व्यक्तित्वआइतबार, भाद्र २४, २०६९

विदेशमा व्यापार फैलाउँदै युवा

हिमालखबर

तस्बीर:मीनरत्न बज्रचार्य/हिमाल

बर्गर किङ, केएफसी, पिजा हट, सबवे जस्ता अन्तर्राष्ट्रिय ब्राण्ड होस् वा स्वदेशको स्थापित नाङ्लो बेकरी वा एन्डिज्; अब नेपालीहरूका लागि नौलो रहेन् । तर, एक नेपाली युवकले रेस्टुरेन्ट व्यवसायमा चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड सबवे का मालिकद्वय फ्रेड डी लुका र डाक्टर पिटर बकलाई पछ्याइरहेको सुन्दा चाहिँ अपत्यारिलो लाग्न सक्छ । हो, गुल्मीको अनकन्टार गाउँ वानीमा जन्मिएका अर्जुन सापकोटा (३३) ले युरोपेली मुलुक चेक गणतन्त्रमा त्यो जमर्को गरिरहेका छन् ।

सन् १९६५ मा संयुक्त लगानीमा खुलेको विश्वकै सबैभन्दा धनी सबवे रेस्टुरेन्ट समूहले वार्षिक दश अर्ब डलरको कारोबार गर्ने गरेको छ । अमेरिकी राज्य कनेक्टिकटको मिलफोर्डस्थित सबवे को विश्वका ९१ मुलुकमा ३३ हजार ४८ रेस्टुरेन्ट सञ्जाल छ । र, वानीमा हुर्किएका अर्जुन अमेरिकाका लुकाले पारिवारिक मित्र बकसँग एक हजार डलर सापटी लिएर खोलेको सबवे रेस्टुरेन्टको सफलताबाट प्रेरित छन् ।

जीवनमा केही गर्ने धोको लिएर राजधानी झरेका अर्जुनले २३ वर्षको उमेरमा व्यवस्थापनमा स्नातक उत्तीर्ण गर्दा मुलुक हत्या–हिंसाको चपेटामा थियो । शृङ्खलाबद्ध हिंसाले अवसरहरूलाई ओझेलमा पारिदिएको बेला दाजु कृष्ण सापकोटाले चिकित्सा विज्ञानको छात्रवृत्ति पाएपछि अर्जुनले पनि सन् २००० मा चेकगणतन्त्रको बाटो पहिल्याए । उनी भन्छन्, “त्यसताका चेकको स्थिति पनि नेपालको भन्दा धेरै राम्रो चाहिँ थिएन् ।”

भाषा, समाज र परिवेशजनित अप्ठ्यारोमै उनले एउटा रेस्टुरेन्टमा काम गर्न थाले । त्यही समयमा सबवे मालिक फ्रेड डी लुका र डाक्टर पिटर बकको जस्तै अर्जुन र छत्र अधिकारीको भेट भयो । त्यसको एक वर्षमा सरसापट गरिएको ३० लाख क्राउन (करिब ८० लाख रुपैयाँ) बाट यी दुई नेपालीले राजधानी प्रागबाट करिब १०० किमि टाढाको चेस्के बुडेयोभिच्छे शहरमा गेटवे अफ इण्डिया नामक रेस्टुरेन्ट खोले । नेपाली नामको मोह हुँदाहुँदै पनि युरोपमा भारतीय परिकारको लोकप्रियतालाई हेरेर रेस्टुरेन्टको नाम यस्तो राखियो । अर्जुन भन्छन्, “खोजखाजबाट जुटेको त्यत्रो लगानी डुब्ने डरले भारतीय नाम जुरायौं ।”

र पनि, पहिलो दुई वर्ष घाटामै गयो । त्यसले ल्याएको निराशामा अर्जुन अवसर खोज्न लण्डन हान्निए । तर, त्यहाँभन्दा पहिला काम थालेकै ठाउँमा भविष्य देखे । त्यसैले चेस्के बुडेयोभिच्छे नै फर्के मेहनतलाई दोब्बर बनाए । प्रचारप्रसारसँगै स्वाद र परिकारमा फेरबदल गरे । नभन्दै, दोस्रो वर्षदेखि स्थितिमा परिवर्तन देखिन थाल्यो । त्यही वर्ष उनी चेस्के बुडेयोभिच्छेबाट ५० किमि टाढाको उस्ती नाडलावेभ र इन्द्रीखोभ ह्राडेज नगरमा दुईवटा रेस्टुरेन्ट थप्न सफल भए । अहिले यी तीन रेस्टुरेन्टमा रोजगारी पाउनेमध्ये ३३ जना नेपाली छन् । अर्जुन भन्छन्, “नेपाली दाजुभाइले रु.४० हजारदेखि रु.१ लाखसम्म तलब पाइरहेका छन्, तीनवटै रेस्टुरेन्टको मासिक कारोबार रु.१ करोड पुगेको छ ।”

अहिले उनी अर्को चेक शहर पिल्जेनमा चौथो रेस्टुरेन्ट खोल्ने तयारीमा छन् । कसरी व्यवस्थापन गरिरहेका छन् त उनले व्यवसायलाई ? यसको जवाफमा उनी आफ्ना सहयोगी नेपाली दाजुभाइ नै भएकाले सजिलो भएको र सातामा एकदुई दिन अनुगमन गर्न जाने गरेको बताउँछन् ।

विदेशमा व्यापार फैलाउँदै लगेका अर्जुन देशको माहोल बुझन र गाउँघर घुम्न एक–दुई वर्षको अन्तरालमा नेपाल आउन छुटाउँदैनन् । बसाइँ र व्यवसायले चेक भाषा, संस्कृतिमा आधी भइसकेका उनी नेपालको स्वास्थ्यको क्षेत्रमा केही गर्न चाहन्छन् जुन उनका पिता नीलाम्बर सापकोटाको चाहना पनि हो । त्यही भएर सामान्य स्वास्थ्य सुविधा नपाएर नेपालीहरूले अकालमै ज्यान गुमाएको खबरले उनलाई बढी घचघच्याउने गरेको छ ।

केही गर्न चाहने युवाका लागि प्रेरणा बनेका अर्जुन काम सानो र ठूलो हुन्छ भन्ने सोचाइले धेरैलाई समस्यामा पारेको बताउँछन् । उनको हेराइमा आफ्नो आर्थिक ल्याकतले नभ्याए पनि तडकभडक गर्ने प्रवृत्ति नेपाली युवाको अर्को समस्या हो । त्यसो त अहिले विदेशी भूमिमा उदीयमान उद्यमी अर्जुनलाई विद्यार्थीकालमा फिल्म खेल्ने रहर थियो । त्यसकै लागि उनी जीम पनि धाए र आफूलाई ‘स्टाइलिष्ट’ पनि बनाए । त्यहीबीचमा एउटा विज्ञापन खेल्न भ्याए । रामकृष्ण ढकालको म्युजिक भिडियोमा अभिनय गरे । अहिले व्यवसायी अर्जुनलाई लाग्छ, ती घटनाहरू अल्लारेवयका सोख मात्र थिए ।

अहिलेलाई भने अर्जुनको हातमा आगामी केही वर्षभित्र चेक गणतन्त्रभरि विस्तार हुने बनिबनाउ योजना छ जस्तो कि प्रारम्भका वर्षहरूमा लुकासँग हुने गथ्र्यो । त्यसपछिको प्राथमिकता भनेको समय निकालेर नेपालमा केही गर्ने हो ।

हिमालखबर पत्रिका, असार २०६७

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...