टिप्पणीसोमबार, जेठ २६, २०७१

मोदीको उदयमा आशा र आशंका

शंकर तिवारी

नौ चरणमा ३६ दिनसम्म भएको भारतको १६औं लोकसभा निर्वाचनले गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई १४औं प्रधानमन्त्री बनायो । निम्नवर्गीय परिवारका कुनै वेला चिया बेच्ने मानिसलाई सवा अर्ब भारतीयको ‘भाग्य विधाता’ बनाएको यो निर्वाचनको परिणामले भारतीय राजनीतिमा धेरै आशा, उमंग र केही संशय पनि जन्माएको छ ।

सन् २००१ मा गुजरातमा मुख्यमन्त्रीको शपथ खाएपछि ‘स्काई इज द लिमिट फर मी’ भनेका मोदी १३ वर्षपछि दिल्लीको संसदमा प्रधानमन्त्री बनेर प्रवेश गरे । त्यसवेला उनले संसदमा घुँडा टेकेर साष्टाङ्ग दण्डवत् गर्दै संसद्लाई ‘प्रजातन्त्रको मन्दिर’ पनि भने । भारतीय जनता पार्टीलाई पहिलोपल्ट बहुमत दिलाएका उनी र उनका सहयोगीबारे अहिले भारतमा मात्र नभएर दुनियाँभरि चासो छ ।

कंग्रेसको असफलता कारक

दिल्लीमा आयोजित कमनवेल्थ खेलकुदमा भएको भ्रष्टाचार सार्वजनिक भएपछि सत्तारुढ कंग्रेसको छवि बिग्रिएको थियो । त्यही मुद्दालाई लिएर उदय भएको आम आदमी पार्टीले दिल्ली विधान सभा निर्वाचनमा सफलता पाए पनि ४९ दिनमै सरकार छाडेकाले लोकसभा निर्वाचनमा सफलता दोहोर्‍याउन सकेन । त्यसैले कंग्रेस र समीक्षकहरूले अनुमान गरे विपरीत आपले बीजेपीलाई यो निर्वाचनमा धक्का दिन सकेन ।

कंग्रेस नेतृत्वको गठबन्धन यूपीएको १० वर्षे शासनमा अर्थशास्त्री मनमोहन सिंह प्रधानमन्त्री थिए । तर, सत्ता सञ्चालनमा भने कंग्रेस अध्यक्ष सोनिया गान्धी निर्णायक थिइन् । यही कारण, एक दशक सत्ता चलाए पनि मनमोहन कमजोर प्रधानमन्त्री भनेर चिनिए । १२९ वर्ष पुरानो कंग्रेस ५४३ सदस्यीय लोकसभामा ४४ सीटमा खुम्चिनुको एउटा कारण यही द्वैध सत्ता पनि रहयो । त्यसमाथि कंग्रेसले प्रमुख प्रचारक बनाएको राहुल गान्धीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने आँट गरेन । यसलाई पनि मोदीले ‘कुनै पनि आमाले हार्ने युद्धमा आफ्नो छोरालाई शहीद बनाउन चाहन्नन्’ भनेर कंग्रेसलाई कमजोर देखाउने अस्त्र बनाए ।

केही वर्षअघिसम्म गरेको अकल्पनीय आर्थिक वृद्धि र गरीबी निवारणको बृहत् कार्यक्रमलाई कंग्रेसले मतदातासमक्ष पुर्‍याउन सकेन । समृद्धिको मनमोहनलाई र वितरणको जस सोनियालाई दिने भन्दै कंग्रेस अलमलियो । तर, गुजरात मोडललाई मोदीले विज्ञापनमा पस्कन सके । यस्तो अवस्थामा निर्वाचन अघि नै कंग्रेस प्रतिरक्षात्मक बन्न पुग्यो ।

आर्थिक घोटाला सार्वजनिक भएपछि मनमोहनलाई राजीनामा गराएर राहुललाई प्रधानमन्त्री बनाउँदै युवालाई मन्त्री र पाका नेताहरूलाई पार्टी दिएको भए ‘नमोसुनामी’ कंग्रेसका निम्ति यति विनाशकारी नहुन सक्थ्यो । दिल्ली विधानसभाको पराजयबाट पाठ नसिक्नु र ‘आप’ लाई ‘सेफ्टी भल्भ’ ठान्नु उसको अर्काे कमजोरी रह्यो ।

२९ वर्षको उमेरमा सन् १९७१ देखि राष्ट्रिय स्वयंसेवक संघमा पूर्णकालीन कार्यकर्ता बनेका मोदी १९८७ देखि बीजेपीमा संगठक बनेर प्रवेश गरेका थिए । गुजरातमा ठूलो हावाहुरीले लाखौं मानिस विस्थापित भएर भाजपाकै मुख्यमन्त्री बेशुभाई पटेल असफल भएपछि पूर्व प्रधानमन्त्री अटलविहारी वाजपेयीले मोदीलाई मुख्यमन्त्री बनाएका थिए, जति वेला उनी विधानसभा सदस्य पनि थिएनन् । २००३ मा मुस्लिम धर्मावलम्बी मारिएको धार्मिक दंगा रोक्न पहल नगरेकोमा उनी निकै आलोचित भए ।

बीजेपी—रासस सम्बन्ध

मोदीले आफू प्रधानमन्त्री बन्नुमा संघ परिवारका पाँच पुस्ताको कठिन परिश्रमलाई जस दिएका छन् । बढ्दो मुस्लिम प्रभावबाट हिन्दू धर्मलाई बचाउन १९२५ मा स्थापना भएको राससले १९८० मा बीजेपी बनाएको हो । वैचारिक शुद्धता जोगाउने भन्दै राससले भने कहिल्यै निर्वाचनमा भाग लिएन । १९७५ मा इन्दिरा गान्धीलाई परास्त गर्ने जेपीको नेतृत्वको जनता पार्टीमा मिल्नुअघि राससले जनसंघ नामक राजनीतिक मोर्चा बनाएको थियो । जनता पार्टीमा विग्रह आएपछि जनसंघ भारतीय जनता पार्टीमा परिणत भयो । त्यसैले भाजपाको नेतृत्व निर्माणमा राससको भूमिका अन्तिम हुने गर्छ । मण्डल आयोगले जातीय राजनीतिको आधारभूमि तयार गरिदिएपछि कंग्रेस उत्तरप्रदेश र बिहारमा कमजोर हुँदा क्षेत्रीय दल र भाजपाले हिन्दी भाषी राज्यहरूमा प्रभाव बढाउने मौका पाएका हुन् ।

अटलविहारी वाजपेयी १९९८ मा पहिलोपटक प्रधानमन्त्री हुँदा रासस र भाजपाबीच टक्कर देखिएको थियो । तर, रासस र भाजपाको सम्बन्धलाई नजिकबाट नियालेका पत्रकार रामबहादुर राय वाजपेयी तत्कालीन राससका प्रमुखभन्दा उमेर र राजनीतिमा वरिष्ठ रहेको तथा पहिलो पटक भाजपाले केन्द्रमा सरकार चलाउने मौका पाएकाले दुईबीचको सम्बन्ध परिभाषित नहुँदा समस्या आएको बताउँछन् ।

अहिले भने रासस प्रमुख मोहन भागवत र मोदीबीच पुस्तान्तर नरहेको तथा मोदीले राससको नाम समेत नलिई विकासको मुद्दामा चुनाव लडेकाले त्यस्तो समस्या नआउने रायको भनाइ छ । त्यसमाथि, अरूको कुरा नसुनी निर्णय गर्ने मोदीको स्वभाव राससले चिनेकाले त्यस्तो समस्या आउने सम्भावना नरहेको उनी बताउँछन् ।

तर परिस्थिति रायले भने जस्तो सजिलो नहुन सक्छ । शासन गर्न अल्पसंख्यकको भावनाको पनि कदर गर्नुपर्ने भारतमा भाजपाले लोकसभा निर्वाचनमा ४८२ जना उम्मेदवार उठाउँदा सात जना मुस्लिमलाई मात्र टिकट दिएको थियो । उनीहरूमध्ये पनि कोही विजयी भएनन् । भारतीय संसदमा १९५२ यता सबभन्दा कम मुस्लिम सांसद् प्रतिनिधित्व भएको यही पटक हो । चुनावी परिणामपछि मुस्लिम लगायतका अल्पसंख्यक समुदायले घेराबन्दीमा परेको र अत्तालिएको महसूस गरे भने मोदीलाई सहज नहुन सक्छ । त्यसैले हुनुपर्छ, मन्त्रिमण्डलमा यो असन्तुलनलाई सम्बोधन गरिएको छ ।

अचम्मका मिहिनेती

चार घन्टा मात्र सुत्ने र बिहान एक घन्टा योग गर्ने मोदीले प्रधानमन्त्री बनेपछि कार्यालयमा दैनिक दश घन्टा विताउन थालेका छन् । मन्त्रीहरूलाई १०० दिने कार्यतालिका बनाउन निर्देशन दिएका उनको कार्यशैली बहुराष्ट्रिय कम्पनीको प्रमुख कार्यकारी अधिकृत जस्तो देखिन्छ । समकक्षी र कनिष्ठहरूलाई मात्र मन्त्रिमण्डलमा राखेर उनले बहुकेन्द्र बन्ने सम्भावनालाई पनि रोकेका छन् । मोदीलाई अहिले पूर्व प्रधानमन्त्रीहरू जवाहरलाल नेहरू र इन्दिरा गान्धी बराबर शक्तिशाली मानिएको छ । भाजपाका अध्यक्ष राजनाथ सिंह सरकारमा गृहमन्त्री छन् । त्यसमाथि, गुजरातमा सरकार चलाएको अनुभव पनि मोदीसँग छ ।

तर, गुजरातमा फरकमत दवाएको आरोप लगाउनेहरूले दिल्लीमा पनि मोदीलाई सजिलै बस्न नदिन सक्छन् । चुनावको वेला ठूलो धनराशी खर्च गरेकाले उनको पक्षधर बनेका मिडिया सधैं त्यस्तै रहन्छन् भन्ने छैन । संचारमाध्यमको टीआरपी लोकप्रियता गौरव गाथा गाउँदा भन्दा आलोचनाले नै बढाउँछ । यो मोदीले पनि बुझेकै छन् ।

यस्तो अवस्थामा दक्षिणपन्थी विगत भएका पार्टीबाट प्रधानमन्त्री बनेका मोदी सरकारका नीति र कार्यक्रममा दक्षिणपन्थी प्रभाव देखिन पनि सक्छ । नेहरू र त्यो वेलाका राष्ट्रपति राजेन्द्रप्रसादबीच धार्मिक कार्यक्रममा भाग लिने नलिने बारे विवाद भएर सरकारप्रमुख र राष्ट्राध्यक्ष दुवैले त्यस्ता कार्यक्रममा भाग नलिने सहमति बनेको इतिहास छ । तर, यो परम्परालाई गंगा आरती गर्दै मोदीले तोडिसकेका छन् ।

तर, अमेरिका जस्तै बनाउने सपना मध्यमवर्गलाई देखाएर मोदी सत्तामा पुगे । आफू निम्नवर्गीय परिवारमा जन्मिएको तथ्यलाई भजाउँदै उनले अरू निम्नवर्गीयलाई पनि त्यो ठाउँमा पुग्न सकिने सपना देखाए । २००५ देखि २००९ सम्म ९ प्रतिशतको आर्थिक वृद्धि रहेको भारतमा आर्थिक वृद्धि घटेर ५ प्रतिशतको हाराहारीमा झ्रेको र मुद्रास्फीति ८.६ प्रतिशत पुगेकोले मोदीलाई आर्थिक वृद्धिदर उकास्दै रोजगारी सिर्जना गर्न भने सजिलो नहुन सक्छ । त्यसैले, गुजरातमा विकासको मोडल देखाएका उनले राष्ट्रिय स्तरमा त्यसलाई दोहोर्‍याउन सक्छन् वा सक्दैनन् भन्ने अहिले सबैको चासो छ ।

दक्षिण एशियाका छिमेकीलाई शपथ ग्रहण समारोहमा बोलाएर उनले छिमेकीलाई रिझउने तथा उनीहरूको अनुमोदन लिने बुद्धिमत्ता देखाइसकेका छन् । चीनसँग उनको सम्बन्ध पहिल्यै नै सुमधुर छ । पहिले भिसा नदिएको अमेरिकाले पनि उनलाई भ्रमणको निम्तो दिइसकेको छ । यस्तो अवस्थामा मित्र र भक्तहरूको घेरा तथा सन्त र महन्तको प्रभावबाट मुक्त भएर काम गर्न सके भने उनी सफल हुने सम्भावना बढी छ । तर, फरक मतको सम्मान गर्न र अल्पसंख्यकसँग व्यवहार गर्न जानेनन् भने उनले पाएको जनमत १९७७ मा जनता पार्टीले पाए जस्तै क्षणभंगुर पनि बन्न सक्छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>