रिपोर्टसोमबार, जेठ २६, २०७१

मुस्ताङमा युरेनियम

हिमालखबर

–रमेश कुमार

माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्र । तस्वीरहरुः खानी तथा भूगर्भ विभाग

खानी तथा भूगर्भ विभागको टोलीले माथिल्लो मुस्ताङमा बहुमूल्य युरेनियमको ठूलो खानी रहेको पत्ता लगाएको छ । जेठको पहिलो साता प्रारम्भिक अध्ययन गरेर तीन साताअघि फर्किएको टोलीले लोमान्थाङ क्षेत्रको १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइको क्षेत्रमा युरेनियम भण्डार भेटिएको विभागका महानिर्देशक सर्वजितप्रसाद महतोले बताए । “त्यो क्षेत्रको पत्थरमा गामा रे रेडियोधर्मी विकिरण प्रशस्त भेटिएको छ, जसले त्यहाँ युरेनियम भण्डार रहेको पुष्टि गर्छ”, विभागका प्रमुख महतो भन्छन् । उनका अनुसार, यत्रो आकारको युरेनियम खानी संसारमै गनिनेमा पर्छ ।

विभागको प्राविधिक सहितको टोलीले थाकखोला सहितको स्थलगत अध्ययन गर्दा युरेनियम भएको पुष्टि गरे पनि त्यसको गुणस्तर र परिमाणबारे प्रष्ट तस्वीर आउन भने अझै बाँकी छ । प्रयोगशालामा रासायनिक परीक्षण गरेपछि मात्र युरेनियमको गुणस्तर पत्ता लाग्ने विभागका उपमहानिर्देशक हिफजुर रहमान बताउँछन् । तर, प्रारम्भिक अनुसन्धानले मध्यम गुणस्तरको युरेनियमको संकेत गरेको उनले बताए । संसारभरि प्रति टन प्रशोधनमा १००–१५० ग्रामसम्म युरेनियम भेटिंदा पनि उत्खनन् गरिन्छ । यसअघि, मकवानपुरको तिनभङ्गाले क्षेत्रमा गरिएको अध्ययनले त्यहाँ ४० देखि १४०० ग्राम प्रति टन युरेनियम रहेको देखाएको थियो । “मुस्ताङमा परिमाण र गुणस्तर दुवै हिसाबले तिनभङ्गालेभन्दा धेरै युरेनियम भएको अनुमान छ”, रहमानले भने ।

विभागले केहीअघि बैतडीको बाङ्गाबगर, गोराङ लगायतका क्षेत्रमा अध्ययन गर्दा पनि युरेनियमको भण्डार फेला पारेको अध्ययन टोलीमा रहेका विभागका सिनियर डिभिजनल जिओलोजिस्ट धर्मराज खड्का बताउँछन् । १३ वर्षअघि अध्ययन गर्दा पनि विभागले बैतडीमा युरेनियमको संकेत भेटेको थियो । विभागको अध्ययनले मकवानपुर, सिन्धुली, बझाङ, बाजुरा र काठमाडौंका २४ ठाउँमा युरेनियम रहेको देखाएको थियो । तर, मकवानपुरको तिनभङ्गाले, सिन्धुलीको बुका खोला र काठमाडौंको शिवपुरीमा अरू ठाउँमा भन्दा बढी युरेनियम हुनसक्ने अध्ययनले देखाएको थियो ।

परीक्षण गाह्रो

पहिलो चरणको अध्ययन गरे पनि युरेनियमको रासायनिक परीक्षण र विस्तृत अध्ययन गर्न भने गाह्रो रहेको विभाग स्रोत बताउँछ । युरेनियम खोज्न संयुक्त राष्ट्रसंघ अन्तर्गतको ‘अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी’ (आईएईए) ले सहयोग गरेको विभागसँग परीक्षण गर्ने संयन्त्र छैन । दोस्रो चरणको एक्सआरएफ परीक्षणका लागि आईएईएले मेशीन दिए पनि रासायनिक परीक्षण गर्ने ल्याब र प्रविधि नभएको महानिर्देशक महतो बताउँछन् । रासायनिक परीक्षण नगरी युरेनियमको गुणस्तर पत्ता लगाउन सकिंदैन । आईएईएले विभागका अधिकारीहरूलाई तालिम तथा विभिन्न उपकरण सहायता भने दिएको छ । विद्युत् उत्पादन, आणविक बम र परमाणु परीक्षण गर्न काम लाग्ने युरेनियम नेपालमा पाइने संकेत देखिएपछि आईएईएले यस्तो सहयोग गरेको हो ।

बैतडीको बांगाबगरमा युरेनियम भेटिएको चट्टान ।

ढुंगा र माटोबाट युरेनियम छान्ने प्रविधि तथा ठूलो लगानी चाहिने भएकाले नेपालले युरेनियमबाट तत्काल फाइदा लिन गाह्रो छ । यसको उत्खनन्का लागि अहिलेसम्म कानून पनि छैन । आणविक ऐनको ड्राफ्ट भने अहिले कानून आयोगमा पुगेको छ । विभागका उपमहानिर्देशक रहमान नेपालले उत्खनन् गरेर आणविक भट्टी सञ्चालन गर्न र अन्य हिसाबले उपयोग गर्न नसके पनि सरकारले नयाँ संरचना खडा गरेर पहिलो चरणको काम गर्न सक्ने बताउँछन् । युरेनियम मिसिएको माटो र ढुंगाबाट युरेनियम छानेर ‘एल्लो केक’ निर्माण गर्न र त्यसलाई विदेश निर्यात गर्न सकिने उनको भनाइ छ । त्यसका लागि विदेशी कम्पनीहरूको आर्थिक र प्राविधिक सहायता लिनुपर्ने उनको सुझव छ । एल्लो केकको मूल्य विदेशी बजारमा प्रति केजी १५०–२३० डलर छ ।

भारत र पाकिस्तानमा युरेनियम पाइएको ग्रेनाइड र साइनाइड चट्टान नेपालमा पनि भएकाले तिनमा युरेनियम हुनसक्ने वरिष्ठ भूगर्भविद् कृष्णप्रसाद काफ्ले बताउँछन् । मुस्ताङमा पत्रे चट्टानमा र बैतडीमा कायान्तरिक चट्टानमा युरेनियम भेटिएको थियो ।

राम्रो सम्भावना

बहुमूल्य युरेनियमको उत्खनन् गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्ने हो भने नेपालको अर्थतन्त्रले फड्को मार्न सक्छ । औद्योगिक विकास गरिरहेका छिमेकी भारत र चीन युरेनियमको सम्भावित बजार हुनसक्ने उपमहानिर्देशक रहमान बताउँछन् । आणविक ऊर्जा उत्पादनका लागि भारतले संसारकै ठूलो भण्डार रहेको अष्ट्रेलियासँग युरेनियम किन्ने गरेकोे छ । अविच्छिन्न विकिरणहरू फ्याँक्ने यो रेडियोधर्मी धातुको सानो परिमाणबाट ठूलो मात्रामा विद्युत् उत्पादन गर्न सकिन्छ । ऊर्जाको अत्यन्त शक्तिशाली यो स्रोतबाट संसारका धेरै देशले विद्युत् उत्पादन गर्छन् ।

आणविक हतियार र चिकित्साविज्ञानमा समेत प्रयोग हुने शुद्ध युरेनियम एक ग्रामको मूल्य डेढ करोड रुपैयाँभन्दा बढी पर्छ । सुरक्षाको हिसाबले पनि संवेदनशील रहेको यो धातुको भण्डार र त्यसको गुणस्तरबारे विस्तृत जानकारी सार्वजनिक गरिंदैन । त्यही कारण नेपालका कतिपय ठाउँमा विदेशीले सरकारलाई जानकारी नगराई युरेनियमको अध्ययन गरेको बताइन्छ । चार वर्षअघि तत्कालीन प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठले एक भारतीय वैज्ञानिकलाई उद्धृत गर्दै माथिल्लो मुस्ताङ क्षेत्रमा बहुमूल्य युरेनियमको खानी रहेको बताएका थिए । ती वैज्ञानिकले दशकअघि नै प्रयोगशाला परीक्षण गर्दा रेडियोधर्मी विकिरण फेला पारेका थिए । मकवानपुरको तिनभङ्गालेमा पनि दर्जनौं पटक विदेशीहरूले माटो र चट्टान परीक्षण गरेका छन् ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>