Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फूटबलको कुम्भ - Himalkhabar.com

खेलकुदबिहीबार, जेठ २९, २०७१

फूटबलको कुम्भ

हिमालखबर

-सुमनराज ताम्राकार

२९ जेठ रातिदेखि ब्राजिलमा शुरू हुने फूटबल विश्वकपमा साविक विजेता स्पेन फेरि सफलता दोहोर्‍याउने दाउमा हुनेछ भने दोस्रो पटक विश्वकप आयोजना गरेको ब्राजिलले छैटौं पटक विजेता बन्न सम्पूर्ण शक्ति लगाउनेछ। बोस्निया हर्जगोभिना पहिलो पटक खेल्दै गरेको यो विश्वकपमा इङ्गल्याण्ड, अर्जेन्टिना, इटाली, नेदरल्याण्ड, फ्रान्स जस्ता शक्तिशाली मुलुकसँगै अरूले पनि कमाल देखाउन सक्छन्। तर, खेलाडीका रूपमा भने यो विश्वकपमा अर्जेन्टिनाका लियोनेल मेसी, ब्राजिलका नेइमार र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले सबैको ध्यान तान्नेछन्।

अघिल्ला विश्वकपहरूमा १४ गोल गरिसकेका जर्मनीका मिरोस्लाभ क्लोजले ब्राजिलका रोनाल्डोको १५ गोलको कीर्तिमान तोड्लान् वा २००२ को विश्वकपमा विजय दिलाएका ब्राजिलका प्रशिक्षक फिलिप स्कोलारीले यो पटक पनि जिताएर अर्को रेकर्ड राख्लान् जस्ता विषय पनि यो विश्वकपमा चासो बन्ने छन्।

यहाँ भने अघिल्ला विश्वकपका महत्वपूर्ण पक्षहरूको चर्चा गरिन्छः

सन् १९२४ र १९२८ को ओलम्पिकमा फूटबलको स्वर्णपदक जितेको र स्वतन्त्र भएको एक शताब्दी पुगेको वर्ष १९३० मा उरुग्वेले पहिलो विश्वकप आयोजना गर्‍यो। १३ टोलीले भाग लिएको यो विश्वकपमा फ्रान्सका लुसियन लरेन्टले पहिलो गोल गरे। १८ खेलमा ७० गोल भएको यो विश्वकपमा अर्जेन्टिनाका गुइलेर्मो स्टेबाइलले सर्वाधिक ८ गोल गरे। तर, फाइनलमा अर्जेन्टिनालाई उरुग्वेले पराजित गर्‍यो।

उरुग्वेले भाग नलिएको १९३४ मा इटालीमा भएको विश्वकपको पहिलो खेलदेखि नकआउट खेलाइएको थियो। इटाली र अमेरिकाबीचको पहिलो खेलमा इटालीका स्कियभियोले ह्याटि्रक गरे। फाइनलमा अतिरिक्त समयको खेलमा इटालीले चेकोस्लोभाकियालाई पराजित गर्‍यो। यो विश्वकपदेखि नै खेलाडीको जर्सीमा नम्बर राख्न थालिएको थियो। अघिल्लो विश्वकपमा अर्जेन्टिनाबाट खेलेका मोन्टीले यो विश्वकपमा इटालीबाट खेलेका थिए।

यूरोप र दक्षिण अमेरिकाबीच पालैपालो विश्वकप आयोजना गर्ने सहमति विपरीत भएको विश्वकपमा अर्जेन्टिना र उरुग्वेले भाग लिएनन्। यूरोपमा विश्वयुद्धको तयारी भएकाले तेस्रो विश्वकपमा उत्साह कम थियो। ब्राजिलका लियोनिदास सर्वाधिक गोलकर्ता भए पनि फाइनलमा इटालीले हंगेरीलाई हराएर दोस्रो पटक विजेता बन्यो। इटालियन कोच भिट्टोरियो पोज्जो दुई पटक विश्वकप जिताउने प्रशिक्षक बने। उनले १९३६ मा भएको बर्लिन ओलम्पिकको फूटबलमा पनि इटालीलाई स्वर्ण पदक दिलाएका थिए। यो विश्वकपमा तत्कालीन डच इष्ट इन्डिज अर्थात् हालको इन्डोनेशियाले एशिया महादेशको प्रतिनिधित्व गरेको थियो।

विश्वयुद्ध समाप्तिको पाँच वर्षपछि ब्राजिलमा भएको चौथो विश्वकपमा म्यान्मार, फिलिपिन्स र भारतले छनोट चरणबाट नाम झ्िाके। १३ राष्ट्रले भाग लिएको यो विश्वकपको फाइनलमा दुई लाख दर्शकको उपस्थितिमा ब्राजिल विजेता बन्ने सबैको विश्वास विपरीत उरुग्वेले जित्यो। इङ्गलिश रेफ्रीले खेल सकिएको घोषणा गरेलगत्तै सात जना ब्राजिलियन दर्शकको हृदयघातबाट मृत्यु भयो।

समूह बनाएर खेलाउन थालिएको १९५४ विश्वकपको फाइनलमा नवनिर्मित राष्ट्र पश्चिम जर्मनीले हंगेरीलाई दुई विरुद्ध तीन गोल गरी पराजित गर्‍यो। यो प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी हंगेरीका फेरेन्क पुस्कास घाइते भएर मैदान छाडेका थिए। पुस्कासले १९६२ को विश्वकपमा स्पेनी टोलीबाट खेले। समूह चरणमा हंगेरीले पश्चिम जर्मनीलाई तीनका विरुद्ध आठ गोलले पराजित गरेको थियो भने प्रतियोगिताको पाँच खेलमा उसले २७ गोल हानेको थियो।

स्वीडेनमा १९५८ मा भएको विश्वकपमा कान्छा खेलाडी पेलेको ब्राजिलले स्वीडेनलाई हरायो। दुवै खुट्टामा चोट लिएर पुगेका फ्रान्सका जस्ट फोन्टेनले ६ खेलमा १३ गोल गरे।

चिलीमा १९६२ मा भएको विश्वकपको फाइनलमा ब्राजिलले चेकोस्लोभाकियालाई एकका विरुद्ध तीन गोल गरेर हरायो। साविक विजेता र आयोजक स्वतः छनोट हुने नियम लागू भएको यो विश्वकपको समूह चरणमा इटाली र चिलीबीच ‘सान्टियागो युद्ध’ भनिने गरी झगडा भयो।

१९६६ मा विश्वकप आयोजना गरेको इङ्गल्याण्डले पश्चिम जर्मनीलाई हराएर विजेता बन्यो। नवप्रवेशी उत्तरकोरियाले इटाली र पोर्चुगलले ब्राजिललाई हराएर यो विश्वकपमा तहल्का मच्चाए। पोर्चुगलका युसेबियोले ९ गोल गरी गोल्डेन बुट हात पारे र इङ्गल्याण्डका बबी मुरसँग सर्वोत्कृष्ट खेलाडीको पुरस्कार बाँडे। यो विश्वकपदेखि चिन्ह (मस्कट) राख्न थालियो।

खेलाडीलाई पहिलो पटक रातो र पहेंलो कार्ड देखाउन थालिएको १९७० मा मेक्सिकोमा भएको विश्वकपमा पेलेको ब्राजिलले तेस्रो पटक जितेर कपमा कब्जा जमायो। फाइनलमा इटालीलाई हराउँदा पेलेले गरेको पहिलो हेड गोल विश्वकपमा ब्राजिलले गरेको एक सयौं गोल थियो। पेलेले सबै विश्वकपमा १२ गोल गरेका थिए। ब्राजिलबाट यो विश्वकप खेलेका मारियो जगालोले पछि प्रशिक्षक बनेर पनि ब्राजिललाई जिताए।

पश्चिम जर्मनीमा १९७४ मा भएको विश्वकप नेदरल्याण्डलाई हराएर उसैले जित्यो। तर, समूह चरणमा उसले पूर्वी जर्मनीबाट पराजय बेहोर्नुपरेको थियो। यो पटक विश्वकपको इतिहासमै चिलीका कार्लोस क्यासजेलीले पहिलो पटक रेडकार्ड पाए।

१९७८ मा अर्जेन्टिनामा भएको विश्वकपको फाइनलमा आयोजकले नेदरल्याण्डलाई एकका विरुद्ध तीन गोलले हरायो। यो विश्वकपदेखि एडिडासले धेरै गोल गर्नेलाई सुनौलो जुत्ता र उत्कृष्ट खेल्नेलाई सुनौलो बल दिन थाल्यो, अर्जेन्टिनाका मारियो केम्पसले दुवैमा कब्जा जमाएका थिए।

२४ देश सहभागी स्पेनमा १९८२ मा भएको विश्वकपको समूह चरणमा बेल्जियमले साविक विजेता अर्जेन्टिनालाई हरायो भने नवप्रवेशी अल्जेरियाले पश्चिम जर्मनीलाई। हंगेरीले एल साल्भाडोरलाई एकका विरुद्ध दश गोलले पराजित गर्‍यो। फाइनलमा पश्चिम जर्मनीलाई इटालीले एकका विरुद्ध तीन गोलले पराजित गरी तेस्रो पटक विश्वकप जित्यो।

कोलम्बियाले विश्वकप आयोजना गर्न नसकेपछि १९८६ मा पाँच महीनाअघि भूकम्प बेहोरेको मेक्सिकोले दोस्रो पटक विश्वकप आयोजना गर्‍यो। यही विश्वकपको क्वाटरफाइनलमा म्याराडोनाले इङ्गल्यान्डलाई ‘भगवानको हातबाट भएको गोल’ गरेर हराएका थिए। अर्जेन्टिनाले सेमिफाइनलमा फ्रान्स र फाइनलमा पश्चिम जर्मनीलाई हरायो।

१९९० विश्वकपको उद्घाटनमा क्यामरुनबाट पराजित भए पनि अर्जेन्टिना फाइनलमा पुग्यो। तर, फाइनलमा ८५ औं मिनेटमा पेनाल्टी गोल खाएर पश्चिम जर्मनीबाट पराजित भयो। यो विश्वकपमा जर्मनीका प्रशिक्षक फ्रेन्ज बेकनबाउर खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने अर्का व्यक्तित्व बने।

१९९४ विश्वकपमा रसियाका ओलेग सालेन्कोले क्यामरुन विरुद्ध पाँच गोल गरे। अमेरिकासँगको खेलमा आत्मघाती गोल गरेका कोलम्बियाका आन्द्रे इस्कोबारलाई पछि बोगोटामा गोली हानी हत्या गरियो। यो विश्वकपमा ब्राजिलले अतिरिक्त समयपछि पेनाल्टी सूटआउटमा इटालीलाई दुईका विरुद्ध तीन गोल गरी हरायो। इटालीका रोबेर्टो बाजियो पेनाल्टीमा चुके।

३२ मुलुकले खेलेको १९९८ को विश्वकपमा फ्रान्सले ब्राजिललाई हरायो। अर्जेन्टिनाका ग्राबियल बाटिस्टुटा लगातार दुई विश्वकपमा ह्याटि्रक गर्ने खेलाडी बने।

२००२ मा कोरिया र जापानमा भएको विश्वकपमा नवप्रवेशी सेनेगलले पहिलो खेलमा साविक विजेता फ्रान्सलाई हरायो। ब्राजिलले जर्मनीलाई हराएर पाँचौं पटक विश्वकप जित्यो।

जर्मनीमा २००६ मा भएको विश्वकपको फाइनलमा इटालीले फ्रान्सलाई १–१ को बराबरीपछि पेनाल्टी सूटआउटमा ५–३ ले हरायो। इटालीले एक आत्मघाती र अर्को पेनाल्टी गरी प्रतियोगिताभरि दुई गोल मात्र खायो। २००२ विश्वकपमा ब्राजिललाई जिताएका प्रशिक्षक लुइस फिलिप स्कोलारीले पोर्चुगललाई सेमिफाइनल पुर्‍याए। यो विश्वकपमा ब्राजिलका रोनाल्डोले सर्वाधिक १५औं गोल पुर्‍याए।

आन्द्रेज इनिएस्टाले ११६औं मिनेटमा नेदरल्यान्ड विरुद्ध गरेको गोलले २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा स्पेनलाई जितायो। पहिलो पटक स्पेन जित्दा नेदरल्यान्डले १९७४ र १९७८ मा जस्तै तेस्रो पटक हार्‍यो। अफ्रिकी बाजा भुभुजेलाको उच्चाटलाग्दो स्वर सुनिएको यो विश्वकप सामुद्रिक जीव अक्टोपसको सही भविष्यवाणीका कारण पनि चर्चित बन्यो।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>