थप समाचारशनिबार, जेठ २४, २०७१

कौतुकमय केरुङ

फुर्पा तामाङ

रसुवागढीको खम्पाटार खोंचबाट केरुङ जाने बाटो। तस्वीर: फुर्पा तामाङ

भोटे भाषामा ‘कीरोङ’ को अर्थ हुन्छ– आनन्दी वा रमाइलो उपत्यका। केरुङ शब्द ‘कीरोङ’ कै नेपाली अपभ्रंश हो। रसुवाका तामाङको जिब्रो भने ‘केरोङ’ मा बानी परेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने केरुङ अग्लो उपत्यका हो। यो ठाउँ व्यापारिक दृष्टिकोणले मल्लकाल, शाहकाल र अहिले पनि चर्चामै छ।

आरामले केरुङ घुम्ने हो भने दुई दिन छुट्याएर रसुवाबाट उकालो लाग्दा हुन्छ, नत्र त एकै दिनमा पनि भ्याइन्छ। सवारी साधन भने आफ्नै हुनुपर्छ। यो ठाउँ धुन्चेबाट ५४ किलोमिटर र काठमाडौंबाट १७१ किमी उत्तर–पश्चिममा पर्छ। उहिले केरुङ पुग्न महीनौं लाग्थ्यो।

हाम्रा पितापुर्खाहरूले केरुङ र जोङ्खा आसपासको लेकका जडीबुटी ‘नेपाल’ (काठमाडौं) पुर्या्उँथे। दशैं–तिहारमा केरुङका भेडा–च्याङ्ग्रा र अरु वेला ऊन, नुन, स्वीच्या (चियापत्ती), हिप्श्या (च्याङ्ग्राको सुकुटी), कम्बल आदि जिनिस पनि ‘नेपाल’ जान्थ्यो। नेपालबाट चामल, दाल, चिउरा, धातुका सामग्री आदि केरुङ आउँथ्यो।

अहिले केरुङबाट ब्ल्याङ्केट, थर्मस, जुत्ता, रुमाल, ट्वाइलेट पेपर, बियर, मदिरा आदि नेपाल जान थालेका छन् भने नेपालबाट मैदा, चामल, चिउरा, चिनी, वनस्पति घ्यू, सुनचाँदीका गरगहना र अन्य धातुका सामान केरुङमा बिक्री हुन्छ। आकर्षक पर्यटनस्थल बनेको केरुङ आउँदा–जाँदा हिमालमुनि याक, चौंरी, भेडा, च्याङ्ग्रा, घोडा तथा परम्परागत भोटे जीवनशैली हेर्न पाइन्छ।

चालु झोलुङ्गे पुल वारि नेपाली भन्सार (बायाँ) र पारि चिनियाँ भन्सार । तस्वीर: फुर्पा तामाङ

आधुनिकताउन्मुख केरुङ बजारबाट गाडीमा १०–१५ मिनेटको यात्रापछि मनोरम तोप्ला हाङकङ छाँगो पुगिन्छ। छाँगोको झोलुङ्गे पुल मुनिबाट केरुङ खोला (तल भोटेकोशी) बगेको छ। पुल पारिको गेबु गाउँको गुफामा उहिले गुरुरिम्बोर्क्षे (पद्म सम्भव) ले तपस्या गरेका थिए।

पुरानो साइनो
नेपाल–तिब्बत युद्ध (वि.सं. १७८८) ले हालको केरुङ, दिगार्चा, टासी लुम्बु आदि क्षेत्र नेपालको सरहदभित्र पारेको थियो, तर वेत्रावती सन्धिमा टुंगिएको नेपाल–चीन युद्ध (सन् १७९२) ले भने पुरानै सीमा कायम गरेको थियो। केरुङको प्राचीन ‘फापा रङ्जेन’ गुम्बा नेपाली वास्तुको राम्रो नमूना हो। संसारभरका बौद्धमार्गीहरू यो गुम्बामा पुग्दा कृतकृत्य हुन्छन्।

पहिले जस्तो आफूखुशी उत्तरी भूभागमा विचरण गर्न नपाउने रसुवा जिल्लाका तामाङहरूको मौलिक गायनमा केरुङको फापा रङ्जेन, मानी ग्यादङ गे, सिच्युङ, जोङ्खाको क्षेदी गुम्बा, डकर गुम्बा, ने गाउँ, गाङदर्ज्युङ, चुप्लागाङको गुम्बा, ल्हासा आदिको वर्णन हुन्छ।

केरुङ उपत्यकालाई घेरेको हिमाली श्रृङ्खलामा हिउँदभर हिउँ पर्ने हुनाले बसन्तकालमा यता आउनु बढी उपयुक्त हुन्छ। रसुवागढी तरेर तिब्बत टेकेपछि हरेक नेपालीलाई यतापट्टिको भौतिक विकास र वन संरक्षणले छक्क पार्छ। पारि नेपाली पाखामा डढेलो लाग्दा यतापट्टिका चिनियाँ सेना, प्रहरी र जनता सबै दमकल र पानी तयार पारेर बस्छन्।

रसुवा र केरुङ क्षेत्रको वन–जंगलको तुलना हुनै सक्दैन। रसुवागढीको खम्पाटार खोंचबाट दुई लेनको चिल्लो सडक भएर केरुङ उक्लिंदा शेरेफु, माम, अपलेप्सा, ठोङ्सा, लाङ्क्षु, मुलथङ्गा लगायतका क्षेत्रमा संरक्षणको लोभलाग्दो परिदृश्य देखिन्छ। मुलथङ्गामा १०८ मानी/क्षोर्तेन (मानी ग्यादङ गे) को अवशेष छन्।

केरुङमा नेपाली पर्यटक।

केरुङ क्षेत्रको भौतिक विकास द्रूत गतिमा छ। चिनियाँ व्यापारीहरूले ठूल्ठूला डिपार्टमेन्टल स्टोरहरू खोल्न थालेका छन् भने स्थानीय तिब्बतीहरू काष्ठकला, निगालोका सामान, ऊनी कपडा आदि बिक्री गरिरहेका देखिन्छन्।

केरुङमा जम्ने नेपाली व्यापारीमा ठूलो स्याफ्रुका डेनी तामाङ अग्रपंक्तिमा छन्। उनको नोरलिङ रेस्टुरेन्टले यो उदीयमान शहरमा नेपाली स्वाद फैलाइरहेको छ। डेनीको नोरलिङ ल्हासाका धनी भोटे र चिनियाँहरूको गन्तव्य हुन थालेको रहेछ। स्तरीय पर्यटन सेवाका लागि गत वर्ष स्थानीय सरकारले २० हजार युआन (रु.३ लाख) राशी सहित कदरपत्र पनि दिएछ, डेनीलाई।

केरुङ आगामी केही वर्षभित्रै अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र बन्दैछ। ल्हासाबाट रेल सेवा शुरु भएपछि र त्यसले गल्छीहुँदै नेपाल–भारत सीमा जोडेपछिको केरुङमा आर्थिक चमत्कार हुनेछ। त्यसको फाइदा लिन अहिलेदेखि नै गोल्जोङ, टिमुरे र लाङटाङका केही तामाङ युवक लागिपरेका देखिन्छन्, जुन राम्रो पक्ष हो।

यो भोलिको कुरा हो, तर घुमन्तेहरूका लागि भने केरुङ आजै पुग्न लायकको ठाउँ छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>