ब्लगबुधबार, जेठ १४, २०७१
चल काँवरिया यमुना तट!
ठूलो तम्बुमुनि लाल बस्त्रधारी बाबाजीहरूको मण्डली गम्भीर मन्थनमा लीन छ। आफूलाई अरूभन्दा भिन्न दाबी गर्ने लाल बस्त्रधारीहरू लोकहितका खातिर नै सांसारिक सुख त्याग गरेको बताउँछन्।
लोभ, भोग र सोखबाट निवृत्त भएको जिकिरसहित उनीहरू शोषित, पीडित, गरीब, दुःखीको सेवामै ईश्वरीय सेवा निहित रहने हुँदा मूर्ति पूजा लगायतका धार्मिक प्रचलन केवल ढोङ्ग रहेको कुरा गर्छन्। उनीहरू हरेक साँझ्–बिहान यो कुराको भजनै गाउँछन् भन्नुस्।
गम्भीर मन्थनको खसोखास कारण चाहिं अनुयायीहरूले छाड्दै जाँदा सुकेनासग्रस्त भएको आफ्नो मण्डली विलिने त हैन भन्ने भय रहेको बुझिन्छ। बाबाजीहरूका मुखिया अग्रभागको स्वर्णासनमा गजधम्म छन्।
उनी एकीश्वरवादी, बहु–ईश्वरवादी, अनीश्वरवादी आदि अनेक रूप, रंग र पन्थका बाबाहरूको चोला धारण गर्न सक्ने विशेष दक्षताका कारण स्वर्णासनमा आधिपत्य कायम राख्न सफल छन्। जनसाधारणबीच उनी सप्तरंगी बाबाको रूपमा विख्यात छन्।
सप्तरंगी बाबाको बोलीमा लोली मिलाउन अनुयायीहरूको ठूलो डफ्फा चनाखो भई बसेको छ। केही अनुयायी मुखियाको हुक्के, चिलिमे, छत्रे आदि भूमिकामा तन्मयका साथ डटेका छन्।
मुखियाको राजसी ठाँटबाँटबाट मन कुँड्याएर बसेका मण्डली सदस्यहरू भने उनलाई ‘फाइभस्टार’ बाबा भन्दै कटाक्ष गर्छन्। सप्तरंगीले चिलिमबाट लामो कस तानेर धूवाँका गोला छाड्दै भने, “मेरो मुखाबाट निःसृत वैदिक मन्त्रोच्चारण मिश्रित यो रातो धूवाँ लोककल्याणका लागि उत्तम हो भन्ने सबैको ठम्याइ हुनुपर्छ।”
“सप्तरंगी बाबाको जय!”, अनुयायीहरूले गगनभेदन गरे।
“यो धूवाँ कालै छ भन्नेमा कुनै भ्रम नरहोस्”, असन्तुष्ट डफ्फाका मुख्य बाबाजी पनि कुर्लिए।
“नानाभाँती कुरा गरेर सधैं अलमल्याउने तपाईं अङ्खोटे बाबा चूप लाग्नुस्!”, सप्तरंगी बाबा चर्किए, “हाम्रो मण्डली उँभो लगाउने हो भने अझ् निक्खर रातो धूवाँ फैलाउन सनातनी चिलिम नसमाती धर छैन।”
“कोइलीको अण्डा कोरल्ने कागको वंश बढ्दैन”, बेखुस बाबा च्याँट्ठिए, “पारि मैदान मारिरहेका केजरी बाबाले गाउने सुपरहिट गीतको टुकडा र हाम्ले भट्याउने सदाबहार भजनको मुखडा फ्युजन नगरुञ्जेल जतिसुकै दुखडा रोए’नि पार लाग्नेवाला छैन। यसका लागि तपाईंले मार्गप्रशस्त नगरी हुन्न।”
“अर्काको गाथगादी ताक्ने तिमी जोगी नभई भोगी हौ भन्ने हाम्रो ठम्याइ छ”, स्वर्णासनमा सप्तरंगी तिल्मिलाए।
“परम्परागत लालबस्त्रले एलर्जी भई मण्डली रित्तिन लागेकाले छड्के टोपीवाल केजरी बाबाले झैं अनुयायी रत्याउन श्वेतबस्त्र धारण गर्नुको विकल्प छैन, अब।” तर, सप्तरंगी पक्षका अनुयायीहरूले धर्मभ्रष्टको आरोप लगाएपछि बेखुस बाबा नयाँ मण्डली निर्माणको सिद्धि प्राप्त गर्न कैलाश यात्रामा गए।
एकाग्र चित्तले ध्यानमा मग्न हुँदा केजरी बाबाको नयाँ मण्डली अखडामा गेरु बस्त्रधारी बड्के बाबाहरूसामु पाहा झैं पछारिएको गोचर भयो। भुईंको सोहोर्न खोज्दा पोल्टाकै चुरिझयाप हुने देखेर विलखबन्दमा परेका बेखुस बाबाजी ठिक्क पारेका श्वेतबस्त्र उतै छाडी फर्किए।
यता अनुयायीहरू उपियाँ झैं फड्किन थाले’सी मुखियाको आसन र तम्बु मात्र बाँकी रहने हो कि भन्ने पिरलोमा परेका सप्तरंगी बाबा असन्तुष्टहरूका लागि यथोचित आसनको प्रबन्ध गरिदिन राजी भए। असन्तुष्टहरू तम्बुमा फर्किएपछि चिलिमको लामो सर्को मार्दै सप्तरंगीबाट सोधनी भयो, “यो धूवाँको रंग कस्तो छ?”
“अहिले त रातोरातै देखियो”, बेखुस बाबा खुस भाकामा बोले, “तर, अब हावा बदलिएकाले रातो धूवाँले पात हल्लाउला भन्ने लाग्दैन। मौसम अनुसार गेरुमा रंगिएर पारिपट्टि छाएका बड्के बाबाजीलाई पहिल्यै बधाई सन्देश पठाइहालौं।” “त्यतिको भरमा विपरीत पन्थका बड्केको सान्निध्य सम्भव होला र?”, एक बाबाजीले संशय प्रकट गरे।
“वागमतीको पानीमा सावरमतीको जल मिसाएर यमुना तटमा आचमन गरे’सी कसो आशीर्वाद नपाइएला?”, कसैले जुक्ति फुरायो।
सबै बाबाजी लालबस्त्रमा गेरु रंग घस्दै गुन्गुनाउन थाले, “चल रे काँवरिया यमुना तट!”