रिपोर्टबिहीबार, जेठ १५, २०७१

त्रिवि सेवा आयोगः लाचार छाया

हिमालखबर

– रामजी दाहाल

जेठ पहिलो साता त्रिवि सेवा आयोगको कार्यालयमा प्राध्यापक र सह–प्राध्यापकको फारम बुझाउनेहरूको तँछाडमछाड थियो। सेवा आयोगले पदपूर्तिका लागि ३० फागुन २०७० मा गरेको विज्ञापन अनुसार ८ जेठ २०७० फारम बुझाउने अन्तिम दिन थियो। नक्कली कागजपत्र समयमै तयार पार्न नभ्याउँदा अन्तिम समयमा भीड बढेको थियो।

त्रिविका एक अधिकारीका अनुसार, प्राध्यापक र सह–प्राध्यापकका प्रतिस्पर्धीले रातारात पुरानो मिति राखेर किताब तथा जर्नल प्रकाशित गरेर पेश गरेका छन्। परीक्षामा लेख, रचना, पुस्तक तथा अनुसन्धान कृतिका लागि ३२ अंकसम्म पाइन्छ। पत्रकारिताका प्राध्यापक पी खरेल नियमित प्रकाशित हुने जर्नल पनि व्यक्तिविशेषको लेख राख्न हप्तौंसम्म ढिला भएको जानकारीमा आएको बताउँछन्।

जर्नलको दुरुपयोग

त्रिवि सेवा आयोगले पदपूर्तिको विज्ञापन गरेपछि अनुसन्धान महाशाखाद्वारा प्रकाशित ४१० पृष्ठको जर्नल।

विश्वविद्यालय वा शैक्षिक संस्थाबाट निश्चित समयमा प्रकाशित हुने प्राज्ञिक म्यागजिन हो– जर्नल। सम्बन्धित क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता र प्राध्यापकहरूको अध्ययन–अनुसन्धानबाट तयार हुने जर्नल सामान्य पाठकका लागि नभई विज्ञ र सम्बन्धित विषयका विद्यार्थीका लागि हो। त्रिवि सेवा आयोगमा भने प्राध्यापक, सह–प्राध्यापक र उप–प्राध्यापक पदका लागि दरखास्त दिएका अधिकांशले जर्नल प्रकाशनको सामान्य सिद्धान्त समेत ख्याल नगरी चोरीका सामग्री जुटाएर आफ्नो नाममा प्रकाशित गरी पेश गरेका छन्।

यसक्रममा, त्रिवि अनुसन्धान महाशाखाले प्रकाशित गरेको जर्नल समेत विवादमा परेको छ। जर्नलका सम्पादक महाशाखा प्रमुख प्रा.डा. तारादत्त भट्ट हुन्। नेपालकै आधिकारिक प्राज्ञिक जर्नल भएकोले यसमा लेख–रचना प्रकाशित गर्ने प्रतिस्पर्धा हुन्छ। त्रिविका एक विभागीय प्रमुखका अनुसार, दुईसाताअघि मात्र आएको पछिल्लो जर्नलमा प्रकाशन मिति डिसेम्बर २०१३ राखिएको छ। हरेक वर्ष प्रकाशित हुने यो जर्नल सय पृष्ठ हाराहारीको हुन्थ्यो। तर, यसको पछिल्लो अंक ४१० पृष्ठको छ र यसमा ४३ वटा लेख समावेश छन्।

यति मात्र होइन, राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरबाट प्रकाशित भन्दै नक्कली जर्नल बनाएर पेश गर्ने प्रवृत्ति पनि बढेको छ। बढुवामा पेश गर्ने प्रयोजनका लागि तयार पारिने जर्नल स्नातकोत्तर तहको थेसिस बिक्री गरे जसरी रु.१० हजारसम्ममा किनबेच गर्न कतिपय प्राध्यापक नै संलग्न भएको बताइन्छ। पूर्व उपकुलपति केदारभक्त माथेमा सेवा आयोगले राजनीतिक आस्था र चोरीका सामग्रीलाई मान्यता दिंदै जाने हो भने त्रिविप्रतिको अन्तर्राष्ट्रिय साख गुम्ने बताउँछन्। माथेमा भन्छन्, “यही ताल हो भने योग्यहरूले त्रिविको नाममै नाक खुम्च्याउने दिन आउनेछ।”

नक्कली जर्नल र पुस्तक पेश गरेर प्राध्यापक वा उप–प्राध्यापक भएकाहरूबाट स्तरीय प्राध्यापनको आशा गर्नु नै व्यर्थ हुने पूर्व उपकुलपति माथेमा बताउँछन्।

राजनीतिको असर

त्रिविका पदाधिकारी नियुक्तिमा हुने दलीय भागबण्डाको असर उप–प्राध्यापक तहसम्मै परेको गुनासो स्वयं प्राध्यापकहरूको छ। शिक्षाविद् डा. विद्यानाथ कोइराला त्रिवि सेवा आयोगका तर्फबाट मूल्यांकन समितिमा राखिने प्राध्यापकहरू नै दलीय भागबण्डाबाट आउने आम गुनासो रहेको बताउँछन्। त्यस्ता प्राध्यापकहरू उम्मेद्वारहरूले पेश गरेका चोरीका पुस्तक र जर्नलप्रति मौन बस्छन्। सेवा आयोगका अध्यक्ष ईश्वरचन्द्र दत्त भने प्राध्यापक नियुक्ति जस्तो विषयमा भागबण्डाको प्रश्नै नआउने बताउँछन्।

शिक्षाविद् डा. कोइरालाका अनुसार, विगतमा कतिपयले अन्य व्यक्तिको थेसिसलाई किताबको आकारमा छापेर तथा कतिले अरूको पुस्तकको कभर फेरेर आफू नै लेखक भएको भनी पेश गरेका थुप्रै दृष्टान्त छन्। अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएको भन्दै पेश गरेका लेखहरूको वास्तविकता बुझने प्रयास समेत सेवा आयोगले नगरेको कोइरालाको भनाइ छ। त्यस्ता सामग्रीमा शंका लागेमा सेवा आयोगले सम्बन्धित विभागमा पठाएमा त्यसको आधिकारिकता बुझन नसकिने होइन। “तर, आजसम्म त्यस्तो काम भएको छैन”, डा. कोइराला भन्छन्।

सेवा आयोगका अध्यक्ष दत्तले भने नक्कली कृति पेश गरे/नगरेको कुरा परीक्षाका वेला मात्र थाहा हुने बताए।

नियुक्ति प्रक्रियामा रहेका प्राध्यापक, सह–प्राध्यापक र उप–प्राध्यापकमाथि त्रिवि ठूलो भर पर्नु स्वाभाविक हो। नियुक्त गर्नुअघि उनीहरूको योग्यताको सवालमा कुनै किसिमको सम्झ्ौता गरेमा विश्वविद्यालय कमजोर हुन्छ। डा. कोइराला त्रिवि सेवा आयोगले यो वेला उम्मेद्वारहरूको क्षमतामा विशेष ध्यान दिनुपर्ने बताउँछन्। हजारौं विद्यार्थी पढाउने शिक्षकको छनोट चुस्त ढंगबाट हुनुपर्ने बताउँदै पूर्व उप–कुलपति माथेमा भन्छन्, “आयोगले कसैको दबाबमा नभई निष्पक्ष ढंगले सक्षम र योग्य व्यक्ति छान्नुपर्छ।”

दक्ष जनशक्ति नियुक्तिमा धेरै हदसम्म सुधार गरिएको बताउने सेवा आयोगका अध्यक्ष दत्त अझ्ै केही सुधारको खाँचो देख्छन्। यसबारे त्रिविका पदाधिकारीहरूलाई जानकारी गराइसकिएको उल्लेख गर्दै उनले भने “कतिपय कुराहरू रातारात सुधार गर्न सकिंदैन, केही समय पर्खनै पर्छ।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>