ब्लगशुक्रबार, जेठ २३, २०७१

विमान यात्राः नेपालगञ्ज भनेर सुर्खेत

shree lal sah

तस्वीरहरुः श्रीलाल साह

यार्सागुम्बा सम्बन्धी वृत्तचित्र बनाउने उद्देश्यले उत्तरी रुकुमको तकसेरा, हुकाम, मैकोट, दुले र डोल्पाको सरतारा लेकका दृश्य खिचेर १० जेठको बिहान साढे दश बजे जुफाल विमानस्थल डोल्पा आइपुग्दा त्यस दिनको उडान सकिएको रहेछ।

तीव्र हावा चल्ने जुफालमा बिहान ६ देखि १०/११ बजेसम्म दैनिक ४/५ उडान हुने रहेछ। र पनि, तराईसँग जोडिने यातायातको एक मात्र साधन भएकोले यात्रुहरूबीच टिकटमा हानाथाप हुँदोरहेछ। सीटको तारतम्य होटलवालाहरूले मिलाउँदा रहेछन्। हामी भोलिपल्ट बिहान ७:१० बजे प्रतिव्यक्ति रु.५ हजार तिरेर काष्ठमण्डप एअरको ८ सीटे नाइनएन–एजेएफ जहाजबाट उड्ने भयौं, तर टिकट दिइएन।

नेपालगञ्ज पुग्न आतुर हामी चार सहित आठ यात्रुलाई छाप समेत नलगाइएका खाली बोर्डिङ पास दिएर विमानस्थलमा लाइन लगाइयो। विमानभित्र पस्ने वेलामा एक कर्मचारीले प्रतिव्यक्ति रु.५०० फिर्ता गर्दै भने, “जहाज नेपालगञ्ज होइन सुर्खेत जान्छ, तपाईंहरू पनि सुर्खेत नै जानुस्।” यात्रुहरूले प्रतिवाद गर्दा ती कर्मचारीले जङ्गिदै निर्णय सुनाए, “त्यसो भए तपाईंहरू नजानुस्, अरू जान्छन्।”

हामीसँग उनको निर्णय शिरोपर गर्नुबाहेक अर्को उपाय थिएन। विमान चढ्न लाग्दा प्रहरीले एक–एक यात्रुको नाम–ठेगाना लेख्दा केही ढुक्क लाग्यो। विमानभित्र यात्रु बस्न लाग्दा अग्रभागको देव्रेपट्टिको दोस्रो सीट भाँचिएर पछिल्लो सीटमा बसिसकेको मेरो घुँडामा चोट लाग्यो। यसरी उडानको तयारी हुँदै गर्दा विमानमा एक जना गर्भवती महिला थपिइन्, नवौं यात्रुको रूपमा। सुत्केरी हुन नेपालगञ्ज हिंडेकी उनलाई पछिल्लो सीटका यात्रुको काखैमा राखियो (हे. तस्वीर)। त्यसको ३२ मिनेटमा सुर्खेत विमानस्थलमा ओर्लेपछि मुटुको गति सामान्य भयो।

यात्रुहरूमध्ये आधा पत्रकार छन् भन्ने थाहा पाएर एअरलाइन्सका कर्मचारीहरूले असुविधाको लागि माफी माग्दै माइक्रोबस रिजर्भ गरेर नेपालगञ्ज पठाए। सुर्खेत विमानस्थलका एक कर्मचारीका अनुसार, हामी जुफालमा हुने ‘नियमित धन्दा’ को फन्दामा परेका थियौं। जुफालबाट अधिकांश यात्रु नेपालगञ्ज आउने हुन्छन्, जसलाई सुर्खेत आउन बाध्य पारिन्छ। धेरै यात्रु पाउँदा कोचकाच पारेर पनि उडाइन्छ।

हामी उडेको विमानको अत्यधिक भारवहन क्षमता ५४४ किलोग्राम रहेछ। तर, प्रतिव्यक्ति वजन सरदर ६० किलो र लगेज १० किलो मान्दा हाम्रो जहाज ५६० किलो भार बोकेर उडेको थियो। त्यसमाथि थपिएकी थिइन्– गर्भवती महिला।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>