खेलकुदबुधबार, जेठ २१, २०७१
जाँदै गर्दा पुबुदुले भने, ‘फेरि आउन सक्छु’
सन् २०११ देखि नेपाली टोलीको मुख्य प्रशिक्षक रहेका पुबुदु दासानायके नेपाल क्रिकेट संघसँग भएको सम्झौता सकिंदै गर्दा नेपालबाट फर्किएका छन् । जाँदाजाँदै उनले भने, “क्यानसँगको सम्झौता सकिएको छ, लामो अवधिका लागि करार भयो भने अझै पनि नेपाल आउन सक्छु ।”
दासा नायके नेपाली क्रिकेट टोलीका तुलनात्मक रुपमा सफल प्रशिक्षक मानिन्छन् । उनकै प्रशिक्षणमा नेपाली टोलीले गत बर्ष युएईमा भएको टि–२० विश्वकपको छनौटमा सफलता हासिल गर्दै बंगलादेशमा टि–२० विश्वकप खेलेको थियो ।
त्यस्तै २०७० को शुरुवातमै बर्मुडामा विश्व क्रिकेट डिभिजन– ३ को उपाधि पनि जित्न सफल भयो ।
२१ जेठ दिउँसो क्यानाडा प्रस्थान गर्नुअघि दासानायकेले आफू अझै नेपालको प्रशिक्षक रहने नरहने भन्ने विषयमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष टंक आङबुहाङ र महासचिब अशोकनाथ प्याकुरेलसँग कुरा भए पनि निष्कर्ष ननिक्लएको प्रतिक्रिया दिए ।
उनले भने, “आजै क्यानका अध्यक्ष र महासचिवसँग मेरो पदावधि बारेमा कुरा भयो, हेरौं उहाँहरुले के निर्णय गर्नुहुन्छ ।”
यसअघि क्यानले दासानायकेको अवधि एक बर्षे थप्ने भने पनि तीन महिनाका लागि मात्र थपिएको पत्र उनलाई थमाएको थियो । नेपाली क्रिकेट टोलीलाई अझै पनि दासानायकेको आवश्यकता रहेको भन्दै नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले उक्त निर्णयको विरोध गरेका थिए ।
दासानायकेलाई बिमानस्थलसम्म विदा गर्न नेपाली टोलीका सहायक प्रशिक्षकहरु जगतबहादुर टमाटा, मञ्जुर आलम खान र क्यानका सदस्य सञ्जीव पाण्डे उपस्थित थिए ।
दीपेन्द्र सापकोटा