टिप्पणीबुधबार, जेठ २१, २०७१

पिंडौलामा गँड्यौला

डा. सुमनराज ताम्राकार

पिंडौलाको नसा फुल्लिएर गँड्यौला जस्तो देखिने स्वास्थ्य समस्यालाई मेडिकल भाषामा भेरिकोज भेन भनिन्छ।
शरीरको विभिन्न भागमा अक्सिजनयुक्त रगत पुर्याखउने मुटु दिन–रात खुम्चिने–फुक्ने हुन्छ।

शरीरको माथिल्लो भागबाट कार्बनडाइअक्साइड मिसिएको अशुद्ध रगत मुटुतिर सहज रूपमा फर्किन्छ भने तल्लो भाग अर्थात् खुट्टातिरबाट रगत फर्काउन त्यति सहज हुँदैन। खुट्टातिरको रगतलाई मुटुतर्फ फर्काउने दुई खाले शिरा हुन्छन्। खुट्टाका मांसपेशी वरिपरि रहने ठूलो शिरालाई भित्री र बाह्य छालामुनिकालाई सतही शिरा भनिन्छ।

धुलिखेल अस्पतालका कार्डियो थोरासिक तथा भास्कुलर सर्जन डा. रविनमान कर्माचार्यका अनुसार, सबैजसो सतही शिरा भित्री शिरामै गएर मिल्छन्।

रगत संचालन एकतर्फी पार्न सतही शिराको रगत भित्री शिरातिर लैजाने यी शिराहरू जोडिने ठाउँमा भल्भ हुन्छ। भल्भहरूले रगतलाई उल्टो फर्किनबाट रोक्छन्। सतही र भित्री शिराबीचका यी भल्भहरूमा कुनै कारणवश खराबी हुँदा बाहिरी शिराहरू विस्तारै फुल्दै जान्छन्। यस्तो अवस्थामा पिंडौलाको नसा गँड्यौला जस्तो गरी फुलेको देखिन्छ।

सेक्युरिटी गार्ड, ट्राफिक प्रहरी, शिक्षक, नर्स, भरिया जस्ता लामो समय उभिएर काम गर्नुपर्ने पेशाका व्यक्तिहरूमा भेरिकोज भेनको समस्या हुन्छ। गर्भकाल, कब्जियत, अत्यधिक मोटोपन र कसै–कसैमा वंशाणुगत कारणले पनि यो समस्या देखापर्न सक्छ। कब्जियत, लामो समयको खोकी, पिसाब गर्न बल गर्नुपर्ने समस्या भएकाहरूको मलद्वार वरिपरिको रगत नसा पनि फुल्न सक्छ।

नसा फुल्ने समस्या भएका व्यक्तिहरूलाई खुट्टा भारी हुने, गल्ने, दुख्ने, छालाको रङमा परिवर्तन हुने, कालान्तरमा खुट्टाको छालामा घाउ आउने, चोट लाग्दा धेरैबेर रगत बग्ने हुन्छ।

नौलो उपचार विधि
भेरिकोज भेनको समस्यामा ब्यान्डेज/स्टकिङ्ग लगाएर अनि औषधि सेवनबाट केही फाइदा भए पनि पूर्ण रूपमा निर्मूल गर्न अपरेशन नै गर्नुपर्छ। यो समस्या समाधानका लागि अहिले सानो घाउ बनाएर रेडियो फ्रिक्वेन्सी प्रयोगबाट गरिने ‘स्टिपिङ सर्जरी’ को प्रविधि आएको छ।

कम दुखाइ सहनुपर्ने र बिरामी छिटो काममा फर्कन सक्ने यो नयाँ प्रविधि विश्वभर लोकप्रिय हुँदै गएको छ। डा. कर्माचार्यका अनुसार, अपरेशनको यो प्रविधिमा सतही शिराभित्र मसिनो तार जस्तो औजार छिराएर रेडियो फ्रिक्वेन्सी वेभको सहायताले भेरिकोज भेनको समस्यालाई पूर्णतः निर्मूल गरिन्छ।

खराब नसा अल्ट्रासाउन्डबाट पत्ता लगाइन्छ। यो खालको अपरेशनको भोलिपल्टै बिरामी राम्ररी हिंड्न सक्ने हुन्छन्। नाम मात्रको रक्तश्राव हुने यो प्रविधिका आफ्नै फाइदा छन्।

डा. कर्माचार्यले करीब १०० जनालाई यो प्रविधिको अपरेशनबाट भेरिकोज भेन मुक्त बनाइसकेका छन्। धुलिखेल अस्पतालमा यसको नियमित सेवा छ। यसका लागि प्रत्येक सोमबार र बिहीबार अस्पतालको कार्डियो थोरासिक तथा भास्कुलर सेवा र सर्जरी विभागमा सम्पर्क राख्न सकिन्छ। वा ctvsdh@gmail.com / र www.ctvsdh.webs.com मा लग गरी समय लिन सकिन्छ।

यस विधिबाट भेरिकोज भेनको उपचार गराएका व्यक्तिले अपरेशनपछिको हप्ता दिनसम्म ब्यान्डेज लगाउनुपर्छ। यसैगरी गोडामुनि शिरानी राखेर गोडाको हल्का कसरत गर्ने गर्नुपर्छ। कम्तीमा दुई सातासम्म गह्रुँगो सामान उचाल्ने र धेरै पटक सिंढीमा तलमाथि गर्नुहुँदैन।

यो उपचार विधिमा संक्रमण, रक्तश्राव, असामान्य मुटुको चाल, बाह्य छालामा जलन, ज्वरो लगायतका जटिलता नहुने होइन, तर त्यसको सम्भावना ज्यादै न्यून हुन्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>