रिपोर्टबुधबार, जेठ २१, २०७१
झन् पीडित छन् दुर्व्यसनी महिला
– तुफान न्यौपाने, नेपालगञ्ज
१४ वर्षको उमेरमा प्रेम विवाह गरेपछि जयसपुर बाँकेकी रोमा अन्सारी (२७) ले पति विवाहित रहेको थाहा पाइन्। पति र सौता मिलेर भारतको रुपैडिहाबाट लागूऔषध ब्राउन सुगर नेपालगञ्ज ल्याएर बेच्ने र खाने गरेको उनले विस्तारै थाहा पाइन्। पतिको सङ्गत र जोडबलले उनले पनि लागूऔषध खान सिकिन्। त्यसपछि सौतासँग भारतको नानपारा पुगेर ब्राउन सुगर ल्याउन थालिन्।
केही समयपछि दोस्रो विवाह गरेकी रोमाका दोस्रो पति पनि लागूऔषध प्रयोगकर्ता रहेछन्। पहिले कोरेक्स र ब्राउन सुगर मात्र खाने गरेकोमा दोस्रो पतिले जबर्जस्ती सुई लगाइदिएको उनी बताउँछिन्। पतिको तर्फबाट लागूऔषधको व्यापार पनि गर्नुपरेको उनको भनाइ छ।
लागूऔषधका लागि देहव्यापार
रोमालाई लागूऔषधका लागि हेरक दिन कम्तीमा रु.५०० चाहिन्थ्यो। पति पक्राउ परेपछि आम्दानी नहुँदा उनले देहव्यापार थालिन्। गाह्रो काम गर्न नसक्ने र ‘माल’ नभई नहुने भएकाले नचाहेर पनि गलत काममा लाग्नुपरेको उनी बताउँछिन्। अहिले जयसपुरमा लागूऔषध प्रयोगकर्ता महिलासँग बसेकी रोमा भन्छिन्, “अचेल देहव्यापार पनि गर्न नसकेकाले मागेर खानु परेको छ।”
नेपालगञ्जकी रिना साई (४५) अनुहार चाउरी परेकाले उमेरभन्दा निकै वृद्ध देखिन्छिन्। राम्रोसँग बोल्न, हिंडडुल गर्न र उभिन पनि नसक्ने गरी उनलाई लागूऔषधले थला पारेको छ।
सानैमा बिहे गरेर एक छोरीकी आमा बनेकी उनले पनि दुर्व्यसनी पतिबाट ब्राउन सुगर खान र सुई लगाउन सिकेकी थिइन्। सँगै लागूऔषध सेवन गर्ने जयसपुरका युवासँग दोस्रो बिहे गरेकी उनको त्यो घरबार पनि लामो समय चलेन।
एक दिन लागूऔषधले लट्ठिएको वेला पतिले पहिलो पतिबाट जन्मिएकी छोरीलाई जबर्जस्ती गरेको देखेपछि छोरी लिएर उनले घर छाडिन्। त्यसपछि छोरी पाल्ने र ब्राउन सुगर किन्ने पैसा जुटाउन उनले देहव्यापार थालिन्।
२७ वर्ष लागूऔषध सेवन गरेकी उनले देहव्यापार गर्ने क्रममा धेरै गर्भपतन गराइन् र एचआईभी संक्रमित पनि बनिन्। अहिले उनी लागूऔषध प्रयोगकर्ताको क्षेत्रमा काम गर्ने ‘चेन्ज टीम’ नामक संस्थाको संरक्षणमा छिन्।
कोहलपुरकी नीता सुनार (२८) पनि अम्मली पतिको सङ्गतले दुर्व्यसनी बनिन्। पतिले सुई लगाएको देखेर कस्तो हुन्छ भन्ने जाँच्दा थाहै नपाई दुर्व्यसनी बनेको उनी बताउँछिन्। रिक्सा चालक पतिले किनेको लागूऔषध बाँडेर खाएको थाहा पाएपछि उनीहरू घरबाट निकालिएका थिए।
कारकाँदोमा डेरा लिएर बस्न थालेपछि गुजारा चलाउन र लागूऔषध किन्न धेरै पैसा चाहिन थाल्यो। त्यसपछि उनले पनि देहव्यापारकै बाटो रोजिन्।
गृह मन्त्रालयसँगको सहकार्यमा ‘संयुक्त राष्ट्रसंघको नेपालस्थित लागूऔषध र अपराध नियन्त्रण सम्बन्धी कार्यालय’ (यूएनओडीसी) ले गरेको अध्ययनले लागूऔषध प्रयोगकर्ता महिलामध्ये २७ प्रतिशत देहव्यापारमा लागेको देखाएको छ।
१४ फेब्रुअरदेखि १९ मार्च २०१० मा काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, मोरङ र सुनसरीमा उसले गरेको सर्भेमा यौन व्यवसायमा लागेका लागूऔषध प्रयोगकर्ता महिलामध्ये ७० प्रतिशतले जीविकोपार्जनका लागि यो व्यवसाय गरेको बताएका थिए भने ३० प्रतिशतको भनाइ अरू विकल्प भएर पनि यो व्यवसायमा लागेको भन्ने थियो।
३९३ लागूऔषध प्रयोगकर्ता महिलामा गरिएको सर्भेले मोरङमा सबैभन्दा बढी ८७.१ र रूपन्देहीमा ६१.९ प्रतिशत यौन व्यवसायमा लागेको देखाउँछ।
केन्द्रीय तथ्यांक विभागले गृह मन्त्रालयसँगको समन्वयमा २०६३ र २०६९ मा नेपालका लागूऔषध प्रयोगकर्ताबारे गरेको अध्ययनले महिला प्रयोगकर्ता ७ प्रतिशत रहेको देखाएको छ। अर्थात्, १८ जिल्लामा २०६९ मा गरेको अध्ययनले ९१ हजार ५३४ लागूऔषध प्रयोगकर्तामा ६ हजार ३३० जना महिला रहेको देखिन्छ।
२०६३ मा तथ्यांक विभागले ती जिल्लामा गरेको सर्भेले भने ४६ हजार ३०९ लागूऔषध प्रयोगकर्तामा ३ हजार ३३५ जना महिला रहेको देखाएको थियो। यो तथ्याङ्कले पछिल्लो ६ वर्षमा झ्न्डै दोब्बर लागूऔषध प्रयोगकर्ता बढेको र महिला प्रयोगकर्ताको अनुपात पनि त्यसरी नै बढेको देखाउँछ। २०६९ को सर्वेक्षण अनुसार चार हजार ५० दुर्व्यसनी रहेको बाँकेमा १७४ जना महिला छन्।
महिलाका फरक समस्या
कोहलपुरकी नीता र उनका पतिले मेथाडोन खान थालेका छन्। लागूऔषधको बानीबाट छुटकारा पाउन मेथाडोन खान शुरू गरेपछि अरू लागूऔषध नखाएको उनले बताइन्। पतिले दिनभरि रिक्सा चलाउन थालेपछि लागूऔषध सेवन गरेको विगत सबैले बिर्से पनि आफूलाई भने अझै अपशब्द प्रयोग गर्ने गरेको उनी बताउँछिन्।
जयसपुरकी रोमाको पनि त्यस्तै अनुभव छ। मेथाडोन खान थालेपछि लागूऔषधका लागि पैसा नचाहिने भएकाले देहव्यापार छाड्दा पनि समाजले पुरानै आँखाले हेर्ने गरेको उनी बताउँछिन्। कुनै सीप सिकेर काम गर्ने चाहना भए पनि पहिले नशा खाने गरेको भन्दै कसैले सहयोग नगरेको उनको भनाइ छ।
लागूपदार्थ प्रयोगकर्ता महिलाले पुरुषभन्दा जटिल र भिन्न समस्या भोग्नुपर्ने अध्ययनहरूले देखाएका छन्। चिकित्सकहरू त्यस्ता महिलाबाट समय अगावै तथा कम तौलको बच्चा जन्मने, गर्भपतन हुनसक्ने र कुपोषित तथा सुस्तमनस्थितिका बच्चा जन्मने गरेको बताउँछन्।
यूएनओडीसीको अध्ययनले त्यस्ता महिलाहरू सामाजिक बहिष्करणमा पनि परेको देखाएको छ। पतिसँग साझा सुईको प्रयोग गर्न इन्कार गर्न नसक्ने, समूहमा सुई प्रयोग गर्दा महिलाको पालो अन्तिममा आउने र आफैं लागूऔषध किन्न नसक्ने भएकाले उनीहरूलाई नै जोखिम बढी हुने उक्त अध्ययनको निष्कर्ष छ।
त्यस्ता महिलाहरू शारीरिक, मौखिक र यौनजन्य शोषणमा पर्ने, लागूऔषध कारोबार गर्न, भरियाको रूपमा ओसारपोसार गर्न र देहव्यापार गर्न बाध्य पारिने पनि उक्त अध्ययनले देखाएको छ। तथ्यांक विभागको सर्भेले पनि महिला प्रयोगकर्ताका समस्या पुरुषका भन्दा भिन्दै रहेको देखाएको छ।
बाँकेमा लागूऔषध प्रयोगकर्ताहरूको क्षेत्रमा काम गर्ने ‘चेन्ज टीम’ संस्थाकी ‘महिला काउन्सिलर’ रूपा देवकोटा लागूऔषध प्रयोगकर्ता महिलाले पुरुषले भन्दा बढी समस्या झेल्नुपरेको बताउँछिन्।
सम्बोधन आवश्यक
बुटवल, पोखरा, नारायणघाट, धरान, काठमाडौं जस्ता प्रमुख शहरमा उच्च वर्गका महिला कुलतमा लागेको पाइयो भने नेपालगञ्जमा चरम गरीबीमा रहेका महिलाहरू दुर्व्यसनमा लागेको भेटियो।
यस्तो समुदायका दुर्व्यसनी महिलाहरू पुनर्स्थापना केन्द्रमा जाने, उपचार गराउने, उच्च शिक्षा लिने जस्ता अवसरबाट वञ्चित हुने भएकाले सरकारले नै उनीहरूका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने लागूऔषध पुनर्स्थापना केन्द्र सहारा हाउसका अध्यक्ष अभिराज क्षेत्री बताउँछन्।
रोकथाम र हेरचाहका धेरै कार्यक्रम पुरुष लागूऔषध प्रयोगकर्तामा केन्द्रित रहेकाले महिला प्रयोगकर्तासमक्ष पुग्न सकेका छैनन्। महिला पुनर्स्थापना केन्द्र पनि धेरै ठाउँमा खोलिएका छैनन्। ‘महिला काउन्सिलर’ देवकोटा महिलाहरूलाई समाजमा पुनर्स्थापना गर्न विशेष कार्यक्रम चाहिने बताउँछिन्।
नेपालगञ्जमा हिमाल सँग कुराकानी गरेका महिला दुर्व्यसनीहरूमध्ये धेरैले सामाजिक आरोपबाट मुक्त हुन पाए सीप सिकेर स्वरोजगार गर्न चाहेको बताए। पतिसँगै लागूऔषध सेवन गर्न थालेकी आदर्शनगरकी टीका श्रेष्ठ (३०) का पति पुनर्स्थापना केन्द्रमा बसेर ठीक भएपछि वैदेशिक रोजगारीमा गए पनि उनले अझै घरमा प्रवेश पाएकी छैनन्। लागूऔषध सेवन गर्न छाडेकी उनी सीप सिकेर केही गर्ने चाहना रहेको बताउँछिन्।
यूएनओडीसीले सर्भेमा ‘तिमीलाई सरकारले के गरी सहयोग गर्न सक्छ’ भनी सोधिएको प्रश्नमा ४०.१ प्रतिशतले सरकारले रोजगारी दिनुपर्ने बताएका थिए भने ३०.१ प्रतिशतले निःशुल्क उपचार र १८.४ प्रतिशतले समाजको सकारात्मक धारणा पाउनुपर्ने माग गरेका थिए।
(लागूऔषध प्रयोगकर्ता महिला सबैको नाम परिवर्तन गरिएको छ।) साप्ताहिक खबरपत्रिका हिमालबाट