ब्लगमंगलबार, जेठ २७, २०७१

गहन छलफल

महेश थापा

अघिल्लो संविधानसभाका माननीयहरूले संविधानको बोक्रा मात्र केलाए। चारवर्षे कार्यकालमा उनीहरूले गुदी कोट्याउन खोजेको कहिल्यै देखिएन। मजाक–मजाकमै जागिर पकाएका सभासद् महोदयहरू संविधानसभा विघटन हुने अन्तिम घडीसम्म पनि ‘संविधान त जारी गरिहाल्छौं नि’ भन्दै रेला गरिरहेका देखिन्थे भने नयाँ संविधानसभाले पूर्णता नै नपाई गम्भीर बहसमा मग्न भए होलान् भन्ने समाचार पत्याएर पटमूर्ख पार्टीको अध्यक्ष बन्ने रहर को गरोस्? त्यसमाथि, शीर्ष नेता नै बहसमा ओर्लिएको समाचार त ‘ढाँटको कुरा खाई पत्याउनु’ भने जस्तै भयो।

नभन्दै, संविधानको गुदी केलाउन मग्न भनिएका एक सभासद् नयाँबानेश्वर चोकमा बदाम फोडिरहेको भेटिंदा मेरो मुख चिलाइहाल्यो, “माघ ८ मै संविधान जारी गर्न कम्मर कस्नुभएको छ रे नि!”

“जनप्रतिनिधिको मनोबल खस्काउन खोज्ने तपाईं प्रतिक्रियावादी खेमाको मतियार पर्नुभो कि कसो?” आफ्नो कमरबन्दलाई थप एक खापा कस्दै माननीयले आँखा तरे।

“तपाईंको क्रियामाथि प्रतिक्रिया दिएकोले तात्कालिक रूपमा प्रतिक्रियावादी भन्दा आपत्ति छैन, मलाई!”

“माघ ८ गते भन्दै भुल्याएर हामीलाई वचनको कच्चा सावित गर्न खोजेको?” माननीयले आवाजलाई अलि चर्को पारे, “आइतबारदेखि आइतबारसम्म एक हप्ता नाघ्दैन? माघ ७ गते मध्यरातसम्म काम फत्ते गरेर वचनवीर कर्ण सावित हुन्छौं।”

“भित्र गहन छलफल चलिरहेका वेला किन बाहिर टण्डली मारिरहेको त?” मैले पनि ठाडै सोधें।

“भौतिक रूपमा बाहिर देखिए’नि वैधानिक हिसाबले मेरो उपस्थिति सभा भवनभित्रै छ बुझयौ”, माननीय कुर्लिए, “नपत्याए हाजिरी रजिष्टर पल्टाउन सक्छौ।”

“यत्रतत्र सर्वत्र, कण–कणमा भगवान् भने जस्तै हो त मान्यवर?”

हान्ने साँढेले झैं पोरा फुलाइरहेका माननीयको रौद्ररुपले अनिष्टको संकेत गरेपछि त्यहाँबाट सभा भवनतर्फ लागें। मलाई भित्रको दृश्यले भरङ्ग बनायो। मरुभूमिबीच दुईचार बुट्यान देखिए जस्तै केही माननीय आपसी कानेखुशीमा व्यस्त थिए।

रोष्टममा एक जना केही भट्याइरहेका थिए। बहुमत खाली आसनहरूले कुनै निर्णय गर्न दबाब दिए भने के गर्ने भन्ने चिन्ताले होला, सभामुख पनि गम्भीरै देखिन्थे। “हाजिरी शतप्रतिशत छ भनिन्छ, तर माननीयहरू त औंलामा गन्न सकिने छन् नि!” अर्का एक दर्शकसँग जिज्ञासा राखें।

“हाजिर बजाएपछि कोही बोलेर बाहिरिइसके, कोही चमेनागृहतिर चिन्तन–मनन् गर्दैछन्। कोही संविधान जन्माउने बुद्धिवर्द्धक खेलमा अभ्यासरत छन् रे!”

“सभासद् महोदयहरू बुद्धिचाल खेल्न थाले?” म हौसिएँ।

“होइन, न्यायमूर्तिको निर्क्योलसँग सहमतहुँदै बौद्धिक खेल म्यारिजमा जमेका छन् रे!”

“यस्…!” पुछारतिरको टुकडीका एक माननीयले मुड्की कस्दै सहसा निकालेको स्वरले हाम्रो वार्तामा खलल पुर्‍यायो।

“विपक्षीको राज्य पुनर्संरचना सम्बन्धी धारणाले तपाईंको चित्त बुझया हो?” छेउका माननीयले विस्मय प्रकट गरे।

“कस्तो अन्टसन्ट कुरा गर्नुहुन्छ! ‘क्यान्डिक्रस’ को पहिलो लेभल बल्ल पार गरें”, माननीयले राहतको सास फेर्दै भने।

केहीबेर पछि ती माननीयको स्वर पुनः गुञ्जियो, “ओह नो…!”

“दोस्रो लेभल पार लागेन?” अर्का माननीयले सोधे।

“हत्तेरी! शून्य समयमा अर्थमन्त्रीको उछित्तो काढ्दै आफ्नो क्षेत्रका लागि योजना मागौंला भन्दैथें, संविधानसभा बैठक पो परेछ, पूरा दिन बर्बाद पारियो।”

“शून्य समय!” कुर्सीमा घुरिरहेका अर्का सभासद् बर्बराए, “निर्वाचन क्षेत्र विकास कोषको रकम पाँच करोड पुर्‍याउनुपर्ने माग म पनि राख्छु।”

“कार्यकर्ताबाट माथि उठ्न सकेकै रहेनछन् बाई यी त!” छेवैकी सभासद् महोदयाले ओठ लेपारिन्, “हामी नेतालाई सुन्ने समय के काम? भन्ने समय भा’पो त्यसरी हौसिनु।”

“…सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला… हाम्रो पार्टी संघीयता सम्बन्धी पूर्ववत् अडानबाट रत्तिभर टसमस नभएको पुनः स्मरण गराउँदै विदा हुन्छु। धन्यवाद!” रोष्टममा बोलिरहेका माननीय त्यतैबाट बाहिरिए।

म गम्भीरमान पनि गहन छलफलको परिदृश्य देखेर थप गम्भीर हुँदै हतार–हतार बाहिरिएँ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>