टिप्पणीबिहीबार, जेठ १५, २०७१

जन्डिसको कारण

डा. सुमनराज ताम्राकार

मानिसको रगतमा बिलिरुबिनको मात्रा दुई मिलि ग्रामभन्दा बढी भएपछि आँखाको सेतो भाग पहेंलो देखिन थाल्छ। यस्तो पहेंलोपनलाई मेडिकल भाषामा जन्डिस भनिन्छ। त्यसो त हेपाटाइटिस अर्थात् कलेजोको संक्रमणले पनि जन्डिस हुन सक्छ र ६ महीनाभन्दा लामो हेपाटाइटिसलाई जीर्ण रोग मानिन्छ।

मौसम अनुसारको भाइरल हेपाटाइटिस (ए, ई, जी) लागेर, पित्तथैली वा पित्त बहने नलीमा पत्थरी भएर, रगत लिंदा समूह नमिलेर, बढी गर्मी हुने ठाउँमा औलो संक्रमण बिग्रेर, जीर्ण हेपाटाइटिस भएका र कलेजोमा ट्युमर पलाएकाहरूमा पनि जन्डिस देखा पर्न सक्छ। गर्भावस्थामा भने कलेजोमा पित्त बहने नली थुनिएर, उच्च रक्तचाप भएर, कलेजोमा बोसो जम्दा, उल्टी आउने कडा खालको समस्या हुँदा र शरीरभरिको रक्तनलीमा रगत जमेर जन्डिस हुन सक्छ।

भाइरल हेपाटाइटिसको मूल कारण भने फोहोर वातावरण, अशुद्ध पानी र खाना नै हो। हेपाटाइटिस ‘ए’ देखि ‘जी’ सम्मका हुन्छन्। हेपाटाइटिस ए दूषित खाना–पानीबाट सर्छ। कलेजो सुन्निने हेपाटाइटिस ई फोहोर वातावरणमा फैलन्छ। गर्भावस्थामा हेपाटाइटिस–बी र ईले सबभन्दा बढी आक्रमण गर्छ। हेपाटाइटिस–ई भएका १५ देखि २० प्रतिशतसम्म गर्भवतीको मृत्यु भएको पाइएको छ।

हेपाटाइटिस–बी चाहिं संक्रमित रगत, निर्मलीकरण नगरिएको सुई, असुरक्षित यौन सम्पर्क र संक्रमित आमाबाट बच्चामा सर्न सक्छ। हेपाटाइटिस बी पहिलो त्रैमासिकमा १० प्रतिशत र तेस्रो त्रैमासिकमा ९० प्रतिशतसम्म सर्ने सम्भावना हुन्छ। हेपाटाइटिस बी लागेको लक्षण विरलै देखिन्छ। हेपाटाइटिस सीको समस्या हेपाटाइटिस बीको जस्तै भए पनि मुख्यतः रगतबाट सर्छ। हेपाटाइटिस जीर्ण हुनु र कलेजोले काम नगर्नुको मुख्य कारण हेपाटाइटिस–सी हो। यसैगरी, हेपाटाइटिस डी हेपाटाइटिस बीसँगै लाग्छ र समस्यालाई जटिल बनाइदिन्छ। हेपाटाइटिस जी हेपाटाइटिस सीसँग बढी सम्बन्धित छ। हेपाटाइटिस जी हेपाटाइटिस ए, बी, सी र एचआईभी संक्रमणसँगै लाग्छ।

पहेंलोपन हुनाको दोस्रो मुख्य कारण कलेजोभित्र पित्तनली थुनिएर हो। पित्तनली थुनिंदा जन्डिस मात्र पनि देखिन सक्छ। त्यस्तो वेला आलस्य हुने, वाक्वाकी लाग्ने, जीउ चिलाउने आदि लक्षण देखा पर्छ।

रोकथाम र उपचार

वातावरणीय तथा व्यक्तिगत सरसफाई अन्तर्गत साबुन पानीले हात धुने, राम्ररी उमालेको पानी पिउने, घर वरिपरि सफा राखेर हेपाटाइटिस ए र ई जस्ता संक्रामक रोगबाट जोगिन सकिन्छ। हेपाटाइटिस बी, सी, डी र जीबाट बच्न निर्मलीकृत सुई र स्त्रि्कन गरेको रगतको प्रयोग तथा सुरक्षित यौनको बानी बसाल्नुपर्छ। हेपाटाइटिस बीको दृष्टिले जोखिमपूर्ण काम गर्ने व्यक्तिहरूले पहिल्यै यस विरुद्ध खोप लिनुपर्छ। गर्भकालमा हेपाटाइटिस बीबाट संक्रमित भएका आमाले प्रसूतिपछि नवजात शिशुलाई हेपाटाइटिस–बी विरुद्ध खोप र इम्युनोग्लोबुलिन दिनुपर्छ।

उपचारको क्रममा धेरै आराम गर्ने, छुट्टै कोठामा बस्ने, पोषिलो खाना खाने, ग्लुकोज पानी प्रशस्त पिउने, उखु, काँक्रो, खरबुजा खाने गर्नुपर्छ। तारेका, भुटेका भन्दा उसिनेका खानेकुरा खानुपर्छ। घिउ, तेल, बोसोबाट टाढै बस्नुपर्छ, तर गाउँघरमा भन्ने गरिए जस्तो नुन बार्नु पर्दैन। जन्डिस भएकाले मादक पदार्थ सेवन गर्नु भनेको आत्मघात हो। कलेजोलाई असर गर्ने कुनै पनि औषधि सेवन गर्नुहुँदैन। घरेलु उपचारबाट सुधार आएन भने तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ।

जन्डिसको समस्यामा आयुर्वेदिक उपचारको आफ्नै महत्व होला, तर यो नै एक मात्र समाधान होइन। जटिल परिस्थितिमा अस्पतालमा राखेर स्लाइन पानी चढाउनुपर्ने हुन्छ।

जन्डिसको उपचारको क्रममा पटक–पटक रगतमा बिलिरुबिनको मात्रा जाँचिराख्नुपर्छ। कलेजो र पित्तका नली सम्बन्धी जानकारीका लागि अल्ट्रासाउन्ड पनि गराउनुपर्छ। कलेजोको कामगराइ थाहा पाउने समुचित रगत जाँच (लिभर फंक्शन टेष्ट) पनि गराउनुपर्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>