ब्लगशुक्रबार, जेठ ९, २०७१
टंकीपालन
मेरा एक मित्र ठगीराम आफ्नो नाम मुताविक साँच्चै किस्मतबाट ठगिएका मान्छे हुन् भन्ने लाग्थ्यो। जोरीपारीको उन्नति देखी औंताएका उनले उद्यमका अनेकन् टोटका अजमाउन किञ्चित अल्छी मानेनन्। तथापि, उनको उन्नति सपनाले सोम शर्माको सातु भन्दा फरक नियति भेट्टाउन सकेन। छठीका दिन भाग्य लेख्ने विधातालाई कोस्दै गाउँबाट अलप भएको छोटो अन्तरालमा भेट्दा उनको ठाँटबाँट र रवाफै भिन्न देखियो। प्रगतिको ‘सर्टकर्ट’ मार्ने औडाहामा मैले उनको उन्नति मन्त्र सोधें।
“यो सब टंकीपालन व्यवसायको कमाल हो”, उनले गजक्क पर्दै भने। “टर्की पालन भनेको?”, मैले सच्याउन खोजें।
“कस्तो ठेउके गफ गर्नुहुन्छ तपाईं? टर्की पाल्दैमा सर्टकर्ट मारिने भए सबै म जस्तै धनी भइहाल्थे”, ठगीरामले खिस्याउँदै भने।
पक्कै कुनै उन्नत जातको पशुपालन हुनुपर्छ भन्ने अनुमानमा म जिज्ञासु भएँ, “यसले के दिन्छ?”
“बाह्रैमास दूध दिन्छ।”
“बाह्रमासे लैनो? के यो जर्सी गाईको नवीन प्रजाति हो?”, मैले विस्मित हुँदै सोधें।
“जर्सी पालेर त फर्सीसम्म खान सकिन्छ महोदय! सर्टकर्ट मार्न टंकीपालन नगरी धर छैन”, उनी र्झ्किए।
मेरो अज्ञानता माथि दया प्रकट गर्दै आफ्नो व्यवसायको स्थलगत अवलोकन गराउन उनी राजी भए। राजमार्ग छेउको बुट्यानबीच रोकेर जमीनतिर अजस्र तेल धारा बहाइरहेका ट्याङ्करहरू देखाउँदै उनले भने, “मेरो टंकी फारम हेर्नुस्!”
“के हुँदैछ अहिले?”
“दुहुने काम हुँदैछ।”
ट्युबलाइट जस्तो झिपिझिपे मेरो दिमाग झ्ल्यास्स बलेको मात्र के थियो प्रहरीले मित्रको व्यावसायिक फारम सिलबन्दी गर्यो। “बर्बाद भो मित्र, के गर्ने अब?” म अत्तालिएँ।
“कोइ गम छैन, पुलिस/प्रशासनको त हामी पुङ्गी बजाइदिन्छौं”, मित्र सहज देखिए।
नभन्दै टंकीपालन व्यवसायीको संगठन हड्तालमा ओर्लियो। ‘पहिले त चोरी, त्यसमाथि सिनाजोरी’ मित्रको दुस्साहसले मलाई थप विचलित बनायो। तर, ज्यानमाराले ज्यान मार्नु जायज हो भन्दै नेपाल बन्द गराएको, ट्याक्सीवालाले मिटर ठग्न पाउने जिरह गर्दै चक्काजाम गराएको, सुन व्यवसायीले तौलमा घपला गर्न पाउने जिकिर सहित बजार बन्द गराएको दृष्टान्त सम्झ्ँदा अलिक राहत महसूस भयो। हडतालको नाम सुन्नासाथ हायलकायल सरकारका प्रतिनिधिले जम्लाहात जोर्दै अनुनय गरे, “हडताल गरेर नवजात सरकारलाई अप्ठेरो नपारिदिनुस्, प्रभु! नत्र…”
“नत्र के?” व्यवसायी मित्रहरू कड्किए।
“अत्यावश्यकीय सेवा ऐन लगाएर यहाँहरूको चैनमा विघ्न पुर्याउने दुस्साहस किमार्थ हुने छैन मान्यवर, सातो नखाइदिनोस्”, सरकारी प्रतिनिधि पीपलको पात झैं काम्न थाले।
“नत्र के त?”
“भरसक चोरी नगरिदिनुस् भन्ने पुरानो बिन्ती दोहोर्याएर बिसाउँछौं”, लल्याकलुलुक परेका सरकारी प्रतिनिधिले दण्डवत्को शैलीमा भने।
करिबन सहमति जुट्ने छाँट देखियो। तर, बित्थाको फत्तुर लगाउँदै छापामारी गरेर ट्याङ्कर पालक व्यवसायीको प्रतिष्ठामा आँच पुर्याएबापत सरकारले माफी माग्नुपर्ने माग राखियो। मिडियाले मसला बनाउने आशंकाका कारण सरकारी प्रतिनिधि असमञ्जसमा परे। व्यवसायी टसमस भएनन्। व्यवसायीको प्रतिष्ठा सकल फर्काउन लामो माथापच्ची पश्चात् बीचको बाटो निकाल्दै सहमतिको खेस्रा तयार पारियो।
१. प्रकृतिसँग लुछ्न मात्र जान्ने लुछाह प्रवृत्तिबाट भूमिगत सम्पत्ति सिरिखुरी हुँदा समृद्धिको शिखर आरोहण गरिरहेको मानव सभ्यता ढुन्मुनिंदै हरितन्नम् होला कि भन्ने मनासिव चिन्ता पर्यावरणवादीले जाहेर गरिरहेको पृष्ठभूमिमा केही ‘प्रतिष्ठित व्यापारी’ ले प्रकृतिबाट दोहन गरिएको पेट्रोलियम भू–गर्भमै थन्क्याएर विश्वसामु अनुकरणीय दृष्टान्त प्रस्तुत गरेका छन्।
कार्वन व्यापार मार्फत खर्ब कुम्ल्याउने बकुध्यानमा लागे’नि सरकारी प्रयासले नेपाली युवा अरब धपाउने बाहेक वाञ्छित सफलता हासिल गर्न नसकिरहेको वेला पेट्रोलियम आपूर्ति ठप्प पारी वातावरण संरक्षणमा टेवा पुर्याई सरकारको होस्टेमा हैंसे थप्ने व्यवसायीहरूको उच्च मूल्याङ्कन गर्दै कदर–पत्र प्रदान गर्न चुरे जोगाउन अक्षम हाम्रो लुरे सरकार सहमत भएको छ।
२. शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने प्रयास चलिरहेको वेला व्यवसायी, कर्मचारी, नेता एवम् प्रशासनद्वारा मिलिजुली संचालित उद्यममा छापा मार्दै व्यावसायिक शान्तिमा खलल पुर्याउने कार्यमा संलग्न उरन्ठेउला प्रहरीलाई नसिहत दिनुका साथै व्यवसायीहरूको पूर्वसम्मति बेगर आइन्दा छापा नमार्न सख्त निर्देशन दिन दुवै पक्ष मञ्जुर भयौं।
३. उपभोक्ता अधिकारवादीले दुई–चार दिन ङ्यार–ङुरको औपचारिकता पूरा गर्दै मौन सम्मति जनाउन छद्म हस्ताक्षर गर्ने भद्र सहमति पनि यसै साथ गरियो।
सहमति मस्यौदाप्रति व्यवसायी सकारात्मक देखिएकोमा सरकारी प्रतिनिधिले राहतको उच्छ्वास लिए। आपूर्ति सहज भएकोमा दङ्ग परेका हामी उपभोक्ता पनि कृतज्ञ हुँदै चिच्यायौं– जय सहमति!
साप्ताहिक खबरपत्रिका हिमालबाट