रिपोर्टशुक्रबार, जेठ ३०, २०७१
शौचको सास्ती
– मीना शर्मा
चार वर्षदेखि अरूको सवारी साधन चलाउँदै आएका ललितपुरका पूर्ण श्रेष्ठ (३५) लाई दिउँसो काममा हिंड्दा शौच गर्न नपाइएला भन्ने पिरलो हुन्छ। स्वस्थ रहन प्रशस्त पानी पिउनुपर्ने थाहा पाए पनि शौच गर्ने ठाउँ नपाउने डरले उनी पानी कम पिउँछन्।
उपत्यकाका सार्वजनिक शौचालय नजिकै सवारी साधन पार्किङ गर्ने ठाउँ नहुनु सवारी चालकका लागि अर्काे समस्या हो। कुनै दिन बिहानदेखि साँझसम्म शौचालय नगई बस्नुपरेको अनुभव सुनाउँदै पूर्ण भन्छन्, “मेरो जस्तै समस्या भोग्ने थुप्रै मानिस भए पनि यो समस्यालाई कसैले वास्ता गरेको देखिंदैन।”
अस्वस्थ संरचना
११ वर्षदेखि काठमाडौंमा सवारी साधन चलाउँदै आएका दार्चुलाका धनसिंह विष्टको समस्या पनि उस्तै छ। पहिलेभन्दा सवारी साधन र मानिसको चाप बढेकाले शौचालयको समस्या पनि बढेको उनको अनुभव छ। पहिले सडकमा जाम नहुने भएकाले समयमा गन्तव्यमा पुगिने हुँदा कम समस्या पर्ने गरेको उनको अनुभव छ। बिरामी भएर अस्पताल जाँदा डाक्टरले प्रशस्त पानी पिउनु भने पनि शौचालयको समस्याले पानी पिउन नसकेको उनी बताउँछन्। विशिष्ट व्यक्तिको सवारी हुँदा र जुलूस निस्किंदा हुने जामले समयमा गन्तव्य पुग्न अरू कठिन हुने र त्यस्तो वेला शौचको समस्या बढ्ने उनको भनाइ छ।
उपत्यकामा गुड्ने निजी र सार्वजनिक गरी झन्डै सात लाख सवारी साधनका चालक सबैले कुनै न कुनै वेला शौचालयको समस्या भोग्नु परेको छ। काठमाडौंका विधान मल्ललाई स्कुटरमा तेल भर्न लाइन बस्दा शौचको समस्याले अरू वेलाभन्दा धेरै गाह्रो बनाउँछ। दुई घन्टासम्म लाइन बस्दा पनि तेल नपाएपछि शौचालय खोज्दै डिपार्टमेन्टल स्टोर पुगेको बताउने उनी पेट्रोलपम्पमा शौचालय नभएकोले त्यस्तो समस्या भोग्नु परेको बताउँछन्।
दैनिक लाखौं रुपैयाँको कारोबार गर्ने पेट्रोलपम्पलाई शौचालय राख्न अनिवार्य बनाउनुपर्ने उनको सुझाव छ। नेपाल आयल निगमको बिक्रेता विनियमावली २०६५ ले पेट्रोलियम पदार्थ बिक्री स्थलमा शौचालयको व्यवस्था गर्नै पर्ने व्यवस्था गरे पनि उपत्यकाका अधिकांश पेट्रोलपम्पमा शौचालय छैन। नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरे भने पेट्रोलपम्पमा शौचालय नराखिएको गुनासो आए कारबाही गरिने बताउँछन्। सार्वजनिक शौचालय नराखिए पनि सेवाग्राहीलाई भने शौचालय सुविधा दिनै पर्ने उनको भनाइ छ।
स्कुटर चलाउने विन्दु थापाको समस्या पनि विधानको भन्दा फरक छैन। किनमेल गर्दा, बजार घुम्दा र मर्निङ वाक् गर्दा शौचालयको अभावले सास्ती खेप्नु परेको बताउँदै उनी भन्छिन्, “महीनावारीको वेला शौचालय गइरहनुपर्ने भए पनि सार्वजनिक शौचालय महिला जान नसक्ने अवस्थाका छैनन्।” शौचालय पस्दा सुरक्षाका लागि बाहिर अर्को साथी उभिनुपर्ने स्थिति रहेको उमा मरासिनीको अनुभव छ।
तीन वर्षदेखि सडकमा व्यापार गर्दै आएकी उमालाई पनि अरू वेलाभन्दा महीनावारी हुँदा शौचालयको समस्याले बढी सताउने गर्छ। रत्नपार्क वरिपरिका सार्वजनिक शौचालयमा चुकुल र पानीको व्यवस्था नभएकाले प्रयोग गर्न गाह्रो भएको उनको भनाइ छ। शौचालयको समस्याले दिनभरि पानी नपिउने उनी पिसाब पोल्ने रोगले पिरोल्न थालेको बताउँछिन्।
मिर्गौलालाई घात
पानी नपिउँदा र समयमा पिसाब नगर्दा स्वस्थ व्यक्तिहरू अस्वस्थ हुन्छन् भने अस्वस्थहरूमा समस्या थपिन्छ। गर्भवती र महीनावारी भएका महिला र मधुमेहका रोगीलाई पानी पिउन र समयमा पिसाब गर्न अरूलाई भन्दा बढी आवश्यक हुने स्त्रीरोग विशेषज्ञ डा. अर्चना अमात्य बताउँछिन्। फोहोर शौचालयमा पिसाब गर्दा महिलालाई पिसाब संक्रमण हुने र पाठेघरमा समेत समस्या आउनसक्ने उनको भनाइ छ।
जनस्वास्थ्यबारे लेख्ने डा. अरूणा उपे्रती पुराना र नयाँ बनिरहेका शौचालय सफा नहुँदा र खुला ठाउँमा शौच गर्दा धेरैलाई स्वास्थ्य समस्या आएको बताउँछिन्। वर्षात्को समयमा टाइफाइड, झाडापखाला, आउँ र हैजा जस्ता रोग फैलनुको मुख्य कारण अव्यवस्थित शौचालय भएको उनको भनाइ छ। व्यवस्थित शौचालय नबनाई ‘खुला दिसामुक्त क्षेत्र’ घोषणा गरिएका ठाउँमा यात्रुलाई समस्या पर्ने गरेको उनको अनुभव छ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले शरीरमा पानीको मात्रा कम हुँदा रक्तचाप कम हुने भएकाले मिर्गाैलामा असर पर्ने बताउँछन्। शरीरमा पानीको मात्रा कम हुँदा पिसाब संक्रमण हुने र त्यसले मिर्गाैलामा समस्या ल्याउने उनको भनाइ छ। शरीरमा पानीको मात्रा कम हुँदा थकाइलाग्ने, रीस उठ्ने, मुख सुक्खा हुने र तिर्खा लागिरहने काफ्ले बताउँछन्।
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी प्रमुख डा. पुकारचन्द्र श्रेष्ठ २४ घन्टामा दुई―तीन लीटर पिसाब गर्नु अनिवार्य रहेको बताउँछन्। मिर्गाैला स्वस्थ राख्न नियमित पानी पिएर नियमित पिसाब गर्न आवश्यक रहेको उनले बताए। वरिष्ठ युरोलोजिष्ट डा. अर्जुनदेव भट्ट बारम्बार पिसाब रोक्दा पिसाब संक्रमण र मिर्गौलामा पत्थरी हुने बताउँछन्। पिसाब रोक्दा दिसा नगरी पिसाब नआउने समस्या देखिने, मिर्गौला कम सक्रिय भएर कमजोर हुने र नशा पनि कमजोर हुने उनको भनाइ छ।
तीन वर्षअघि खानेपानी र सरसफाइका लागि गैसस मञ्च र वाटर एडले काठमाडौं उपत्यकाका सार्वजनिक शौचालयको अवस्थाबारे अध्ययन गर्दा उपत्यकाका ६८ सार्वजनिक शौचालयमा ६१ वटा मात्र प्रयोगमा रहेको देखाएको थियो। प्रत्येक शौचालयमा दैनिक औसत ३०० प्रयोगकर्ता हुने र त्यसमा १०० जना महिला हुने गरेको प्रतिवेदनमा उल्लेख छ। फोहोर तथा पानीको अभाव रहेको, अँध्यारो, ढोका राम्ररी बन्द नहुने तथा चुकुल नभएकाले सार्वजनिक शौचालयमा महिला जान हिचकिचाउने गरेको पनि सो अध्ययनले देखाएको थियो।
साप्ताहिक खबरपत्रिका हिमालबाट