Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विचार निर्माताको नेतृत्व: झलनाथ खनाल - Himalkhabar.com

अन्तर्वार्ता/विचारमंगलबार, जेठ २०, २०७१

विचार निर्माताको नेतृत्व: झलनाथ खनाल

हिमालखबर

महाधिवेशनको चटारो शुरू भएको हो?

हो, महाधिवेशनको चटारोले सिंगो पार्टीलाई छोपेको छ। पार्टी अध्यक्ष भएकाले सबैभन्दा बढी मलाई नै छोपेको छ।

महाधिवेशनको मिति तीनपटक सरिसक्यो, अब तोकिएको समयमै होला?

वर्षाले केही असर गरे पनि १९―२५ असारमा महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय कमिटीको संकल्प हो। कुनै प्राविधिक र हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा आयो भने भिन्दै हो। होइन भने राजनीतिक, वैचारिक र संगठनात्मक कारणले सर्दैन।

अहिलेसम्म के कारणले सर्‍यो, र अब सर्दैन भनेर कसरी विश्वस्त हुने?

मुख्यतः व्यवस्थापनकै कारणले सरेको हो। तर, अहिले महाधिवेशनका तीन वटा पक्ष वैचारिक, संगठनात्मक र व्यवस्थापकीय तयारी गरिसकेका छौ। त्यसैले सार्नुपर्ने आधार र कारण म देख्दिनँ।

तर देशको प्रमुख पार्टीको महाधिवेशनमा हुनुपर्ने जस्तो माहोल देखिंदैन नि!

हामीले यो महाधिवेशनलाई शालीन रूपले सम्पन्न गर्न खोजेका छौं। त्यसैले प्रचारप्रसारमा भित्तेलेखन लगायतका तरिकाहरू अपनाएनौं। सञ्चारमाध्यमले आफ्नो तरिकाले प्रचार गर्लान्। हामी चाहिं पार्टीका संगठित तौरतरिकामा सीमित भएर प्रचार अगाडि बढाउँछौं। वर्षाको वेला पनि भएकोले आठौं राष्ट्रिय महाधिवेशन जसरी तामझाम नगरी इन्डोरबाट सम्पन्न गर्ने सोच बनाएका छौं।

आठौंभन्दा नवौं महाधिवेशन के हिसाबमा पृथक् हुनेछ?

आठौं महाधिवेशनमा संगठनात्मक पक्षमा मात्र हामीबीच प्रतिस्पर्धा भयो, वैचारिक मतभिन्नता रहेन। यसपटक विचार, नीति र सिद्धान्तमा पनि भिन्नता हुन्छ भन्ने जस्तो आभास भएको थियो, तर अहिले हामीले तयार पारेको दस्तावेजबाट विचारमा पनि एकता कायम गर्न सक्छौं भन्ने देखिएको छ। अब केन्द्रीय कमिटीले पनि एकरूपताका साथ दस्तावेजलाई पारित गरेमा वैचारिक रूपले एकताबद्ध हुनेछ। महाधिवेशनको संगठनात्मक पक्षमा पनि धेरै विवादित हुनुपर्ने अवस्था म देख्दिनँ। त्यतिवेला भन्दा अहिले पार्टीको शक्ति र पोजिसन बलियो छ। राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति पहिलेभन्दा बदलिएको छ। यी सबै कुराले हाम्रासामु ठूला चुनौती र विराट सम्भावना ल्याएका छन्।

चुनौती र सम्भावना के के हुन्?

पहिलो कुरा, नेपाली समाजको चरित्र बदलिएको छ। हामीले समाजमा रहेको सामन्तवाद र जमिनदारी प्रथालाई विघटन गरेका छौं। समाज प्रारम्भिक रूपको पूँजीवादी बनेको छ। अब स्वच्छन्दतावादी पूँजीवादतर्फ यो समाजलाई जान दिने कि समाजवादी दिशातर्फ लैजाने भन्ने चुनौती छ। यो चुनौती सामना गर्न हामीले कम्युनिष्ट आन्दोलन र नेकपा एमालेलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपले नयाँ ढंगले उठाउन सक्नुपर्दछ।

एकताबद्ध हुनसक्दा मात्र यो पार्टी तलदेखि माथिसम्म सुदृढ हुन सक्छ। यो कार्यभारलाई पूरा गर्न आक्रामक रूपमा अगाडि बढ्नुपर्नेछ। कम्युनिष्ट आन्दोलन अझै पनि विभाजित छ, उग्रवामपन्थी चिन्तन छँदैछ। एमालेको सही कार्यदिशा, नीति र सिद्धान्तमा आधारित भएर हामीले निरन्तर चलाएको वैचारिक, राजनीतिक र सैद्धान्तिक संघर्षले पचासको दशकदेखि शुरू भएको उग्रवामपन्थ धेरै हदसम्म पराजित भए पनि त्यसका असर बाँकी नै छन्।

अर्कातिर, राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा दक्षिणपन्थीहरूको बढोत्तरी भएको हामीले देखिरहेका छौं। यसका कारण राम्रोसँग अध्ययन र विश्लेषण गर्नुपर्छ। दोस्रो संविधानसभाको निर्वाचनमा एमालेको विकास र विस्तार उल्लेखनीय रूपमा भए पनि वामपन्थी मत धेरै घटेको छ। यो तथ्यलाई गम्भीरतापूर्वक लिंदै वामपन्थी शक्तिलाई एकताबद्ध र सशक्त बनाउने चुनौती हाम्रासामु छ। एकताबद्ध कम्युनिष्ट आन्दोलनले मात्र यी चुनौती सामना गर्न सक्छ।

तपाईंले भर्खरै नेपालको उग्रवामपन्थलाई लिएर चीनमा भ्रम रहेको तथा त्यसलाई आफूले चिरेको बताउनुभएको थियो। वास्तविकता के हो?

नेकपा एमाले (तत्कालीन माले) ले चिनियाँ कम्युनिष्ट पार्टीसँग सत्तरीको दशकको अन्त्यदेखि सम्बन्ध राख्दै आएको छ। तर, पछिल्लो कालमा नेपालमा उत्पन्न भएको उग्रवामपन्थी भड्कावले नेकपा एमालेको बारेमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) मा विभिन्न भ्रम उत्पन्न गरेको थियो।

एमाले मार्क्सवाद–लेनिनवादबाट चिप्लिएको, बढ्ता सुधारवादी भएको तथा वास्तविक क्रान्तिकारी चाहिं उग्रवामपन्थी भड्कावले ग्रस्त पार्टीहरू रहेको भ्रम सीपीसीमा परेका थिए। मैले यो भ्रमणमा हाम्रो पार्टी के हो, कसरी जन्मेर विकसित भयो, हाम्रा कार्यदिशा, नीति र सिद्धान्त के हुन्, हामी राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशलाई कसरी हेर्छौं, एमालेले मार्क्सवाद–लेनिनवादका सिद्धान्त र आम सिद्धान्तहरूलाई कसरी स्वतन्त्र र सिर्जनात्मक रूपले नेपाली समाजमा लागू गर्दैछ र कसरी नेपाली क्रान्तिमा आफ्नै सिद्धान्तहरू विकसित गर्दैछ भन्नेबारे सविस्तार जानकारी गराएँ। त्यसपछि उहाँहरूले स्पष्ट भएको बताउनुभयो।

यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ मजबूत बनाउने र भविष्यमा हुनसक्ने सहयोगलाई अझ विस्तार गर्ने आधार तयार पारेको छ।

तपाईंले नवौं महाधिवेशन एकताको महाधिवेशन हुनेछ भन्नुभो, अहिले नै स्पष्ट दुई पक्ष देखिएका वेला कसरी एकताको महाधिवेशन हुन सक्ला?

महाधिवेशनको पूर्वघडीमा यस्ता प्रवृत्ति देखापर्छन्, परिरहेका छन्। आठौं महाधिवेशनमा हामीले पार्टीका नीति, सिद्धान्त र कार्यदिशा पारित गरेपछि नेतृत्व निर्माणमा ऐतिहासिक अभ्यास गर्‍यौं, तर त्यसलाई पचाउन सक्ने संस्कृति पार्टीभित्र रहेनछ। केही समयअघि पार्टीको संसदीय दलमा पनि चुनाव भयो, चुनावमा म हारें, तर त्यसलाई मैले लोकतान्त्रिक अभ्यासको रूपमा लिएँ। आठौं महाधिवेशनमा भने त्यस्तो भएन।

जित्ने पक्ष त भइहाल्यो, हार्ने पक्षले आफूलाई त्यो रूपमा उठाउन सकेन। पार्टीमा लामो समयसम्म दुई वटा धार बगिरहे। त्यसलाई मेट्न नसक्दा जिल्ला तहसम्म कार्यकर्ता विभाजित भए। त्यो विभाजनले अहिले पनि असर पारिरहेको छ। संविधानसभा चुनावमा पहिला ३३ सीट मात्र ल्याएको पार्टी अहिले ९१ सीट जित्न सफल भयो, तर त्यतिवेलाको समूहबन्दीको असरबाट पार्टीलाई मुक्त गर्न सकेको भए नेकपा एमाले सजिलै पहिलो पार्टी बन्नेथियो।

अब नवौं महाधिवेशनमा पनि त्यही प्रकारले समूह निर्माण गर्ने हो भने हामी फेरि तलसम्म विभाजन हुनेछौं। त्यसको परिणाम हाम्रा कार्यकर्ता र एमालेबाट अपेक्षा राख्ने आम नागरिकले भोग्नुपर्छ। त्यसैले अहिले समूहबन्दी बनाएर हिंड्नुभएका कमरेडहरूलाई मेरो आग्रह छ, पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा एकताबद्ध बनाऔं। विचारमा एकरूपता भइसकेपछि विचार निर्माण गर्न कुन कुन कमरेडहरूको के कस्तो भूमिका रहेको छ भन्ने छलफल गरौं र कुनै एउटा कमरेडलाई नेतृत्वको जिम्मा दिऔं। ठूलो प्रतिस्पर्धा गर्नुपर्ने कुनै आवश्यकता म देख्दिनँ।

यस्तो विचार अरूमा देखिंदैन नि?

मेचीदेखि महाकालीसम्मका कार्यकर्तामा मेरो जस्तै चिन्ता छ। नेतृत्वमा समूहबन्दी देखापर्न थाल्यो भने त्यसको शिकार कार्यकर्ता हुन्छ। जहाँसुकैका कार्यकर्तालाई सोधे पनि पार्टी एकताबद्ध भएर जानुपर्छ भन्छन्। सहमति र समझदारी निर्माण हुनुपर्दछ भन्ने भावना छ। त्यसैले नवौं महाधिवेशनको हलमा उपस्थित हुने सम्पूर्ण प्रतिनिधिले उहाँहरूलाई एकठाउँमा ल्याएर सहमति गर्नेछन्। किनभने, नवौं महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्छ, यो विचारको प्रतिनिधित्व म गर्नेछु।

हलमा पुगेपछि त्यो हुनुपर्दछ भन्ने तपाईंको चाहना भए पनि अहिले त प्रतिस्पर्धाकै अवस्था देखिन्छ नि होइन?

बाहिर हेर्दा प्रतिस्पर्धा चर्को देखिन्छ, कार्यकर्ता भने सहमति गराउनेतर्फ लागेका छन्। किन एउटा नेताले अर्कोलाई पखाल्ने? सँगसँगै लडेर आएका हामीमध्ये कसैको केही सबल र कसैका केही कमजोर पक्ष होलान्, तर तिनलाई सार्वजनिक गर्नेभन्दा एकापसमा समझदारी र एकता निर्माण गरेर जानुपर्छ भन्ने आम कार्यकर्ताको भावना छ। हामीले बाहिरी बोक्रो होइन, भित्री गुदी पनि हेर्नुपर्दछ। तपाईं बाहिर हेर्दा अर्कै देख्नुहुन्छ, पार्टीको नेता भएकाले मैले भित्री नसा छामेको छु।

विराटनगरमा भएको कार्यक्रममा वामदेव गौतमले केपी शर्मा ओलीलाई झलनाथ खनालको समर्थन रहेको बताउनुभयो नि?

कुनै पनि कमरेडको बारेमा मैले कमिटमेन्ट गरेको छैन। पार्टीलाई प्रतिस्पर्धातर्फ नलैजाऊँ, सहमति निर्माण गरौं भनेर मैले भनेको छु। विचारमा सहमतिमा पुग्ने राम्रा लक्षण भएकाले संगठनमा पनि सक्छौं। त्यसका लागि निश्चित नेताहरूबीचमा समझदारी निर्माण गर्नुपर्छ। जसले विचार निर्माण गर्ने क्रममा प्रभावकारी भूमिका खेल्नुभएको छ, उहाँलाई नेता चुन्न सक्छौं। म यो वा त्यो भन्दिनँ, सहमतिमा अघि बढ्ने क्रममा जो–कोहीलाई पनि मापदण्डभित्र राखेर हामी अघि बढ्न सक्छौं।

कस्तो मापदण्ड?

पार्टीको कार्यदिशा, नीति र सिद्धान्त निर्माण गर्दा जुन कमरेडले सबैभन्दा बढी भूमिका खेल्नुभएको छ, उहाँलाई हामी त्यसरी मूल्यांकन गर्न सक्दछौं र त्यो मूल्यांकन गर्ने विन्दु भनेको महाधिवेशनको दिन हो। त्यहाँसम्म जाँदा जसले राम्रोसँग भूमिका खेल्छ, उसैलाई अध्यक्ष बनाउन सकिन्छ।

अहिलेसम्मको विचार निर्माण गर्ने क्रममा तपाईंकै भूमिका बढी देखिने हुँदा तपाईं नै अध्यक्ष बन्न खोज्नुभएको त होइन नि?

त्यसको मूल्यांकन पनि महाधिवेशनले गर्नुपर्दछ। महाधिवेशनमा सम्पूर्ण कार्यकर्ताका बीचमा हाम्रा विचार, विश्वास, क्रियाकलाप र कार्यशैली उद्घाटित हुन्छन्। महाधिवेशनले मूल्यांकन गरेर कुनै पनि कमरेडलाई जिम्मेवारी दिन सक्दछ। मलाई जिम्मेवारी दिन्छ भने अर्को एक कार्यकाल पार्टीलाई लीड गर्न तयार छु। तर, अहिले चलिरहेको प्रतिस्पर्धामा चाहिं म मैदानमा जानेवाला छैन।

संसदीय दलको निर्वाचनपछि तपाईंले त्यसलाई एउटा अभ्यासको रूपमा लिएँ भन्नुभयो, त्यसपछि एमालेको संसदीय दलको अवस्था के छ?

यसबारेमा म धेरै टीकाटिप्पणी गर्न चाहन्न। त्यो व्यवहारमा देखिन्छ। त्यो निर्वाचनबारे सबै नेताहरूले इमानदारी र खुल्ला दिलले समीक्षा गर्नुपर्दछ। त्यतिवेला उम्मेदवार हुने र बनाउने दुवैले समीक्षा गर्नुपर्दछ, अनि मतदान गर्नेले पनि समीक्षा गर्नुपर्छ। समग्रमा पार्टीलाई हित गरेको छैन। कुनै पनि पार्टीको संसदीय दल व्यवस्थित, प्रभावकारी हुन हरेक दिनका क्रियाकलाप दुरुस्त हुनुपर्छ। तर संसदीय बोर्ड समेत गठन भएको छैन।

के हुनुपर्दथ्यो?

हामीसँग प्रमुख सचेतक र सचेतक नभएकाले संसद्मा उठ्ने कुनै पनि विषयमा दलले खेल्ने भूमिकाको समन्वय हुनसकेको छैन। त्यहाँ उठ्ने विषयमा अवधारणा तयार पार्ने र त्यसका आधारमा संसदीय दललाई एकताबद्ध पार्ने काम पनि हुनसकेको छैन।

पार्टी अध्यक्षको नाताले यस्तो माहोल सिर्जना हुनुमा तपाईं आफूलाई उत्तरदायी ठान्नु हुन्न?

म आफूलाई पनि उत्तरदायी ठान्छु। मैले पार्टीको अध्यक्ष र संसदीय दलको नेता अलगअलग भयो भने पार्टीका काम सञ्चालन गर्न गाह्रो हुन्छ भन्ने स्थापित गर्न सकिनँ। यो कुरालाई गम्भीरतापूर्वक लिनुपर्दछ भन्ने कुरा सबैलाई बुझाउन भूमिका खेल्न नसक्नु र त्यो चेतना ल्याउन नसक्नुलाई मैले आफ्नो कमजोरी ठानेको छु।

नवौं महाधिवेशनमा केपी शर्मा ओलीलाई भित्री रूपले सहयोग गर्ने र राष्ट्रपति बन्न उहाँबाट सहयोग लिने विचारमा हुनुहुन्छ भनिन्छ नि?

पहिलो कुरा सबै नेताहरूप्रति म सहयोगी नै छु। केपी शर्मा ओली, माधवकुमार नेपाल र वामदेव गौतम सबैलाई म सहयोग गर्न तत्पर छु। तर म कुनै गुटबन्दीमा छैन। कुन ठीक र कुन बेठीक भनेर मैले गर्ने मतदान पनि गोप्य हुनेछ। सिंगो पार्टीलाई एकताबद्ध बनाउन अगाडि बढेकाले यो वा त्यो समूहमा लाग्नुपर्ने मलाई जरूरी छैन।

जहाँसम्म पदको कुरा छ, त्यसका लागि आफूलाई बार्गेनिङको बजारमा राख्नुपर्ने आवश्यकता ठान्दिनँ। देश, जनता, पार्टी, राज्यव्यवस्थाको आवश्यकताले मलाई कुनै पद र जिम्मेवारी दिइन्छ भने त्यो स्वीकार्न म तयार छु। अहिले म जुन पदमा छु त्यहीं सन्तुष्ट छु। मलाई पुनः एकपटक यो पद दिइयो भने त्यो सबैभन्दा राम्रो हुनेछ।

त्यसको सम्भावना कत्तिको देख्नुहुन्छ?

यो दुनियाँमा असम्भव भन्ने केही छैन। विभिन्न सम्भावना छन्। त्यसमध्ये एउटा सम्भावना मैले नै नेतृत्व गर्ने पनि हो।

गुटबन्दीमा लाग्दिनँ भन्नुभयो, अघिल्लो महाधिवेशनमा तपाईं पनि एउटा पक्षको नेता हुनुहुन्थ्यो र चुनावबाटै अध्यक्ष बन्नुभयो। त्यसवेला तपाईंलाई साथ दिने वामदेव गौतम र ईश्वर पोखरेलले संसदीय दलको चुनावमा केपी ओलीलाई साथ दिएर तपाईंलाई हराउनुभयो, किन यस्तो भयो होला?

पार्टीको विकासक्रममा नीति र सिद्धान्तको आधारमा कतिपय व्यक्तिहरूले आफ्ना पोजिसन बदल्न सक्छन्। आज एक कुनामा भएको व्यक्ति भोलि अर्को कुनामा हुन सक्छ। यो पार्टीभित्रको गतिशीलता हो। यसका कारण खोजिरहन जरूरी हुदैन। सम्बन्धित व्यक्तिका अडानले के परिणाम ल्याए, त्यति हेर्दा पुगिहाल्छ।

यसमा आफ्नो कमजोरी ठान्नु हुन्न?

ठान्दिनँ। यी सामान्य चलखेलका कुरा हुन्।

तपाईंकै पालामा गुटबन्दी यो स्तरमा पुग्नुको कारण के हो?

पार्टीमा निकै लामो समयदेखि यस्तो समस्या छ। आठौं महाधिवेशनमा हामीले गुटबन्दीलाई अन्त्य गर्छौं भन्ने सोचेका थियौं। वैचारिक, राजनीतिक र सैद्धान्तिक क्षेत्रमा हामीले एकरूपता कायम गर्‍यौं, त्यसपछि नेतृत्व निर्माण गर्ने पूर्वघडीमा महाधिवेशनको मञ्चमा उभिएर अब हामीले गुटबन्दीलाई तिनाउ नदीमा बगाउँछ भनेर घोषणा पनि गर्‍यौं। त्यो घोषणाले निकै तरंग ल्यायो र चर्चा पनि भयो। पछि साथीहरूका इच्छा र आकांक्षा प्रकट भए, जसले गर्दा हामी निर्वाचनमा गयौं। निर्वाचनबाट हामीले नेतृत्व चयनका निम्ति गरेको अभ्यासलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रले समेत सराहना गर्‍यो। तर, पार्टीमा संस्कार–संस्कृति भनेको एकै दिनमा बन्दो रहेनछ।

आठौंदेखि नवौं महाधिवेशनसम्म आइपुग्दा हामी त्यहाँ भएका कतिपय विकृतिबाट आहत हुनुपर्‍यो। त्यसबाट केही नोक्सानीहरू भए। तर पछिल्लो समय हामीले त्यसलाई टाल्दै लग्यौं। पार्टी एकताबद्ध हुँदै गयो। आठौं महाधिवेशनको उद्घाटन गर्दा एमालेका एक लाख ३८ हजार पार्टी सदस्य थिए, अहिले हामीसँग झन्डै अढाइ लाख पार्टी सदस्य छन्। पार्टीको विकास र विस्तारलाई यसले देखाउँछ। त्यसवेला ३३ सीट मात्र जितेको अवस्थामा नयाँ अठोटका साथ अघि बढ्दा १७५ सीट ल्याएर राष्ट्रिय राजनीतिमा प्रभावकारी उपस्थितिका साथ खडा भएका छौं।

तपाईंले एकताको महाधिवेशन भन्नुभयो, नेतृत्व चाहिं कस्तो हुन्छ?

वैचारिक, राजनीतिक र सैद्धान्तिक एकतासँगै संगठनात्मक रूपमा पनि एकता हुँदा हामी सहमतिसाथ नेतृत्व निर्माण गर्न सक्छौं। कसलाई केन्द्रीय कमिटीमा राख्ने र कत्रो कमिटी बनाउने भन्ने विषयमा हामीले गुट–उपगुटको आधारमा नभएर जो सक्षम छन्, उनीहरूप्रति अनुग्रह नराखी छान्नुपर्छ। त्यसो हुँदा यो पार्टीको मात्र नभएर देश र जनताको पनि कल्याण हुन्छ। किनभने नवौं महाधिवेशन एउटा महत्वपूर्ण र चुनौतीपूर्ण घडीमा हुँदैछ।

यो देशको कम्युनिष्ट आन्दोलनको उत्थान, विकास र वर्तमान अवस्थालाई बुझ्न सक्ने, नेपाली जनवादी क्रान्तिको विकास अवस्थालाई ठीक ढंगले विश्लेषण गर्न सक्ने, ऐतिहासिक मोडबाट अगाडि बढ्न खोजेको नेपाली समाजको दिशाबोध गर्न सक्ने र संगठनात्मक हिसाबले सबै नेता र कार्यकर्तालाई राम्ररी समेट्दै अगाडि बढ्न तथा एकताबद्ध गरेर लैजान सक्ने व्यक्ति हामीले अध्यक्षमा निर्वाचित गर्नुपर्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>