रमझमबुधबार, जेठ २८, २०७१
आईफा महोत्सवमा ४८ फिल्म (तस्वीरसहित)
‘आठौं नेपाल–अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव–२०७१’ काठमाडौंको राष्ट्रिय सभागृहमा २९–३१ जेठमा हुँदैछ । महोत्सवको संस्कृतिविद् सत्यमोहन जोशीले २९ जेठमा उदघाटन गर्दैछन् ।
यस पटकको महोत्सवमा विश्वका आदिवासी जनजातिका सबै विषयवस्तुका चलचित्र, छोटा चलचित्र, वृत्तचित्र, एनिमेसन र म्युजिक भिडियोलाई खुला गरिएको छ।
इन्डिजिनियस फिल्म अर्काइभ (आईफा) ले आयोजना गर्दै आएको महोत्सवमा जापानको आइनु आदिवासीको आइनु पाथ वेज टु मेमोरी, मलेशियाका दुसुनहरुको द संकन ग्रेभ्स् र पाकिस्तानको द कलर्स एन्ड द क्रिससेन्ट जस्ता वृत्तचित्र चयन भइसकेका छन्। यस पटक आदिवासी समुदायका कथामा आधारित एनिमेसन पनि देखाइँदैछ।
यो महोत्सवमा ल्याटिन अमेरिकाका मात्र ७ देशका १५ फिल्म प्रदर्शन हुनेछन्। नेपालका तामाङ, लिम्बू, मगर, थारु, राई, गुरुङ र थकाली गरी सात जनजातिका १२ ओटा लामा–छोटा फिल्म र म्युजिक भिडियो देखाइनेछ।
नेपालका आदिवासी समुदायमाथि विदेशीले बनाएका दुई ओटा वृत्तचित्र पनि छानिएका छन्। महोत्सवमा रामबाबु गुरुङ निर्देशित सफल नेपाली चलचित्र कबड्डी को विशेष प्रदर्शनी हुनेछ।
छानिएका फिल्महरु राष्ट्रिय सभागृहको दुई ओटा हलमा प्रदर्शन हुनेछन्। महोत्सवका निर्देशक सञ्जोग लाफा मगरका अनुसार, महोत्सवमा विभिन्न जनजातिका तस्वीर र १० थरी जनजातिका परिकार स्टल पनि रहने छन्।