रिपोर्टबिहीबार, जेठ २९, २०७१
तरकारीमा घातक विषादी
-सोनिया अवाले
काठमाडौं र यो उपत्यकालाई बजार बनाएका आसपासका किसानले तरकारी खेतीमा अत्यधिक विषादी छर्छन्, तर आफ्नै सुरक्षाका उपाय भने अपनाउँदैनन्। ललितपुरको टीकाथलीका ८४ जना किसानमा म आफैंले ४–१४ वैशाखमा गरेको सर्वेक्षणमा सहभागीमध्ये ५० प्रतिशत किसानले बालीमा विषादी छर्दा सुरक्षाका लागि हातमा पन्जा र मुखमा मास्क लगाउने गरेको पाइएन।
उनीहरूले सबभन्दा बढी अर्ग्यानोफस्फेट मेटासिड चलाउने गरेको पनि खुलेको छ, जुन प्रतिबन्धित विषादी हो। आफैंले खाने तरकारीमा भने विषादी नहाल्ने गरेको कुरा नलुकाएका टीकाथलीका ६५ प्रतिशत किसानले बजार पठाउने तरकारी बालीमा कति र कुन विषादी हाल्ने ज्ञान नभएको बताए।
बीबीएस उत्तीर्ण सोजन कर्माचार्य (२९) ले विषादी हालेको तरकारी नहालिएको भन्दा राम्रो देखिने र उपभोक्ताले पनि सलक्क परेको तरकारी नै खोज्ने भएकोले हानिकारक हुँदाहुँदै पनि विषादीको प्रयोग बढेको बताए। उपभोक्ताहरूमा अर्ग्यानिक (प्राङ्गारिक) तरकारी उपभोगको चेतना नआएसम्म विषादी नियन्त्रण नहुने उनी बताउँछन्। हेर्दा सलक्क परेको नदेखिने अर्ग्यानिक तरकारी महँगो पनि हुने र बिक्रेतादेखि उपभोक्तासम्मले विषादीवाला तरकारी नै किन्ने बताउँदै कर्माचार्य भन्छन्, “त्यसकारण पनि व्यावसायिक तरकारी खेतीमा विषादीको प्रयोग बढेको हो।”
टीकाथलीमा खेती–किसानीमा लागेका अर्का युवा रत्न प्रजापतिले पनि विषादी प्रयोग नगर्दा व्यावसायिक तरकारी खेती नहुने बताए। मैले कुराकानी गरेका किसानमध्ये ९८ प्रतिशतले उपभोक्ता र आफ्नै लागि समेत विषादी हानिकारक भएको थाहा भए पनि प्रयोग गर्नुपरेको बताए। उनीहरूमध्ये ६० प्रतिशतले विषादी छर्कंदा हावा बहेको दिशाको ख्याल गर्ने बताए भने ७५ प्रतिशतले विषादीमा रहने रसायनबाट हुने दीर्घकालीन असरबारे थाहा नभएको बताए।
समूहगत रूपमा कुरा गर्दा टिकाथलीका १० मध्ये एक जना किसानले मात्र रसायनको न्यूनतम प्रयोगबाट कीरा नियन्त्रण गर्ने इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट (आईपीएम) विधिबारे थाहा भएको बताए भने विषादी छर्किएपछि नुहाउने पनि एक जना भेटिए। आधाभन्दा बढी किसानले विषादीको बट्टा जहाँ सकियो त्यहीं फाल्ने गरेको, विषादी लागेका भाँडाकुडा वस्तुभाउलाई खुवाउन प्रयोग गरेको बताए।
अन्य मुलुकको तुलनामा नेपालमा विषादीको औसत खपत कमै देखिए पनि व्यावसायिक खेतीसँगै यसको प्रयोग भयावह रूपमा बढ्दो छ। नेपाल भित्रिने विषादीको वार्षिक मात्रा एक सय टनभन्दा बढी पुगेको छ। म्याद नाघेका ७४ टन विषादी व्यवस्थापनको टाउकोदुखाइ छँदैछ। खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको पछिल्लो अध्ययनले १२ प्रतिशत खाद्य सामग्री (धेरैजसो तरकारी) मा प्रतिबन्धित विषादीको मात्रा फेला पारेको थियो।
विषादीले बालीनालीका लागि लाभदायक कीराहरूलाई सखाप पार्छ। यसबाट उत्पादकत्वमा ह्रास आउनुको साथै माटोमा वर्षौंसम्म रहने विषादीका अवशेषले खाद्य चक्र विनाश गर्छ। उत्पादकत्व घटेको माटोमा उत्पादन बढाउन अत्यधिक विषादी हालिएको तरकारीले मानव स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउने कुरा निर्विवाद छ। यस्ता विषादीले क्यान्सर, पार्किन्सन्स जस्ता रोग निम्त्याउनुका साथै प्रजनन् स्वास्थ्यलाई पनि जोखिममा पार्छ।
________________________________________________________________________________
अर्ग्यानिक नै असल
ललितपुर पाटनकी किसान भीन्माया अवाले (हे. तस्वीर) विषादी प्रयोगबाट टाढै छिन्। “एक त यो विष हो, त्यसमाथि महँगो पनि हुन्छ र तरकारीको स्वाद पनि बिगार्छ”, उनी भन्छिन्। आफूले रोपेको तरकारीमा लागेका कीरा मार्न नीमपत्ती, लसुन, सुर्ती, मरिच, खरानी लगायतका घरेलु औषधि प्रयोग गर्ने भीन्माया अर्ग्यानिकको विशेषता बताउँदै भन्छिन्, “कम्पोष्ट मलबाट उब्जाएको तरकारीको भाउ पनि राम्रो पाइने र अर्ग्यानिक तरकारी खोज्नेहरु बढेपछि, रासायनिकबाट उब्जाउनेहरू पनि विषादी नलगाएको भनेर ढाँट्छन्।”
___________________________________________________________________________________
** मालाथियन
** मेटासिड
** डाइक्लोभस
** साइमोक्सानिल
** डाइमेथोएट
** डायथेन एम–४५
** क्लोरपाइरिफस
** फेनवालेरेट
** इन्डोसल्फान
** म्यान्कोजेब
** साइपरमेथिन
** क्विनलफस
साप्ताहिक खबरपत्रिका हिमालबाट