Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विस्तारित उपलब्धि - Himalkhabar.com

ब्लगबुधबार, जेठ २१, २०७१

विस्तारित उपलब्धि

महेश थापा

वैरीहरूले सुस्त, लोसे, अल्छीको पुङ, कछुवा आदि अनेकानेक पगरी गुताए पनि सरकारले सय दिनमा गरेका ५५ बुँदे कामको विवरण सार्वजनिक गर्दा खरायो र कछुवाको कथा खाली मिथक प्रमाणित भएको छ। प्रमुख उपलब्धिलाई विवरणमा समावेश गर्न छुटाई विरोधीहरूलाई मौका दिनुले भने सरकारका प्रवक्ता र सल्लाहकारहरूको अडबेस्रोपनालाई उजागर गरेको छ।

दैनिक एक कामका दरले पनि मधुमासको सय उपलब्धि प्रस्तुत गर्न सकिने बलियो सम्भावना थियो। उपलब्धिहरूको सूक्ष्म व्याख्या गर्दै अनेक उप–बुँदा थपुवा गर्न सकिने ठाउँ पनि छँदैथियो। तर, प्रेस विज्ञप्तिको पृष्ठभूमिलाई माथिल्लो दुई बुँदामा राख्नुका साथै ‘सरकारले सय दिनको अवधिमा सम्पादन गरेका मुख्य–मुख्य कार्य देहाय बमोजिम छन्’ भन्ने वाक्यांशलाई तेस्रो बुँदामा प्रस्तुत गर्दा समेत पचपन्न बुँदा मात्र जोरजाम गर्न सक्नुले सरकारका रणनीतिकारहरूको पानीमरुवापन देखाएको छ।

‘शान्ति र संविधानको ऐतिहासिक कार्यभार समयमै सम्पन्न गर्नका लागि सबैलाई एकजुट हुन सरकारद्वारा आह्वान गरिएको’ विषय उठान गरिसकेपछि प्रधानमन्त्री लगायत मन्त्रिपरिषद् सदस्यहरूले कुन–कुन समय र स्थानमा कतिपटक सो आह्वान दोहोर्‍याए भन्ने हिसाबकिताब उल्लेख गर्न कन्जुस्याइँ नगरिदिएको भए जनता सरकारको मिहिनेत र प्रयासबारे जानकार भई कृत–कृत्य हुनेथिए। तीनपटक मन्त्रिपरिषद् विस्तार गरिएको कुरालाई तीन अलग बुँदामा समेटेको भए झ्न् सेन्चुरी हान्न सकिनेतर्फ हुस्सुप्रसादहरूले होश पुर्‍याएको देखिएन।

समानुपातिक मत टिपनटापन गरी एकाध सीट हत्याउन सफल दलहरू समेट्दै भविष्यमा हुनसक्ने मन्त्रिपरिषद् विस्तारबारे सविस्तार व्याख्या गरिदिएको भए थप आशावाद सञ्चार हुन सक्थ्यो!

गत वर्ष वेलैमा मनसुन सक्रिय भई बालीनाली फस्टाएकोले चालु आर्थिक वर्षमा ५.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने शुभसाइतमा सरकार गठनको योग जुर्नुलाई पनि खुलेआम रूपमा वर्तमान सरकारको प्रमुख उपलब्धि मान्न सकिन्थ्यो, तर हुस्सुहरूले यसतर्फ ध्यानै दिएनन्। घरधनीलाई स्थायी लेखानम्बर दिएको र करदाताकोे बिलबिजक चेकजाँच गरेको जस्ता कामप्रति आँखा चिम्लिंदै एकोहोरो रूपमा सरकारको आलोचना गर्ने बकम्फुसहरूको मुखमा बिर्को कस्न यस दौरान भएका जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता र त्यसबाट आर्जित रकमको फेहरिस्त समेत अलग्गै बुँदामा राखिएको भए गज्जब हुने थियो।

आफ्नो मुख्यालयमा गौतम बुद्धको प्रतिमा स्थापना गर्ने युनेस्को निर्णयमा पनि वर्तमान सरकारकै प्रतापले काम गरेको थियो। केहीअघि बाराक ओबामाले बुद्ध प्रतिमा हातमा लिएको तस्वीर विश्व संचारमाध्यममा छाउनुलाई पनि यो सरकारको उपलब्धिका रूपमा समाविष्ट गर्न सकेको भए एक बुँदा थपिन्थ्यो। नेपाली क्रिकेटरहरूले टी–२० विश्वकपमा उम्दा प्रदर्शन गर्नु त झ्न् वर्तमान सरकारको प्रमुख उपलब्धि हुँदै हो, तर त्यसलाई पनि उपलब्धिको बुँदामा हाल्न छुटाइयो। यही सरकारको पालामा नेपाली जनताले विश्वकप फूटबलको मज्जा लुट्ने मौका पाउँदैछन् भन्ने सत्य समेत उपलब्धिको बुँदाको फुँदा भएको नदेख्दा धिक्कार भन्न मन लाग्छ।

मधुमासको दौरानमा प्रधानमन्त्री स्वयंले सिक्टा सिंचाइ आयोजना, मेची पुल आदिको अवलोकन गर्नुभएको थियो। स्थलगत भ्रमणमा जाँदा बाटामा पर्ने नारायणी, वागमती, लखन्देही, रातु, कमला, कोशी आदिको समेत पुल–पुलेसाहरूको हवाई निरीक्षण गरेको भनेर अलग्गै बुँदा राखिदिंदा कसको के जान्थ्यो? तर, लम्पट सहयोगीहरूका कारण कर्मयोगी सरकारले आफ्ना उपलब्धि राम्ररी जनसमक्ष राख्न पाएन। यो अवस्थामा सरकारका उपलब्धिहरूलाई विस्तारित स्वरुपमा बुझिदिएर सहयोग गर्नु सम्पूर्ण नेपालीको कर्तव्य हुन पुगेको छ। प्रधानमन्त्री झोक्राए वा मन्त्रीहरू भुईंमा लडीबुडी गरे भने त्यसको जवाफदेही हामी नागरिक नै हुनेछौं।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>