ब्लगसोमबार, जेठ १२, २०७१
हजुरबाको आमा बन्दा
चार बर्षअघि केही नयाँ काम गर्ने सोचले अर्किड केयर होम थाल्दा योसँग यति भावनात्मक निकटता गाँसिएला भन्ने मैले सोचेको थिइन । नयाँ र चुनौतिपूर्ण यो काम यहाँ आवश्यक छ भनेर मात्र मैले सुरु गरेको थिएँ । तर, अहिले मसँगै मेरा २४ सहयात्रीको योसँग छुट्नै नसक्नेगरी भावनात्मक सम्बन्ध गाँसिइसकेको छ ।
शुल्क तिर्न सक्ने छोराछोरीका बुबाआमालाई स्याहार र उपचार गर्न खोलिएको अर्किड केयर होममा अहिलेसम्म सयौंले सेवा लिइसक्नु भएको छ । शुल्क तिरेर सेवा लिएको भएपनि उहाँहरुले मलाई आफ्नै परिवार बराबर मायाँ र अपनत्व दिनुभएको छ ।
म नपुग्दा खोई भनेर सोध्नु हुन्छ, पुग्दा आफ्ना समस्या र भोगाई भन्नु हुन्छ । यस्तो अपनत्व पाएकाले म पनि बाहिरका काम हतारहतार सकेर त्यहाँ पुग्छु र उहाँहरुको सेवामा आफूलाई लगाउँछु ।
नशा, हाडजोर्नीको समस्याले प्यारालाईसीस भएका र अल्जाइमर तथा डिमेन्सीया जस्ता रोग लागेका बृद्ध बुबाआमाहरु यहाँ आउनु हुन्छ । साधनश्रोत पर्याप्त भएपनि बुबा आमालाई समय दिन नसक्ने छोराछोरीले बुबाआमालाई यहाँ ल्याउनु हुन्छ ।
बृद्ध र बिरामी बुबाआमालाई यस्ता केयरहोममा राख्ने चलन बिदेशमा पहिलेदेखि नै रहेको भएपनि नेपाली समाजले अझै यसलाई पूर्णरुपले स्विकारेको देखिदैन । बुबाआमालाई यस्ता केयरहोममा पठाउँदा समाजले हेला गरेको ठान्ला भन्ने सोच अझै कतिपयमा छ । समाजले औलो ठड्याउला भनेर उचित हेरचाह र उपचार दिननसक्दा पनि घरमै बुबाआमालाई राख्ने कयौं छोराछोरी छन् ।
तर, बुबाआमाप्रति जति नै श्रद्धा र मायाँ भएपनि उपचार गर्ने तरिका र ज्ञान नहुँदा बिरामी र बृद्ध बुबाआमालाई उपचार गर्न गाह्रो हुन्छ । कति बेला कसरी औषधी र उपचार गर्ने हो थाहा हुदैन । थाहा भयो नै भने पनि घरमा सबै उपकरण हुदैनन् । ति सबै हुँदा पनि समय हुदैन ।
घरमा जति नै आदर र मायाँ दिएर राख्दा पनि बृद्ध बुबाआमालाई एक्लोपन महशुस हुन्छ । छोराछोरी काममा र नातिनातिना पढ्न जाँदा उहाँहरु एक्लो पर्नुहुन्छ । तर, यस्ता केयरहोममा भने उस्तै उमेर र अवस्थाका अरु पनि हुने भएकाले सुखदुख र भावना साटासाट गर्ने मौका मिल्छ । त्यसो हुँदा उहाँहरुको पिडा पनि धेरै घट्छ ।
सुरुमा यी सबै बुझाउन नसक्दा बुद्ध र बिरामी बुबाआमाका छोराछोरीको बिश्वास जित्न निकै गाह्रो भएकोमा अहिले यो केयरहोमको सेवाबारे बिस्तारै सकारात्मक धारणा विकाश हुँदै गएको छ । त्यसैले अहिले नाम सुनेको भरमा मेचीदेखि महाकाली सम्मका मात्रै नभएर छिमेकी मुलुक भारतको दार्जिलिङका बुबाआमाहरु पनि आउन थाल्नु भएको छ ।
उहाँहरुले यहाँ पाउनुभएको घरायासी वातावरण र आत्मिएताले उहाँहरु जस्तै अरु बुबाआमाहरुलाई पनि तान्न थालेको छ ।
यि कारणहरुले सुरुमा कयौंले नपत्याएको मेरो कामले बिस्तारै सफलता पाउँदैछ । बुद्ध र बिरामी बुबाआमाहरुले आशिर्बाद दिनुभएको थाहा पाएर परिवार र आफन्तले पनि छोरी राम्रो काममा लागेकी रहिछ भन्ने थालेका छन् ।
चार वर्ष यतादेखि दशैं, तिहार, होली, आमाको मुख हेर्ने औंशी जस्ता महत्वपूर्ण चाडमा मेरो अधिकांश समय यहीँ बित्नेगरेको छ । उहाँहरुबाट टिका लगाउँदा, उहाँहरुलाई टिका लगाईदिँदा र उहाँहरुसँग होली खेल्दा म आनन्दको अर्र्कै संसारमा पुग्न थालेको छु । त्यस्तो बेला बुद्ध र बिरामी बुबाआमाको अनुहारमा देखिने खुसी र हाँसोले मलाई अकल्पनीय आनन्द दिनेगरेको छ ।
रेखदेख, उपचार र मायाँ दिएकाले होला कहिलेकाहीँ असी नाघेका बुबाआमाले मलाई आमा भन्दै आदर व्यक्त गर्नुहुन्छ । ‘आमा, तपाई नभएको भए हामीलाई धेरै गाह्रो हुन्थ्यो’ उहाँहरुको भनाई हुन्छ । त्यस्तो बेला मैले थाहै नपाई मेरो आँखा भरिएको हुन्छ । खुसी र गर्वको त गणना नै हुँदैन ।