी जिम्मेवार थियौं। जसले हामीलाई सामूहिक रूपमा अघि बढ्ने वातावरण दिएको थियो। निर्वाचन विना दायित्वबोध हुँदैन र जनतासँग सहकार्य गर्दै अघि बढ्ने प्रेरणा मिल्दैन।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>