रिपोर्टबुधबार, जेठ २८, २०७१
आशाले इसार्ई
बुटवलमा तिनाउको पुल पार गरेर अलिपर पुगेपछि सडक किनारमा झुपडीको यौटा सानो बस्ती छ। नयाँ जीवन मार्ग नामक त्यो बस्ती कुष्ठरोग प्रभावितको हो। त्यहाँ बस्ने १२ जना ‘कुष्ठरोग प्रभावित व्यक्ति कल्याण समिति’ को कार्यालयमा सामूहिक भोजन गर्छन्। बुटवल–१५ जीतगढीको यो बस्तीका सबै इसार्ई धर्म मान्छन्। कल्याण समितिका अध्यक्ष चित्रबहादुर गुरुङ समाजबाट अपहेलित सबै जना माया र सेवा पाएकाले इसार्ई बनेको बताउँछन्।
कुष्ठरोगलाई पापको परिणाम ठान्ने त्यसवेलाको समाजका कारण गाउँबाट धपाइएका उनीहरूले केही समय बुटवलमा मागेर गुजारा गरेका थिए। त्यही क्रममा इसाई धर्म प्रचारकहरूको सम्पर्कमा पुगेपछि उनीहरू इसाई बने। तिनैमध्ये एक पदमबहादुर बस्नेत गाउँलेहरूले छिःछिः र दूरदूर गरेपछि २० वर्षअघि तनहुँको बन्दीपुरबाट बुटवल झारेका थिए।
“बुटवलको हाटबजारमा भेट भएका एक विदेशीले प्रार्थना गरे रोग निको हुन्छ भने”, उनी सम्झन्छन्, “उनले आफैं भाडा दिएर उपचार गर्न पठाए अनि उनकै धर्ममा लागें।”
ऐलानी जग्गाको झुप्रोमा बस्ने चितवन शारदानगर–१ की देवीमाया दराई (८५) लाई ‘कोरिया चर्च रिलिफ’ ले दुईकोठे पक्की घर बनाइदियो। तीन वर्षअघि उनीसँगै ऐलानी जग्गामा बस्ने ६ घरपरिवारको लागि समेत चर्चले दुईकोठे घरहरू बनाइदिएको छ। त्यो सहयोगको बदलामा उनीहरू हिन्दू धर्म त्यागेर इसार्ई बने।
कञ्चनपुर सुकासालकी जयन्ती लुहार इसाई हुनुको कारण भने अलि फरक छ। “मन्दिरमा कहिल्यै जान पाइएन, तल्लो जातले जान मिल्दैन भन्थे”, उनी भन्छिन्, “यता जातभातको कुरा हुँदैन, सबै सँगै बसेर प्रार्थना गर्छौं, त्यसैले यतै ठीक लाग्यो।”
कारण अनेक
बाँके वनकटवा–३ पेडारीका कालीराम थारू २०६१ सम्म हिन्दू थिए। ज्वरोले थलिएका वेला आएका वागेश्वरी गाविसको डि–गाउँका इसाई धर्म प्रचारकले ‘प्रभु येशु146 माथि विश्वास गर्दै प्रार्थना गरे निको हुने भन्दै पुस्तिका दिएर गए। उनी पूर्ण स्वस्थ नभएसम्म ती प्रचारकले नियमित ‘फलो146 पनि गरे। “प्रचारकले सुनाएको सुसमाचारकै कारण म निको भएँ”, कालीराम भन्छन्, “त्यसै दिनदेखि मैले प्रभु येशुमा विश्वास गर्न थालें।”
त्यसपछिको समयमा उनले आफ्नो गाविसका ४५ जनालाई क्रिश्चियन बनाएको सगर्व सुनाउँछन्। वनकटवा–३ कै महिमा थारू (२४) दश कक्षामा पढ्दा पूरै शरीर दुख्ने बिमारीले थलिइन्। उपचार, धामी–झाँक्री केहीले पनि ठीक नभएपछि एक दिन एक जना धर्म प्रचारक आइपुगे।
प्रचारकले बाबुलाई सुसमाचार सुनाएर गएपछि महिमा नियमित संगतिमा जान थालिन्। त्यसपछि ठीक भएको उनी बताउँछिन्। महिमाले घरतिरका आठ र माइतीका पाँच परिवारलाई इसाई बनाएकी छन्। आँखा अस्पतालमा उपचार र लखनऊमा टाउकोको सिटीस्क्यान गरेर औषधि पनि खाएकी उनी आफूलाई प्रभु येशुले निको पारेको विश्वास गर्छिन्।
कञ्चनपुर दैजीकी मानमती चौधरी ‘परमेश्वरको प्रार्थना गरेपछि बिरामी निको हुन्छ, छोराछोरी पढाउन सहयोग गर्छन्’ भन्ने सुनेर इसाई बनेको बताउँछिन्। उनले चर्चमा प्रार्थना गर्न थालेपछि शरीर दुख्ने, रिङ्गटा लाग्ने र राति डरलाग्दा सपना देख्ने रोग हराएको पनि बताइन्।
महेन्द्रनगरको बर्सेवा मण्डलीका पास्टर मित्र तामाङ धर्म बुझेर भन्दा पनि दैनिक जीवनमा केही सजिलो हुने ठानेर मानिसहरूले धर्म परिवर्तन गरिरहेको स्वीकार्छन्। “कोही बिमारी निको हुन्छ भनेर, कोही सामाजिक विभेद हुँदैन भनेर, कोही केही सहयोग मिल्ला भनेर पनि आएका छन्”, तामाङ भन्छन्, “म आफैं हिन्दूभन्दा इसाई धर्म राम्रो छ भन्ने बुझेर आएको होइन।”
विराटनगर–१६ स्थित ‘चर्च अफ गड’ का पास्टर यादव कार्की (४६) इसाई धर्ममा लाग्नुअघि लागूऔषध प्रयोगकर्ता थिए। बाबुको मृत्यु र आमाको दोस्रो बिहेपछि उनी लागूऔषधको अम्मली भए। “विराटनगर जुट मीलमा मजदूरी गर्थें, बेसहारा भएकाले लागूऔषध खाएर मर्न चाहन्थें” कार्कीले भने, “पासो लगाएर झुन्डिएको थिए, देख्नेले डोरी काटेर जोगाए।” २०४२ सालमा आत्महत्या प्रयास गर्दा कुलदीप गुरुङ र समी श्रेष्ठले जोगाएर चर्चमा पुर्याएपछि जीवनको अर्थ बुझेको, लागूऔषधको कुलत छुटेको र बाइबल पढेर पास्टर बनेको उनी बताउँछन्।
मोरङको मझारेस्थित डन बस्को विद्यालयमा कार्यरत गोविन्दपुरका राम मुर्मु (३८) का पाँच दाजुभाइमध्ये तीन जना इसाई बनेका छन्। बाबुआमा वैष्णव र एक भाइ ओम शान्तिमा लागेको बताउँदै राम भन्छन्, “पछाडि परेको हाम्रो सन्थाल जाति इसाई धर्ममा लागेपछि शिक्षित हुँदै गएका छन्।” उनका अनुसार, छोराछोरी नपढाउने सन्थाल जातिका मानिस इसाई धर्ममा लागेपछि ९० प्रतिशत बालबालिका विद्यालय जान थालेका छन्।
झापाको बेलडाँगी शरणार्थी शिविर सेक्टर ई–४ का प्रेमबहादुर तामाङ (४९) पनि तामाङ संस्कारबाट अलग्गिने तयारीमा छन्। पुनर्वासको लागि डेनमार्क जान लागेका उनले इसाई धर्ममा लागेकाहरूको फलिफाप भएको देखेको बताए। “फेरि क्रिश्चियन देशमा जाँदैछु, त्यहाँ गरिखान पनि सजिलो होला”, उनले भने। २३ वर्षअघि दक्षिण भूटानबाट खेदिएका करीब एक लाख नेपालीभाषी भूटानीमध्ये चार हजारजति बौद्ध, त्यति नै किराँत र बाँकी हिन्दू थिए। इसार्ई धर्म मान्ने ५० भन्दा कमै व्यक्ति थिए। वितेको दुई दशकमा शिविरका ३० हजारभन्दा बढी इसाई बनेको बेलडाँगी शिविरका पदम ल्वानुन बताउँछन्। उनी भूटानी क्रिश्चियन समाजका अगुवा पनि हुन्।
इसाई हुँदा चर्चहरूमा भइरहने कार्यक्रममा हिंडडुल गर्न पाइने, विदेशीहरूसँग संगत बढ्ने, अंग्रेजी सिक्न सजिलो पर्ने र पुनर्वास भएपछि नयाँ मुलुकमा गरिखान सजिलो हुने बुझाइले भूटानी शरणार्थीहरूमा इसाईकरण बढेको देखिन्छ।
छाड्ने पनि छन्
१५ चैतमा लखनपुर, रामेछापका धनबहादुर तामाङ इसाई धर्म छाडेर बुद्धधर्ममा प्रवेश गरे। उनलाई तम्बा संघ नेपालले आयोजना गरेको कार्यक्रममा जापानका लागि नेपालका पूर्व राजदूत डा. गणेश योञ्जनले बुद्ध थाँका र डम्फू दिएर पुरानै धर्ममा फर्काएका थिए। १५ वर्षअघि इसार्ई बनेका धनबहादुरले प्रवेश गर्दा दिइएको प्रवचन अनुसारको व्यवहार नपाएपछि पहिलेकै धर्ममा फर्केको बताउँदै कार्यक्रममा ‘समाजले स्वीकार्छ कि स्वीकार्दैन?’ भन्दा उपस्थितहरूले ताली बजाएर स्वागत गरेका थिए।
पुरानो धर्ममा फर्केपछि उनले आमा र बुबाको घेवा (काजकिरिया) समेत गरे। डा. योञ्जन चाडवाडमा धान्नै नसकिने तडकभडक र खर्च गर्नुपर्ने गलत परम्पराले गर्दा पनि मानिसहरू इसाई बनेको बताउँछन्। खर्च गर्न नपर्ने भनेर क्रिश्चियन बनेकाहरूले सांस्कृतिक रूपमा भने ठूलो क्षति व्यहोरेको बताउँदै डा. योञ्जन भन्छन्, “स्वेच्छाले जुनसुकै धर्ममा लाग्न पाइने भए पनि नेपालको सन्दर्भमा इच्छापूर्वक धर्म परिवर्तन गर्नेहरू कमै होलान्।”
दीपक ज्ञवाली बुटवल, तुफान न्यौपाने नेपालगञ्ज, कमल रिमाल विराटनगर, सविता श्रेष्ठ चितवन, बच्चु विक महेन्द्रनगर र गोपाल गडतौला झापा