रिपोर्टसोमबार, जेठ १९, २०७१

मैदानमा माधव

हिमालखबर

-रामेश्वर बोहरा

अचानक अस्वस्थ भएर अस्पतालमा एक साता बसेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई ७ जेठमा डिस्चार्ज गर्दा चिकित्सकले अरू एकसाता दौडधूप नगर्न, आराम गर्न र धूलोबाट जोगिन सल्लाह दिएका थिए । तर, महाधिवेशनको चटारोले उनलाई एक दिनभन्दा बढी आराम गर्न दिएन । नवौं महाधिवेशनका लागि अध्यक्षमा उठ्ने भएका उनले अस्पताल छाडेको एक साताभित्रै आफ्नो ‘विचार समूह’ ले आयोजना गरेका पाँच वटै विकास क्षेत्र र जनवर्गीय संगठनको भेलालाई सम्बोधन गरे । १७ जेठमा प्यानल सार्वजनिक गरेको नेपाल समूहको देश दौडाहामा निस्कने कार्यक्रम छ ।

१७ जेठमा एमाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल । तस्वीरः आनन्दराम डंगोल

महाधिवेशनका लागि समूह बनाए पनि उनले आफ्नो उम्मेदवारी घोषणा भने १४ जेठ साँझ मात्रै पत्रकारहरू मार्फत गरेका थिए । उक्त भेटमा जितप्रति आत्मविश्वासी देखिएका उनले भने, “राजनीतिक स्थायित्व, सामाजिक विकास र आर्थिक समृद्धि हाम्रो उद्देश्य हो । त्यसैले पार्टीलाई त्यस दिशामा लैजान सही मान्छेको नेतृत्व चाहिन्छ ।”

नेतृत्व हस्तान्तरणको रस्साकस्सी

बुटवलमा भएको आठौं महाधिवेशनमा अध्यक्षमा पराजित अर्का नेता केपी शर्मा ओलीले यसअघि नै अध्यक्षको औपचारिक दावेदारी प्रस्तुत गरिसकेका छन् । उनी अहिले थाइल्याण्डको बैंककमा उपचाररत रहे पनि सहयोगी नेताहरूले भेला र छलफल चलाइरहेका छन् । त्यसै क्रममा ५ जेठमा उपाध्यक्ष विद्या भण्डारीले अध्यक्षमा ओली, वरिष्ठ उपाध्यक्षमा वामदेव गौतम र महासचिवमा ईश्वर पोखरेलसहितको प्यानल घोषणा गरिन् ।

अहिले विधानमा वरिष्ठ उपाध्यक्षको पद नभए पनि महाधिवेशनबाट विधान संशोधन गरी त्यो पद राख्ने ओली समूहको योजना छ । त्यसो नहुँदा पनि सो समूहबाट उपाध्यक्षमा गौतम र विद्या भण्डारी तथा महासचिवमा पोखरेल नै हुनेछन् । अहिले उपाध्यक्षका तीन पद रहेकोमा अर्काे उपाध्यक्ष भने सो समूहले टुंगो लगाएको छैन ।

नेपाल समूहबाट उपाध्यक्षमा युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्य तथा महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार हुनेछन् । सचिवमा ओली समूहबाट विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र धर्मनाथ साहको चर्चा छ भने नेपाल समूहबाट घनश्याम भुषाल, गोकर्ण विष्ट, रघुजी पन्त, प्रकाश ज्वाला र श्रीमाया थकालीको सम्भावना छ । तर, दुवै समूहले सचिवका उम्मेदवार घोषणा गरेका छैनन् ।

यो महाधिवेशनमा ओली समूहले नेतृत्व हस्तान्तरणलाई आफ्नो प्रमुख मुद्दा बनाएको छ । वर्तमान अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता नेपालले पार्टी र सरकारको नेतृत्व गरिसकेकाले उस्तै पृष्ठभूमि र इतिहास भएका ओलीलाई नेतृत्वमा ल्याउनुपर्ने सो समूहको जिकिर छ ।

ओली पक्षका नेता राजन भट्टराई ‘पाँचौं महाधिवेशनदेखि जनताको बहुदलीय जनवादलाई समयानुकूल व्याख्या गर्न नेतृत्वदायी भूमिका खेलेको र मूल नेतृत्वको सहयोगी रहेकाले पुरानो पुस्ताका ओलीलाई मूल नेतृत्वमा पुर्‍याउनु सबैभन्दा उपयुक्त र सहज हुने’ बताउँछन् । “झापा आन्दोलनको पृष्ठभूमिबाट आएका सिनियर नेतामध्ये नेतृत्व गर्न उहाँ मात्र बाँकी हुनुहुन्छ, उग्रवामपन्थ विरुद्ध लड्दै शान्तिपूर्ण बाटोबाट परिवर्तन हुन्छ भन्ने लाइनलाई मुलुक र पार्टीमा स्थापित गराएकाले अध्यक्ष ओली नै हुनुपर्छ” राजन भन्छन् ।

गत माघमा भएको संविधानसभा/संसदीय दलको निर्वाचनमै यो महाधिवेशनलाई लिएर एमालेमा ध्रुवीकरण भइसकेको थियो । आठौं महाधिवेशनमा अध्यक्ष खनालसँग रहेका उपाध्यक्ष गौतम र महासचिव पोखरेलले साथ दिएपछि ओली संसदीय दलको नेतामा विजयी भएका थिए । त्यही वेलादेखि ओली एक कार्यकालका लागि मात्र अध्यक्ष हुने तथा त्यसपछि क्रमशः गौतम र पोखरेलले नेतृत्व लिने चर्चा चलेको छ ।

तर, ओली समूहको यो योजना सफल हुँदा १५—२० वर्षसम्म नयाँ पुस्तामा नेतृत्व पुग्न नसक्ने नेपाल समूहको दाबी छ । यो समूहका नेता योगेश भट्टराई नयाँ पुस्तामा नेतृत्व पुर्‍याउन पुरानो पिंढीबाट अन्तिम व्यक्तिका रूपमा माधव नेपाललाई अघि सारिएको बताउँछन् । “नेपालपछि अर्को पुस्तामा नेतृत्व पुर्‍याउने हाम्रो योजना छ भने अर्को समूहले चाहिं पुरानो पुस्ताकै नेताहरूबीच १५–२० वर्ष भागबण्डा गरिसकेको छ ।”

ओली समूहलाई ‘उत्तेजक’ भन्ने नेपाल समूहको विचारमा ओली अध्यक्ष हुँदा संविधान निर्माणमा एमालेले सन्तुलित भूमिका खेल्न सक्दैन । १२ बुँदेबाट शुरू भएको प्रक्रियाको मर्म, भावना र अन्तरकुन्तर नेपालले बुझेकाले यसलाई टुंगोमा पुर्‍याउन पनि नेपालकै नेतृत्व हुनुपर्ने यो समूहको जिकिर छ । “बदलिंदो भूराजनीतिक र अन्तर्राष्ट्रिय परिस्थितिमा सबैलाई मिलाउन सक्ने सन्तुलित नेतृत्वको खाँचो भएकाले यता वा उता ढल्केका व्यक्तिले पार्टी र राष्ट्रलाई सन्तुलित नेतृत्व दिन सक्दैनन्” योगेश भन्छन्, “नेपाली समाजको चरित्र पूँजीवादी बनिसकेको, २०६२/६३ आन्दोलन जनक्रान्ति रहेको र जनताको बहुदलीय जनवादलाई धर्मग्रन्थका रूपमा नभई मार्गदर्शक सिद्धान्तका रूपमा लिनुपर्ने मान्यता राख्ने अध्यक्ष खनाल पुनः नेतृत्वमा आउने सम्भावना नरहेको र वामदेव गौतम अर्को समूहमा जानुभएकोले माधव नेपाल अध्यक्ष बन्नुपर्छ ।”

यो प्रतिस्पर्धामा दुवैथरी आरोप–प्रत्यारोपमा पनि उत्रिएका छन् । ५ जेठको पत्रकार भेलामा उपाध्यक्ष भण्डारीले ‘माधव नेपालले जंगबहादुरको जस्तो शक्ति लिएर पार्टी सञ्चालन गरिसकेकाले अब उनको पुनरावृत्ति हुन नसक्ने’ बताइन् भने १४ जेठमा पत्रकारसँगको छलफलमा नेपाल समूहका नेता रघुजी पन्तले “केपी ओलीलाई संसदीय दलको अध्यक्ष बनाउँदाको हविगत हामीले भोगिसकेकाले पार्टी जिम्मा दिंदा के होला” भने । नेपाल समूहको भेलामा ‘हाम्रो समूहमा लोकमानसिंह कार्कीका मतियार र भ्रष्टहरूलाई न्यायाधीश बनाउन लविङ गर्नेहरू छैनन्’ पनि भन्ने गरिएको छ ।

खनाल पनि इच्छुक

१० जेठमा विराटनगर पुगेका उपाध्यक्ष गौतमले ओलीलाई जिताउन अध्यक्ष खनाल समेत सहमत भएको बताए । तर, खनालले भने कसैप्रति पनि आफ्नो ‘कमिटमेन्ट’ नभएको बताएका छन् ।

संसदीय दलको निर्वाचनको वेला दलको नेतामा नेपालले खनाललाई सघाउने र महाधिवेशनमा नेपाललाई खनालले सघाउने चर्चा पनि चलेको थियो । यद्यपि, अध्यक्ष खनालको समूह नेता नेपालतिर लागे पनि उनले भने ‘सबैलाई समेट्ने नै भावी अध्यक्ष’ भन्दै आफूलाई ‘तटस्थ’ राखेका छन् ।

त्यसो त दुई समूहको प्रतिस्पर्धा चर्को बन्दै जाँदा सहमतिका नाममा आफू दोहोरिन पाउने खनालको आशा देखिन्छ । नेपाल समूहका योगेश झ्लनाथको नाममा सर्वसम्मत भए आफूहरू तयार हुने बताउँछन् । ओलीपक्षीय राजन चाहिं सर्वसम्मतिमा खनाल हुने सम्भावना रहे पनि निर्वाचन भने उनले लड्न नमिल्ने तर्क गर्छन् ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>