रिपोर्टशनिबार, जेठ २४, २०७१

अर्ग्यानिकको बढ्दो प्रयोग, स्वास्थ्य र पर्यावरणका लागि फाइदा

हिमालखबर

– रमेश कुमार

काठमाडौं, मध्यबानेश्वरका बद्री पौड्याल तरकारी किन्न पाटनका भित्री गल्ली चहार्छन्। त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक पौड्याल ललितपुरको गाउँतिरका किसानले थोरै–थोरै बोकेर ल्याउने तरकारी किन्दा विषादी कम हुने अनुमानका आधारमा तरकारीका ठूलो बजार छिर्दैनन्।

ललितपुरको ढोलाहिटीमा मलमूत्र प्रयोग गरिएको आफ्नै तरकारी बारी रेखदेख गर्दै कृषिविद् मदन राई।

“आफूले खाएर नसिद्धिएको तरकारी बेच्ने किसानसँग किन्न सके ताजा र स्वस्थ भेटिन्छ”, पौड्याल भन्छन्, “र, सकेसम्म बेमौसमी तरकारी र फलफूल किन्नुहुँदैन, त्यसमा विषादी धेरै हुन्छ।”

पत्रकार चेतनाथ आचार्य पनि काठमाडौंमा सकेसम्म काउली लगायतका तरकारी किन्दा अलिअलि कीरा लागेका र काँक्रो किन्दा बाङ्गो खोज्नुपर्ने बताउँछन्।

उनको अनुभवमा हेर्दैमा लोभलाग्दा फलफूल र तरकारीमा बढी विषादी हालिएको हुन्छ भने कीरा लागेका, मसिना र बाङ्गाटिङ्गा तरकारीमा कम। नेपालका शहरहरूमा पौड्याल र आचार्य जस्ता हाइजेनिक कृषि उत्पादन खोज्नेहरूको जमात बढिरहेको छ।

उनीहरूको विचारमा, अर्ग्यानिक उपभोग भनेको वातावरण संरक्षणको कुरा पनि हो। पर्वतको मुडिकुवा गाविसलाई रासायनिक औषधिमुक्त बनाउन प्रयासरत हृषीकेश तिवारी भन्छन्, “अर्ग्यानिक कृषि वस्तुको उत्पादन र माग बढेको छ, तर यसको विस्तार पुगेको छैन।”

नेपाली खेतीपातीमा अर्ग्यानिक अवधारणा कसले भित्र्यायो भन्नेमा विवाद भए पनि सन् १९८० को दशकमा अमेरिकी नागरिक जुरिथ चेजले यो बहसलाई परिणाममुखी बनाइन्।

काभ्रेको पात्लेखेतमा ‘एभि्रथिङ अर्ग्यानिक फार्म’ खोलेर उत्पादन गरिरहेकी उनकै सिकोबाट देशभरि जैविक प्रविधिबाट खेतीपाती गर्नेको संख्या बढिरहेको छ। बजारमा त्यस्ता वस्तुको माग पनि लगातार बढिरहेको छ।

क्रमिक वृद्धि
डिल्लीबजारस्थित भोजन गृह परिसरमा शुभेच्छा बस्नेतले खोलेको ‘खेती बजार’ मा नियमित ग्राहक बढेका छन्। अर्ग्यानिक खोज्दै आक्कल–झुक्कल आउने त धेरै थिए, तर नियमित ग्राहक नै बढेर आपूर्तिमा हम्मे पर्ने देखेपछि शुभेच्छाले भक्तपुरको गुण्डुमा आफैं अर्ग्यानिक फार्म पनि चलाएकी छन्। उनको खेती बजारमा पाँचथरबाट चिया, दाल, चामल, गुल्मीबाट कफी, चितवनबाट फापर, भक्तपुरबाट हरियो तरकारी, जुम्लाबाट स्याउ र राजमा आउँछ।

शुभेच्छाले मह, दाल, चामल लगायतका अर्ग्यानिक वस्तु सिंगापुर निर्यात पनि गर्छिन्। “तर, अनियमित आपूर्तिका कारण खोजेको वेला सामान नपाएर ग्राहक निराश हुन्छन्”, शुभेच्छा भन्छिन्, “अर्ग्यानिकमा बढी श्रम लाग्ने र उत्पादन दर कम हुने भएकाले ४० प्रतिशतसम्म महँगो पनि छ।”

२०२० को दशकमा उब्जनी बढाउन अमेरिकी सहयोगमा ठूलो मात्रामा एमोनियम सल्फेड भित्रिएको नेपालमा क्रमशः पोटास, युरिया लगायतका रासायनिक मल र अनेकौं विषादी आउन थालेको राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) मा विज्ञ रहिसकेका मदन राई बताउँछन्।

संसारसँग खुल्दै गएर बाटोघाटोको विस्तार भएपछि रासायनिक मल र विषादी गाउँ–गाउँ पुग्यो। वैधानिक बाटोबाट मात्र वार्षिक ३८४ टन विषादी भित्रने र त्यसमध्ये ८५ प्रतिशत तरकारी खेतीमा खपत हुने गरेको कृषि विभागको गत वर्षको तथ्यांकले देखाउँछ।

यसबाट अम्लीयपन बढेर माटो कामै नलाग्ने हुन थालेपछि पछिल्लो दशकमा जैविक खेती बढेको मुडिकुवाका हृषीकेश तिवारी बताउँछन्।

जैविक मलको खरो वकालत र प्रयोग गरिरहेका खाद्य तथा कृषि विज्ञ मदन राई प्रकृतिको चक्रलाई नबिगारी खाद्य सुरक्षा चाहने हो भने रासायनिक मल र विषादीलाई विस्थापित नै गर्नुपर्ने बताउँछन्।

सेफ्टी ट्यांकको प्रयोगले वातावरणीय चक्र बिगार्न शुरू गरेको बताउने उनले दिसा–पिसाब र प्रयोग भइसकेको पानीबाट ललितपुरको ढोलाहिटीस्थित घरमा लहलह तरकारी र फलफूल सपारेका छन्। आकाशे पानी संकलन र रिचार्ज समेत गर्ने गरेका उनी भन्छन्, “रासायनिक मल र विषादी विष हुन् भने प्रांगारिक मल जीवन हो।”

तत्काल फाइदाको लागि गरिने रासायनिक मल र विषादी प्रयोगले भयावह समस्या निम्त्याउने राई बताउँछन्। हरियोलाई जीवन भन्ने राई असल चिजबिच उपभोगको लागि बनेको शरीरमा विषादी पठाएपछि स्वस्थ जीवनको आशा गर्न नसकिने बताउँछन्।

हुन पनि जमीन र समुद्रसम्मलाई प्रदूषित पारिरहेको विषादीले मानिसलाई स्वस्थ बनाउने कल्पना गर्न सकिंदैन। तर, नेपालमा १२ प्रतिशत खाद्यान्न र तरकारीमा त प्रतिबन्धित विषादी नै हालेको भेटिएको छ। नेपालमा आफैं खाने विषादी नहाली र बिक्रीका लागि अत्यधिक विषादी हालेर तरकारी उत्पादन गर्ने किसानहरू पनि छन्।

ललितपुर टीकाथलीका ८५ परिवार किसानले ९० प्रतिशत तरकारीमा विषादी प्रयोग गर्ने गरेको हालैको एक अध्ययनले पुष्टि गरेको छ, जुन बिक्रीका लागि हो।

विषादी छर्दा मास्क, पञ्जा आदि लगाएर सुरक्षित उपाय नअपनाएको पनि अध्ययनले देखाएको थियो। अध्ययन अनुसार, किसाले तरकारी उत्पादन बढाउन प्रतिबन्धित रासायनिक विषादी अर्ग्यानोफोस्फेट मेटासिड सबभन्दा बढी प्रयोग गरिरहेका छन्।

तर, लागतका हिसाबले विषादीभन्दा जैविक मल प्रभावकारी हुने र अर्ग्यानिक उत्पादनले आज नपुगे पनि भोलि पुर्याषउन सकिने मदन राईको तर्क छ। त्यसको लागि मल बनाउने तरिकामा सुधार गर्नुपर्ने उनी बताउँछन्।

अर्ग्यानिक अभियानकर्मी रामप्रसाद पाठक भने माटो बिग्रिइसकेकाले शुरुका तीन–चार वर्ष जैविक बनाउँदा उत्पादन घट्ने र बढी मल हाल्नुपर्ने भएकाले अर्ग्यानिक उपजको लागत स्वतः बढ्ने बताउँछन्।

“रासायनिक मल र विषादीले ‘मास स्केल’ मा उत्पादन गरिरहेका किसान एकै पटक जैविकमा जान सक्दैनन्”, पाठक भन्छन्, “त्यसबाहेक, कस्तो उत्पादन अर्ग्यानिक कस्तो गैर–अर्ग्यानिक भनेर प्रमाणित गर्ने स्पष्ट मापदण्ड पनि निर्धारण हुनसकेको छैन।”

जैविकमा जाने किसानका लागि भने अब बजारको समस्या छैन– शहरहरूमा अर्ग्यानिक वस्तुको माग बढ्न थालेकोले।

शहरहरूमा अर्ग्यानिक तरकारी र फलफूल मात्र बिक्री गर्ने पसलहरू थपिइरहेका छन्। राजधानीको दरबारमार्गस्थित मायालु सेन्टरमा अर्ग्यानिक तरकारी, कफी, ट्राउट माछा, चिया आदिका १८ वटा पसल यो जेठभित्रै सञ्चालनमा आउँदैछन्।

प्रयोग कसरी

खाद्य तथा कृषिविज्ञ राई दिसा–पिसाबका अतिरिक्त बस्तुभाउको गोबर, मूत्र, सूली, घाँसपात लगायतका कुहिने वस्तुबाट व्यवस्थित रूपमा तयार पारिएको जैविक मलबाट रासायनिक मलले भन्दा धेरै उत्पादन गर्न सकिने र त्यस्ता बालीमा रोग पनि कम लाग्ने बताउँछन्।

त्यसका लागि मल–मूत्रमा रहने नाइट्रोजनलाई उड्न र बग्न नदिई सुरक्षित राखेर मल बनाउनुपर्ने राईले बताए। तर, देशभरका किसानलाई राम्रो जैविक मल बनाउने यो विधि थाहा छैन।

“यसैगरी, गोमूत्र, नीमपत्ती, लसुन, सुर्ती, मरिच, खरानी, वनमारा, तितेपाती, खिर्रो आदि प्रयोग गरेर बिरुवालाई सजिलै रोगब्याधीबाट जोगाउन सकिन्छ”, राई भन्छन्, “शहरका करेसाबारी र कौसी खेतीमा भान्छाको फोहोर, परिवारको दिसा–पिसाब र प्रयोग भइसकेको पानीबाट फुर्सदमा गजबको खेती गर्न सकिन्छ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>