रमझमबुधबार, जेठ २८, २०७१
अमेरिकामा डम्फु साँझ
तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा भएको डम्फु साँझ-२०१४ मा तामाङ मौलिक संस्कार र संस्कृतीका केही पाटाहरु प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा मंगोलियन हर्टका राजु लामा र स्थानिय सञ्जोक योञ्जन लगायतले तामाङ सेलोमा दर्शकलाई नचाए भने अन्य स्थानिय कलाकारहरुले सेलोमा नाचेर भरपुर मनोरञ्जन गराए ।
क्यालिफोर्नियाबाट आएका युवा गायक बुस्येन लामाले “मेरो नेपालमा” बोलको गीत गाएर युवाहरुलाई नेपाल सम्झाए । सूर्य तामाङले तामाङहरुको परम्परागत झाँक्री नाचलाई नेपालको सँविधान लेखनसँग जोडेर ब्यङगत्मक प्रस्तुत गरे । जसमा बिरामी (जनता) निको पार्नलाई ६ सय १ जना झाँक्रीहरु मिलेर सँबिधान भन्ने एउटा किताब तुरुन्तै लेख्नु पर्ने जोखना (भविश्यबाणी) देखेको प्रस्तुती थिए ।
गोपाल नेपाल (फिस्टे) का साथमा सेन्थुन लामाले र एकल रुपमा नन्दु लगुनले प्रहशन प्रस्तुत गरी दर्शकलाई मज्जाले हँसाए ।
आयोजक सँस्थाका कार्यबाहक अध्यक्ष फुर्वा घिसीङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी कोर्नेल बिश्वबिध्दालयका प्राध्यापक डा. क्याथ्रिन मार्च र उनका श्रीमान प्राध्यापक डा. डेबिट ह्याम्बर्ग थिए । साथै पूर्व राजदुत मधुरमण आचार्य लगायतका अतिथि उपस्थित थिए ।
मार्च र ह्याम्बर्गले तीन दशक अघि तामाङ जाति सम्बन्धी बिभिन्न खोज, अनुसन्धान र अध्यायन गरी बिध्दा वारिधी गरेका छन् र तामाङ मौलिक सँस्कार र संस्कृतीको जगेर्नामा क्रियाशील छन् । उनीहरु दुबैजनाले तामाङ भाषामै मन्तब्य दिएका थिए ।
मन्तब्यमा मार्च र ह्याम्बर्गले तामाङ सोसाईटी अफ अमेरिकाको निर्माणाधिन तामाङ सांस्कृतिक तथा बुद्धिष्ट केन्द्रको लागि आफुहरुले बर्षौंदेखि संकलन गरेका सामाग्रीहरु प्रदान गर्ने बताए ।
आफ्नो मौलिक परम्परा र संस्कृती संरक्षणको लागि संस्थाले आयोजना गर्दै आएको विविध् रचनात्मक कार्यहरुको प्रशंसा समेत उनीहरुले गरे । मौलिक तामाङ पहिरनमा उपस्थित उनीहरुले उपस्थित अधिकाँश तामाङ समुदायले आफ्नो मौलिक पहिरन लगाउन समेत सुझाए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सुवास लामाले स्वागत मन्तब्य राख्दै अमेरिकामा सन २००२ मा सँस्थाको बिधिवत दर्ता भए देखि नै प्रत्येक दुई बर्षको अन्तरालमा डम्फु साँझ प्रस्तुत हुँदै आएको बताए ।
पूर्व अध्यक्ष एवं तामाङ सांस्कृतिक तथा बुद्धिष्ट केन्द्र निर्माण समितिका संयोजक इन्द्र बहादुर तामाङ र आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुईसाङ वाईबा लगायतले मन्तव्य राखेका थिए ।
संस्थालाई स्थापनाकालदेखि विविध् क्षेत्रबाट सहयोग गर्ने पाँच जनालाई बिशेष सम्मान समेत गरिएको थियो । सम्मान हुनेहरुमा कलाकार शिशिर श्रेष्ठ, रमेश गुरुङ, माया लामा शेर्पा, नर बहादुर दाहाल र जिम्बा थिङ (जेम्स) रहेका छन् । सम्मानित सबैलाई कदर पत्रद्धारा सम्मान गरिएको थियो ।
– ङिमा पाख्रिन, न्युयोर्क, अमेरिका