Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पुस्तान्तरका गफ - Himalkhabar.com

ब्लगसोमबार, भाद्र २५, २०६९

पुस्तान्तरका गफ

Sarojdhital

सुनिन्छ– अहिलेको पुस्ता बिग्रियो, पहिले जस्तो रहेन।
प्रायः पाका मानिसहरू आफू सानो छँदा धेरै असल, अनुशासित र जेहेन्दार तथा जवान हुँदा सक्षम, निडर, व्यावहारिक र बाबुआमा–मान्यजनप्रति विनम्र भएको भनेर सन्तानलाई सुनाउँदा आनन्द मान्छन्। कति त त्यतिले नपुगेर, आफ्नो त्यो सिङ्गो पुस्ता नै ज्ञानी थियो भन्न पछि पर्दैनन्।

कतिसम्म भने त्यो जमानाको टोल, बहाल, चोक, चौतारा, पोखरी, चाडबाड, शासक, गुरु, पण्डित, धामी, वैद्य जे पनि र जो पनि अहिलेको भन्दा कता हो कता राम्रो भनेर गफ दिइन्छ। ‘ओहो , ऊ बेलाको फागु क्या भव्य र रमाइलो! … मूला, काँक्रो त कत्रा–कत्रा हुन्थे! … एक पैसामा तीन माना चामल पाइन्थ्यो! … स्वर्ग नै थियो त्यो युग!’ जस्ता अभिव्यक्तिदेखि ‘ऊ त्यो बडेमानको भालुढुङ्गो पारि डाँडाबाट म एक्लैले बोकेर ल्याएको’ भन्नेसम्मका गफ सुन्न पाइन्छ।

कुनै पनि देश र कालखण्डमा विगतको गुणगान र अहिले सब बिग्रियो, सिद्धियो, मानिसहरू पापी भए भनेर वर्तमानको आलोचना गर्ने मानिसको कमी हुँदैन। तर, यथार्थ यस्तो हैन भन्ने कुरा पनि ती गफाडीहरूलाई थाहा हुन्छ।

६० वर्षको बार
समाजमा असल र खराब मानिस सधैं हुन्छन्। कुनै पुस्ता कस्तो छ भनेर जान्न त्यसबेलाका सबभन्दा गए–गुज्रेकालाई हैन, औसतलाई हेर्नुपर्छ। कुनै पुस्तामा सकारात्मक सम्भावना के–के छन् भनेर जान्न औसतलाई हैन, उम्दालाई हेर्नुपर्छ। वर्तमानका असल युवा र पुरानो पुस्ताका असल युवालाई दाँज्दा अहिलेकै अब्बल देखिन्छन्। आफूले बाबुआमालाई गरेको जस्तो व्यवहार आफ्ना सन्तानले गरिरहेका छैनन् भन्ने गुनासो सही हुनसक्छ। तर, यसका पनि बुझन सकिने कारण छन्। ‘जेनरेशन ग्याप’ अर्थात् पुस्तान्तर हरेक युगमा हुन्छ। आवश्यकता यो अन्तर घटाउने सम्बन्ध सेतुको हो, जुन दुई पुस्ताबीचको युगसापेक्ष अन्तरक्रिया र संवादमा प्रकट हुन्छ।

समाज परिवर्तनको गति अति नै सुस्त भएको बेला मात्र ठ्याक्कै अघिल्लो पुस्ताको जस्तो व्यवहार सम्भव हुन्छ। गतिशील समाजमा त एउटै पुस्ताभित्र पनि मान्यता परिवर्तन भइसक्छन्, १० वर्ष अगाडिका व्यवहार अहिले पूरै असान्दर्भिक र मूर्खतापूर्ण लाग्न सक्छन्। अरू त अरू, भाषामा समेत धेरै फरक भइसक्छ। त्यसैले दुरुस्त उस्तै व्यवहार, शैली भएन भनेर गुनासो गर्नुको अर्थ रहँदैन। हरेक युगमा नभई नहुने सर्वकालिक गुण त करुणा, स्नेह, प्रेम, सद्भाव, सहयोग, इमान हुन्!

अहिले वृद्धवृद्धाहरूको बेवास्ता भयो, परिवारमा न्यानोपन हरायो, परिवारै टुक्रन थाल्यो भन्ने सुनिन्छ। हरेक कालखण्डमा वृद्धवृद्धाका फरक–फरक कथा हुन्छन्। परिवारभित्र अत्यन्त शक्तिशाली ‘शासक’ भएर बसेका बूढाबूढी पनि हुन्छन्, कृतघ्न छोराछोरीको पाशविक अत्याचारमा परेका घटना पनि हुन्छन्। वृद्धवृद्धामाथि दुर्व्यवहार बढेको हो कि सञ्चारमाध्यममा पहुँच बढेर लुकेर रहेका सबै कुरा बाहिर आउन थालेका हुन्, राम्रो अध्ययन नगरी भन्न सकिंदैन। वृद्धाश्रमहरूको संख्यालाई नै पाका मानिसप्रति दुर्व्यवहार बढेको प्रमाण मान्नु उपयुक्त हुँदैन।

समयसँगै मानिसको जीवनशैलीमा आएका परिवर्तनको असर सबै पुस्तामा बराबर हुँदैन। उमेर पाको हुँदै जाँदा परिवर्तन स्वीकार्न अप्ठ्यारो पर्दै जान्छ। अधिकांश मानिस ६० नाघेपछि नयाँ ज्ञान, सीप र शैली अङ्गीकार गर्न असहज भएर ‘हुर्किन’ छोड्छन्, जो हुर्किइरहन्छन् ती महान् हुन्छन्। यसरी निरन्तर ‘हुर्किइरहेका’ आदरणीयहरू हामीकहाँ पनि छन्। कोही त तनले ८०–९० काटिसके पनि मन, चिन्तन र व्यवहारका पट्ठा छन्। तिनलाई देख्दा गर्वानुभूति नहुने कुरै आउँदैन।

‘मैले प्रतिपादन गरेको सिद्धान्तलाई कसैले गलत सावित गर्न पाउँदैन’ भन्दै लौरो लिएर कुर्लने मानिस वैज्ञानिक हुनसक्दैन। असल गुरुमा आफ्ना चेलाहरू आफूभन्दा अघि बढून् भन्ने चाहना हुन्छ। सानो चित्त लिएर ‘ए, मलाई चुनौती दिने!’ भन्दै इख राख्ने मानिस असल गुरु हुन सक्दैन। अर्थात् आजको स्थितिबाट अघि बढ्न जो तयार हुँदैन, ऊ हुर्किन छोड्छ र जड बन्न पुग्छ। कति त २०–२५ कै उमेरमा ‘जड’ भइसक्छन्, हुर्कनै चाहन्नन्। कुनै कुनै बेला त उल्टो पुस्तान्तर देखिइरहेको हुन्छ। अघिल्लो पुस्ताको ‘हुर्काइ’ जति छिटो रोकिन्छ, पुस्तान्तर त्यति नै फराकिलो हुन्छ। पुस्तान्तर जति फराकिलो हुन्छ, त्यो अन्तरलाई जोड्ने संवाद, सहानुभूति, सत्संग र सहज्ञानको पुल बनाउन त्यति नै बढी परिश्रम, समय र सीप आवश्यक पर्छ।

सकारात्मक तयारी
समाजको रूपान्तरणलाई धेरै कुराले प्रभाव पार्छ। ती सबैखाले प्रभावबाट समाज परिवर्तन हुन्छ। यस्तो परिवर्तनले ल्याएका कुरामा नयाँ पुस्ताको रुचि ज्यादा हुनु स्वाभाविक हो। यस्तो रुचिलाई पुरानै ढाँचामा राखिरहन खोज्नु निरर्थक कसरत हुन्छ। परिवर्तन त जसरी पनि हुन्छ नै। त्यो भयो भनेर रोइबस्नु अथवा त्यसलाई रोक्न समेत खोज्नु समयलाई रोक्न खोज्नु जस्तो कुरा हो। परिवर्तन कुन दिशातर्फ उन्मुख हुँदा सद्भाव कायम हुन्छ र कोही पनि बहिष्कृत हुँदैन भन्ने कुरा चाहिं महत्वपूर्ण हो। त्यो कुरा त्यस कालखण्डका परिवर्तनकामीहरूको बुद्धि र बर्कतमा निर्भर हुन्छ।

बूढापाकाको सम्मान सामान्यतः सामाजिक रीतिस्थितिले कुँदेको अनुशासन र नैतिक शिक्षामा आधारित हुन्छ। नैतिक शिक्षाको प्रभाव परिवारको सांस्कृतिक बनोट, शिक्षाको स्तर, अभिभावकको रवैया आदिमा पर्छ। यी कुरा ठीकठाक छन् भने जुनसुकै पुस्तामा पनि बूढापाकाको आदर–सम्मानमा कमी हुँदैन। त्यस्तो परिवारमा विभिन्न पुस्ताका बीच संवादमा पनि समस्या हुँदैन। तर, रीतिस्थितिजन्य अनुशासनमा मात्र आधारित ‘सम्मान’ गुदी नभएको रिवाज मात्र हुन्छ र यो आजको मात्र समस्या हैन, पहिले पनि त्यस्तै थियो। त्यसैले, अहिले दुःख पाइरहेका बूढाबूढीको पारिवारिक इतिहास नहेरी त्यो दुःखका निम्ति को जिम्मेवार हो भन्न सकिन्न।

उमेरसँगै आउने शारीरिक र मानसिक परिवर्तनले पाका मानिसहरूलाई विशिष्ट समस्यामा पारेका हुन्छन्। उनीहरूका स्वास्थ्य समस्याहरूलाई मूलतः चार किसिमले वर्गीकरण गर्न सकिन्छ– दृष्टिसँग सम्बन्धित, स्मरणशक्ति र मानसिक स्वास्थ्यसँग सम्बन्धित, उठ–बस हिंडडुल वा हलचलसँग सम्बन्धित र दिसापिसाबमाथि नियन्त्रणसँग सम्बन्धित। आर्थिक–सामाजिक समस्या पनि घुमिफिरी यी चारथरी समस्यासँगै जोडिन आइपुग्छन्। राज्यको अगुवाइ विना यिनको समाधान हुँदैन। तर अहिलेको जस्तो अनौठो राजनीतिक वातावरणमा निष्प्रभावी नै बन्न पुगेको राज्यबाट धेरै आशा गर्न सकिन्न। त्यसैले हुनसक्छ, नागरिक समाजको प्रयत्न क्रमशः बढ्न थालेको छ।

६० पुग्न अब केही वर्ष मात्र बाँकी भएको मजस्ता मानिस यो देशमाकति होलान्, ठ्याक्क थाहा छैन। २३ लाख हाराहारीले यो बार नाघेका छन्। हामी जस्ताले ‘नयाँ पुस्ता बिग्रियो’ भन्ने निरर्थक आलापमा फँसेर जीवन बिताउनुभन्दा आफ्नो वृद्धावस्थाको सकारात्मक तयारी गर्नु बेस देख्छु म। यो देशमा सुशासन दिनसक्ने राज्य जन्मेछ भने त्यो तयारी थप सहज पनि होला!

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>