रमझममंगलबार, जेठ २०, २०७१
हलिउडमा उड्दै अमृता
अमृता अभिनित नर्वेली फिल्म ‘आइ आर दिन सन्’ २०१३ मा ओस्कारमा मनोनीत भयो भने २०१४ को शुरुमा रिलिज भएको ‘क्यामफ्लाज’ ले पनि राम्रै व्यावसायिक सफलता पायो, जसमा अमृता प्रहरी अधिकृतको रुपमा मुख्य भूमिकामा छिन्।
गत साल प्रदर्शित अंग्रेजी चलचित्रहरु ‘किस द डेभिल इन द डार्क’ र ‘अमर अकबर एन्ड टोनी’ ले पनि यूरोप–अमेरिकामा अमृताको अभिनेत्री ख्याति बढायो। उनको अर्को अंग्रेजी फिल्म ‘क्युरीआसीटी किल्स’ आउँदो वर्ष रिलिज हुने तालिकामा छ।
लन्डनको एकेडेमी अफ लाइभ एन्ड रेकर्डेड आर्टस् ९एएलआरए० की स्नातक अमृता गत पाँच वर्षदेखि अभिनयको सिलसिलामा यूरोप–अमेरिकाको चक्कर मारिरहेकी छन्।
प्रसिद्ध अनलाइन म्यागाजिन आस्कमेन ले गत वर्ष उनलाई सर्वाधिक रुचाइएका विश्वका ९९ महिलाको सूचीमा ९४औं नम्बरमा राखेको थियो।
अमृता नेपाली बाबु र युक्रेनी आमाकी छोरी हुन्। बाबु गणेश आचार्य नर्वेको ट्रेम्सा विश्वविद्यालयका शिक्षक र आमा लारिस पनि नर्वेमै कार्यरत आर्किटेक्चर इन्जिनियर भएकोले उनको हुर्काइ–पढाइ नर्वेमै भयो।
बाबुको जन्मघर अर्घाखाँचीको खाँचीकोटमा हुने ठूलो पारिवारिक जमघट मन पराउने उनलाई काठमाडौंको बाल्यकालको अलिअलि सम्झना छ। उनी भन्छिन्, “तर मलाई खाँचीकोटमा हजुरबुबा–हजुरआमा सहितको जमघट बढी गजब लाग्छ।”
नेपाली फिल्म बाहेक नेपाली समाज र संस्कृति जान्ने अरु स्रोत आफूसँग कमै भएको उनले बताइन्। जीवनका प्रत्येक क्षणलाई अविस्मरणीय बनाउन चाहने अमृता एकै ठाउँ र विना फिल्म बस्नै नसक्ने बताउँछिन्।
यस्तो बानीबाट अमृतालाई लाभ नै भएको छ। नत्र, उनी यूरोपकी चर्चितमध्येकी एक अभिनेत्री हुने थिइनन्।
गोपाल गडतौला/टेकबहादुर गिरी