खेलकुदशनिबार, जेठ ३१, २०७१

नेरदल्याण्ड्सको गोल वर्षा, स्पेनसँग बदला लियोे

हिमालखबर

ब्राजिलको साल्वाडोर स्टेडियममा सेतो जर्सी लगाएका स्पेनी खेलाडीको फूर्तीमा कुनै कमी थिएन । समूह–बीको पहिलो खेल हेर्न लाखौं दर्शक उत्साहित थिए । खेलमा पहिलो गोल स्पेनले गरे पनि नेदरल्याण्ड्सले स्पेनलाई ५–१ को भारी अन्तरले पराजित गर्‍यो ।

प्रतियोगिताको तनावको प्रभाव दुवै टिमका खेलाडीहरुमा पनि स्पष्ट देखिन्थ्यो । खेलको २७ औं मिनटमा स्पेनका शेभी अलोंसोले पेनाल्टी किकलाई गोलमा परिणत गरेर स्पेनलाई १–० को अग्रता दिलाए । स्पेनका फरवर्ड खेलाडी डिएगो कोस्टालाई पेनाल्टी एरियामा नेदरल्याण्ड्सका डिफेन्डर स्टेफन डि ब्रिजले लडाएपछि स्पेनले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।

त्यसपछि मध्यान्तर हुनुभन्दा एक मिनटअघि मात्रै नेदरल्याण्ड्सका खेलाडी रबिन वान पर्सीले पेनाल्टी एरियामा पाएको क्रसमा हेड गर्दै बललाई जालीमा पुर्‍याइदिए । स्पेनी गोलरक्षक क्यसीलास र स्टेडियमका दर्शकहरु हेरेको हेर्‍यै भए ।

मध्यान्तरपछि नेदरल्याण्ड्सका खेलाडीको आक्रमक खेल शुरु गर्दा स्पेनको रक्षा पंक्ति फितलो बन्न पुग्यो । ५३ औं मिनटमा नेदरल्याण्ड्सका रबेनले पेनाल्टी एरियामा स्पेनका दुई खेलाडीलाई छलाउँदै बायाँ खुट्टाले हानेको जोडदार शटले नेदरल्याण्ड्सलाई २–१ को अग्रता दिलाए ।

खेलको ६४ औं मिनटमा स्टेफन डि ब्रिजले हेडबाट नेदरल्याण्ड्सका लागि तेस्रो गोल गरे । ब्रिजको यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो ।

यतीमा मात्रै खेलको रोमाञ्च सकिएन । स्पेनका गोलकिपर केसिलासको सामान्य त्रुटीको फाइदा उठाउँदै नेदरल्याण्ड्सले चौथो गोल गर्‍यो । बल समात्न अगाडि बढेका केसिलास बलसम्म पुग्नु अघि नेदरल्याण्ड्सका पर्सीले बललाई बक्सभित्र छिराइसकेका थिए । यो चौथो गोल खेलको ७२ औं मिनटमा भएको थियो ।

खेलको ८० औं मिनटमा मिडल लाईनबाट स्पेनी खेलाडीलाई छलाउँदै बल अगाडि बढाएका नेदरल्याण्डसका राबेनले पेनाल्टी एरियाबाट लेफ्ट फुट शट हान्दै टिमका लागि प्रतियोगिताको पाँचौ र आफ्नो दोस्रो गोल गरे ।

यसपछि स्पेनी गोलकिपरले लगातार दुई उत्कृष्ट बचाउ गरेका थिए । तर पनि अघिल्लो विश्वकप फाइनलमा आफूले हराएको टिमसँग स्पेनले भारी अन्तरमा हार बेहोर्‍यो ।


मेक्सिकोले क्यामरुनलाई हरायो

शुक्रबार नै भएको विश्वकप फुटबलको दोस्रो टुर्नामेन्टमा मेक्सिकोले क्यामरुनलाई १–० ले पराजित गर्‍याे ।

समूह–ए को यो म्याचमा दुवै टिम सशक्त देखिएका थिए । खेलका बेला ठूलो वर्षा भएपछि त्यसको असर खेलमा पनि पर्‍यो ।

मेक्सिकोका लागि विजयी गोल खेलको ६१ औं मिनटमा ओरिबे पेरेल्टाले गरे । यसका साथै मेक्सिकोले महत्वपूर्ण तीन अंक हासिल गरेको छ । ग्रुप एमा ब्राजिल एक जीत र तीन गोलका आधारमा पहिलो स्थानमा छ भने मेक्सिको एक जीत र एक गोलका आधारमा दोस्रो स्थानमा छ ।

क्यामरुन र मेक्सिको बीचको खेलमा करिब १५ मिनटसम्म मेक्सिकोका आक्रमक खेलाडीले क्यामरुनमाथि लगातार दबाब बनाइरहे । मेक्सिकाको हेक्टर हेरेरालाई कप्तान राफेल मार्केज र ओरिबे पेरेल्टाको राम्रो साथ रह्यो । क्यामरुनका गोलकिपर चाल्र्स इतान्दजेले उत्कृष्ट बचाउ गरेका थिए ।

मध्यान्तरसम्म दुबै टोलीले गोल गर्न सकेका थिएनन् । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको ६१ औं मिनटमा मेक्सिकोका ओरिबे पेरेल्टाले निर्णायक गोल गरेका थिए। जियोभानी डोस सान्तोसको प्रहार क्यामरुनका गोलरक्षक चाल्र्स इटान्डेजलाई लागेर फर्किएको फाइदा उठाउँदै पेरेल्टाले गोल गरेका थिए।

केही बेर क्यामरुनले पनि केही काउण्टर अट्याक गरेको थियो । क्यामरुनका कप्तान स्यामुअल इटोलाई रोक्न मेक्सिकोका खेलाडीलाई धौ धौ समेत भएको थियो ।

अब मेक्सिको १७ जुनमा ब्राजिल र क्यमरुन १८ जुनमा क्रोएशियासँग भिड्ने छन् ।

चिलीको जीत
शुक्रबार नै भएको तेस्रो खेलमा चिलीले अष्ट्रेलियालाई ३–१ ले हराएको छ ।

चिलीका तर्फबाट एलेक्सी सान्चेजले १२ औं, भाल्दिभियाले १४ औं र ब्युसेजारले ९० औं मिनटमा गोल गरे ।
अष्ट्रेलियाका तर्फबाट काहिलले १ गोल गरेका थिए

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...