व्यक्तित्वआइतबार, जेठ २५, २०७१
संरक्षणको नशा
इन्डिया की बघिनी नेपाल मे आ गई,
नेपाल के बाघ से प्यार हो गई ।
इन्डिया की हात्तीनी नेपाल मे आ गई,
नेपाल के हात्ती से लभ हो गई ।
इन्डिया की गैंडी नेपाल मे आ गई,
नेपाल के गैंडा से सादी हो गई … ।
यो गीत भदैले नै कथेका हुन्, जसलाई २२ पुस २०६२ को दिउँसो बर्दियाको खाता जैविकमार्गमा खरखडाई (खर काट्ने काम) मा जाँदा बाघले आक्रमण गरेको थियो । साथीहरू भागेपछि उनलाई बाघले घोप्टो पारेर च्याप्यो । “केहीक्षणको घम्साघम्सीपछि बाघ पिठ्यूँमा चढेको थियो, निरुपाय भएर दाहिने कुहिनोले त्यसको छातीमा हिर्काएँ” भदै सम्झ्न्छन्, “त्यसपछि के सोच्यो कुन्नि, बाघ मलाई छोडेर हिंड्यो, मैले अनि टाप कसें ।”
केहीबेर दगुरेपछि खाता गाउँछेउको चउरमा ढलेका भदैलाई गाउँलेहरूले अस्पताल पुर्याए । उनको देब्रे आँखा भने बाघले झिकीसकेको थियो । गाउँलेहरूले ‘मान्छेको रगतमा पल्कियो, यो बाघलाई मार्नै पर्छ’ भनेर तयारी गर्दा भदै जोगाउनतिर लागे । बाघसँग लडेपछि आफूलाई वन्यजन्तु जोगाउनुपर्छ भन्ने सुर चढेको उनी बताउँछन् । त्यसैको परिणाम हो– बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविकमार्ग, डल्ला गाउँ र भदै थारू आज संरक्षणका लागि संसारभर चिनिएका छन् । “सबैले साथ दिंदा वन्यजन्तु संरक्षण गरेर संसारलाई लोभ्याउन सक्ने भएका छौं”, उनी भन्छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज छेउछाउका सामुदायिक वनहरूमा जतिखेर पनि हात्ती, गैंडा लगायतका वन्यजन्तु हेर्न सकिन्छ ।
‘होम–स्टे’ का रूपमा परिचित डल्लामा वन्यजन्तुप्रेमीहरूको घुईंचो लाग्छ । तिनैमध्येका एक हुन्– चर्चित हलिउड अभिनेता लियोनार्डो डिक्यप्रियो । उनले अमेरिकामै भदैको फोटो देखेका थिए । भदै अहिले पनि २०६३ मा डल्ला आउँदा डिक्यप्रियोले दिएको चश्मा लगाउँछन् । संरक्षणकर्मी भदैमाथि थुप्रै डकुमेन्ट्री बनेका छन् र संसारभरका मानिसले हेरेका छन् ।
आफ्ना बाबुबाजे जस्तै भदैले पनि २९ वर्षसम्म कमैया भएर जमिनदारको खेतबारी जोते । २०५७ सालमा कमैयाबाट मुक्ति पाएपछि सामुदायिक वनसँग जोडिएका उनी २०६० मा अध्यक्ष वने । त्यसपछि उनीमाथि चोरशिकारी र माओवादीदेखि सुरक्षाकर्मीसम्मले पटक–पटक आक्रमण गरे । सशस्त्र द्वन्द्वको समयमा सबभन्दा बढी चोरीशिकारी बर्दिया निकुञ्जमै भयो भने विद्रोही माओवादी र सुरक्षाकर्मीहरूले उनैलाई तारो बनाए । “बाघ र गैंडा शिकार गर्ने नेपाल–भारतका तस्करहरूले घरमै आएर धम्क्याउँथे, माओवादी र सेनाले बन्दूक देखाउँथे”, भदै भन्छन्, “तैपनि, कसैसँग डराइनँ, मरे पनि मरौंला भन्ने सोचें, गाउँलेले पनि साथ दिए ।”
संरक्षणकर्मीको दुःख
एउटा असल संरक्षणकर्मीको रूपमा नामी भइसकेको यो वेला भने घरपरिवारले धम्क्याउन थालेको भदै बताउँछन् । त्यसको कारण हो, उनले घरपरिवारलाई आर्थिक टेवा दिन नसक्नु । परिवारको आर्थिक अवस्था जटिल बन्दै जाँदा उनले यो वेलासम्म संरक्षणमा दिएको समय गफमा विताए जस्तो भएको छ । “परिवारको आवश्यकता बढ्दै गयो”, भदै भन्छन्, “घरमा कहिले नून हुँदैन, कहिले तेल हुँदैन, कहिले दालचामल हुँदैन, चाहिएको वेला लुगाफाटो हाल्न सकिंदैन ।”
रात–दिन संरक्षणकै काममा हिंडिरहने उनको भरपर्दो आयस्रोत छैन । पाँचकट्ठा जग्गाले सात जनाको परिवार पाल्न धौ–धौ छ । बाघसँग लडेका उनको दुःखको कथा सुन्न कोही तयार हुँदैनन् । उनले पछिल्लो पटक नेपालका राष्ट्रिय पत्रपत्रिकाका सम्पादकहरूसँग भेटघाट हुँदा केही उपाय निस्केला भन्ने सोचेका थिए रे ! “तर, सम्पादकहरू पनि नेता जस्तै केही गर्न नसक्ने हुँदारहेछन्”, बेस्सरी हाँस्दै भदैले भने, “तिम्रो पनि घरपरिवार चलाउनु पर्ला, जागीर खान्छौ कि भनेर कसैले सोधेनन् ।”
१७ वर्षदेखि संरक्षणमा सक्रिय भदै खासमा घरपरिवार चलाउने सानोतिनो रोजगारीको खोजीमा छन् । लियोनार्डोले यहाँ तिमीले घुमायौ, मेरो देश आउनू, म घुमाउँला’ भनेका थिए, तर उनलाई अमेरिका केवल सुनेको कुरा मात्रै हो ।
बच्चु विक, बर्दिया
साप्ताहिक खबरपत्रिका हिमालबाट