Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
गर्भावस्थाको सेरोफेरो - Himalkhabar.com

टिप्पणीशुक्रबार, जेठ ९, २०७१

गर्भावस्थाको सेरोफेरो

डा. सुमनराज ताम्राकार

आमा बन्नु जस्तो अनुपम आनन्द अरू नहुने हुँदा प्रायः महिला विवाह गरेको केही समय अन्तरालमा बच्चा नहुँदा वा पाउन नसक्दा चिन्तित हुन थाल्छन्। तर, गर्भावस्थाका विभिन्न लक्षण र आइलाग्ने समस्याबारे शहरिया शिक्षित महिला समेत त्यति जानकार हुँदैनन्।

प्रत्येक २८ देखि ३० दिनको फरकमा नियमित महीनावारी हुने महिलामा दशौंदेखि अठारौं दिनमा हुने यौन सम्पर्कबाट गर्भ रहन सक्छ। नियमित महीनावारी रोकिनु गर्भ रहेको मुख्य लक्षण हो, जसलाई पिसाब जाँच, योनीद्वारबाट आन्तरिक परीक्षणसँगै अल्ट्रासाउन्ड (भिडियो एक्सरे) मार्फत निश्चित गर्न सकिन्छ।

आर्थिक समस्या तथा सेवा अभावले पटकपटक अल्ट्रासाउन्ड गराउन नसके पनि गर्भमा रहेको बच्चामा कुनै किसिमको शारीरिक विकलाङ्गता छ/छैन भन्ने थाहा पाउन गर्भावस्थाको १६–२२ हप्ताभित्र कम्तीमा एकपटक अल्ट्रासाउन्ड गराउनुपर्छ। गर्भपूर्वको अवस्थामा महिलामा कुनै समस्या भएमा गर्भाधान अगावै सम्बन्धित चिकित्सकसँग परामर्श लिनु श्रेयस्कर हुन्छ। गर्भाधानको क्रममा बच्चा, सालनाल, बच्चा वरिपरिको पानी, पाठेघरको वृद्धि र शरीरको विभिन्न भागमा प्रोटिन एवं बोसो जम्मा हुनाले गर्भावस्थामा महिलाको तौल करीब १०–१२ किलोसम्म बढ्न सक्छ।

४० हप्ता लामो गर्भ अवधिलाई पहिलो, दोस्रो र तेस्रो त्रैमासिक गरी तीन चरणमा बाँडिन्छ। प्रत्येक त्रैमासिकमा गर्भवतीका लक्षण पनि फरकफरक हुन्छन्। गर्भावस्थाको १२ हप्तापछि बाहिरी पेट जाँचेर पाठेघर छाम्न सकिन्छ। गर्भावस्थाको १२ हप्तामा पुट्ठाको हड्डी अघिल्लो भागसम्म, २० हप्तामा नाइटोको तल्लो भागमा, २४ हप्तामा नाइटोको माथिल्लो भागमा र ३६ हप्तामा मध्य छातीको हड्डी मुनिसम्म पाठेघर (पेट) को उचाइ बढ्छ। करीब १८ हप्तामा बच्चा चलेको महसूस हुन्छ। गर्भ रहेको करीब ३६ हप्तापछि बच्चा तल सर्ने (पुट्ठाको हड्डीभित्र जाने) हुनाले सास फेर्न अलि हलुका महसूस हुन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवती महिलाले कम्तीमा चारपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ। गर्भवती जाँच गर्दा प्रत्येक पटक तौल लिने, रक्तचाप र नाडीको गति नाप्ने एवं रक्तअल्पता र खुट्टा सुन्निएको छ/छैन जाँच्नुपर्दछ। पहिलो पटकको गर्भवती जाँच महीनावारी रोकिएको थाहा हुनासाथ वा करीब ६ हप्ताको वरिपरि गराउनुपर्छ। प्रत्येक गर्भवती महिलाले हेमोग्लोबिन, रक्तसमूह, यौनरोग (भीडीआरएल), एचआईभी एवं हेपाटाइटिस–बी, ब्लड सुगर, पिसाब जाँच एवं अल्ट्रासाउन्ड गराउनुपर्छ।

गर्भावस्थामा अन्य कुनै स्वास्थ्य समस्या देखिनासाथ थप जाँच पनि गराउनुपर्छ। पहिलो गर्भावस्थामा दुईपटक टीटी खोप लिनुपर्छ, फोलिक एसिड र आइरन एवं क्याल्सियम जस्ता औषधि क्रमशः पहिलो र दोस्रो त्रैमासिकबाट खानुपर्छ भने तागत लाग्ने कार्बाेहाइड्रे्रट तथा प्रोटिनयुक्त खानेकुरा पनि खानुपर्दछ।

कलिलो उमेरमा गर्भधारण गरेमा व्यथा लामो हुने, बच्चा पाउन गाह्रो हुने, बच्चा पनि कम तौलको हुने एवं महीना नपुगी व्यथा लाग्ने हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन्छ। मधुमेह, उच्च रक्तचाप, मुटु एवं मिर्गौला रोगी, नेगेटिभ रक्तसमूह, पेटभित्र सानो शिशु वा जुम्ल्याहा बच्चा बोकेका, पहिलो पटक गर्भ तुहिएका र उमेर बढी (३५ वर्षभन्दा माथि) भएका गर्भवती महिलालाई विशेष निगरानीमा राख्नुपर्छ।

गर्भ रहेको ६ हप्ताबाट बच्चाको मुटुको धड्कन शुरू हुन्छ, ८ हप्तासम्ममा अनुहारको आकार आउँछ, ९–१२ हप्तामा शरीरका भित्री अङ्गहरू फोक्सो, मिर्गौला, कलेजो, अस्थिपञ्जर बन्न थाल्छन्। गर्भावस्थाको चौथो हप्तादेखि दशौं हप्तासम्म गर्भे शिशुको मुटु तथा स्नायु प्रणाली अन्तर्गतका महत्वपूर्ण अङ्गहरू बन्ने भएकोले जथाभावी औषधि सेवन तथा धूमपान–मद्यपान गरेमा गम्भीर प्रकारका शारीरिक विकलाङ्ग भएका बच्चा जन्मिन सक्छन्।

गर्भावस्थामा बिहानीपख वाक्वाकी लाग्ने, मुखमा अमिलो पानी आउने र छाती पोल्ने, पिसाब छिटोछिटो लाग्ने, योनीश्राव (सेतो पानी) बढ्ता बग्ने, पिडौंला एवं जनेन्द्रिय वरिपरिका नसाहरू फुल्ने, कब्जियत हुने, खुट्टा सुन्निने, कम्मर दुख्ने, पिडौंला बाउँडिने जस्ता समस्या देखिन्छन्। गर्भाधानको क्रममा पाठेघरमा गर्भ बस्ने क्रममा हल्का रातोपन जस्तो रक्तश्राव देखिनु बाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनु राम्रो लक्षण होइन।

बच्चाको टाउको टेढिनु, बच्चा उल्टो वा तेर्सो बस्नु, पाठेघरभित्र बच्चाको बसाइ परिवर्तन भइरहनु वा अस्थिर रहनु, बच्चाको मुख वा निधार पहिला बाहिर आउन खोज्नु, बच्चाको मुख आमाको ढाडतिर फर्केर नरहनु गर्भवती तथा सुत्केरी बेथाका वेला देखिने असामान्य परिस्थिति हुन्। गर्भावस्थाको अन्त्यतिर तल्लो पेट दुख्ने, छोड्ने, हल्का रगत मिसिएको सिंगान जस्तो देखापर्ने, पिसाब जस्तै पानी बग्ने आदि बेथा लाग्नुपूर्वका लक्षण देखिन सक्छन्।

उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या, मिर्गौलाको खराबी, मूत्रनली संक्रमण, थाइरोइड ग्रन्थीमा घटबढ, छारेरोग, रक्तअल्पता, हेपाटाइटिस, यौनरोग, एचआईभी/एड्स, क्षयरोग, दम, संक्रामक तथा परजीवीजन्य रोग, औलो र शल्यक्रियाको आवश्यकता पर्ने कतिपय पेटदुखाइ आदि गर्भावस्थासँगै हुनसक्ने अन्य समस्या हुन्। पेटभित्रै बच्चा मर्ने, सुत्केरी बेथापूर्व पानी फुट्ने, महीना नपुग्दै बेथा लाग्ने समस्या पनि गर्भावस्थामा देखिन सक्छन्। सामान्यतया मानिसको गर्भ अवधि ४० हप्ता (२८० दिन) को हुन्छ। गर्भ ४२ हप्ता (२९४ दिन) भन्दा पछाडि गएमा राम्रो मानिंदैन। औसतमा १० प्रतिशत गर्भवती महिलामा ४२ हप्ता नाघ्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>