अन्तर्वार्ता/विचारआइतबार, जेठ १८, २०७१
‘राजतन्त्रका विषयमा लचकता अपनाउँछौं’
१३ जेठमा राजधानीमा सम्पन्न राप्रपा नेपालको पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित कमल थापासँग गरिएको कुराकानीः
महाधिवेशनले तपाईंलाई अध्यक्षमा निर्वाचित गर्नुको अर्थ के हो ?
प्रतिकूल राजनीतिक परिस्थितिका बाबजूद नेतृत्वमा रहेर मैले खेलेको भूमिकालाई महाधिवेशनले अनुमोदन गरेको हो । यो मेरो योगदानको सम्मान पनि हो भन्ने लाग्छ ।
अध्यक्षमा विजयी हुँदा कस्तो लागेको छ ?
स्वाभाविक रुपले गौरव र जिम्मेवारीबोध भएको छ । आठ वर्ष पहिलेको राजनीतिक प्रतिकूलताको स्मरण भइरहेको छ । त्यतिवेला हामीले ज्यान हत्केलामा राखेर राजनीति गरेका थियौं ।
महाधिवेशनले के निर्णय गर्यो ?
परम्परागत मूल्य–मान्यता, धर्म–संस्कृति र इतिहासलाई बलियो बनाएर पनि सबल र समुन्नत नेपाल निर्माण गर्न सकिन्छ भन्ने महाधिवेशनको ठहर रह्यो । सनातन हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र र स्थानीय स्वायत्त शासन प्रणाली चाहिन्छ भन्ने निर्णय गर्यौं ।
राप्रपा नेपालले राजतन्त्र पुनस्र्थापनाको मुद्दा चाहिं छाडेको हो ?
हामी राजासहितको प्रजातन्त्रका पक्षपाती हौं । तर त्यसका पनि विभिन्न मोडल छन् । जस्तो, यसअघि नेपालमा भए जस्तो, कम्बोडियाको जस्तो वा बेबी किङ आदि । ८ माघ २०७१ भित्रै नयाँ संविधान जारी गर्ने शर्तमा हामी राजतन्त्रको विषयमा हदैसम्म लचकता अपनाउन तयार छौं ।
त्यसो भए संविधान निर्माणमा तपाईंहरूको सकारात्मक भूमिका रहन्छ ?
संविधानसभामा हाम्रो भूमिका रचनात्मक नै हुन्छ । एक वर्ष भित्रै संविधान बनाउने कुरामा हामी प्रतिबद्ध छौं । आत्मनिर्णयको अधिकार सहितको संघीयताका विभिन्न खतरा हुने भएकाले स्थानीय स्वायत्ततामा जानुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ । विवादित विषय जनमत संग्रह गरेर टुङ्ग्याउन सकिन्छ ।
साप्ताहिक खबरपत्रिका हिमालबाट