टिप्पणीआइतबार, आषाढ १, २०७१
स्वागतम् सू ची
बीपी कोइरालाको जन्म भएको शताब्दी पुगेको अवसरमा बीपी चिन्तन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिका रूपमा भाग लिन जेठको अन्तिम साता बर्माकी चर्चित नेतृ आङसान सू ची काठमाडौं आएकी छिन् । नेपाल सरकारको निमन्त्रणामा आएकी उनलाई १ असारमा आर्मी अफिसर्स क्लबमा नागरिक अभिनन्दन गरिनेछ ।
नेपालसँगको सम्बन्ध
सू चीका पिता आङ सान बर्माको स्वतन्त्रता सेनानी थिए । अंग्रेज उपनिवेशबाट स्वतन्त्र हुने वेला उनी डिफ्याक्टो प्रधानमन्त्री जस्तै थिए । उनले स्थापना गरेको ‘एन्टी फासिस्ट पिपुल्स फ्रिडम्स लिग’ पछि बर्मा सोसलिष्ट पार्टी बन्न पुग्यो ।
उनका साथीहरू वा स्वे र उ नु त्यही पार्टीको तर्फबाट स्वाधीन बर्मामा पालैपालो प्रधानमन्त्री भए । वा स्वेको पालामा भारतीय समाजवादी नेताहरू जयप्रकाश नारायण र राममनोहर लोहियाको सहयोगमा भोला चटर्जी र थीरवम मल्ल २००७ को जनक्रान्तिका लागि हतियार लिन गएका थिए ।
बर्माले उपलब्ध गराएको हतियार हिमालय एभिएसनको जहाजमा नेपाल भारतका सिमानामा ल्याइयो र नेपाली कांग्रेसका जनमुक्ति सेनालाई बाँडियो । सन् १९५३ मा बर्माले पहिलो एशियाली समाजवादी सम्मेलन आयोजना गर्दा उनै वा स्वेले अध्यक्षता गरेका थिए ।
बीपीले उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
आङ सानको हत्या १९४७ मा क्याबिनेट बैठक बसिरहेको वेला भयो । त्यो वेला सू ची दुई वर्षकी थिइन् । उनकी पत्नी खिन कीलाई १९६० मा भारत र नेपालका लागि राजदूत नियुक्त गरिएको थियो । सू ची आमासँग पहिलो पटक त्यही वेला नेपाल आएकी थिइन् ।
त्यो वेला नेपालमा बीपी कोइराला नेतृत्वको सरकार थियो । बर्माले क्रान्तिमा हतियार उपलब्ध गराएर सहयोग गरेकाले कांग्रेस र सू चीबीच विशेष सम्बन्ध हुने नै भयो । त्यसैले हुन सक्छ, हिमालयन स्कलर पति माइकल एरिसका साथ लागेर उनी १९७० को दशकमा धेरै पटक नेपाल आइन् ।
उनले त्यसवेला नेपाली संस्कृतिको गहिरो गरी अध्ययन गरेको उनले लेखेको लेट्स भिजिट नेपाल भन्ने किताबले पनि देखाउँछ । प्रसिद्व अक्सफोर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेकी सू चीले संयुक्त राष्ट्रसंघमा पनि केही समय काम गरेकी थिइन् ।
१९६० को दशकको मध्यतिर बर्मा सोसलिष्ट पार्टीलाई प्रतिबन्धित गर्दै सेनाले बर्मा सोसलिष्ट प्रोग्राम पार्टीको नाममा एकदलीय व्यवस्था लाद्यो । यता, नेपालमा पनि १९६०– १९९० मा नेपाली कांग्रेस प्रतिबन्धित थियो । नेपाली कांग्रेसले १९९० पछि शासन गर्ने अवसर पायो भने बर्मामा चाहिं सुकीको पार्टीले बहुमत पाएर पनि सत्ताबाहिरै रहनु पर्यो ।
सू ची १९८८ मा बिरामी आमालाई भेट्न लामो प्रवास पछि स्वदेश फर्कंदा बर्मामा सैनिक शासनविरुद्ध विद्यार्थी, भिक्षुदेखि सर्वसाधारण आन्दोलनरत थिए । तर त्यो आवाजलाई राजनीतिक दिशा दिने नेतृत्व बर्मामा थिएन ।
पश्चिममा अध्ययन गरेकी र खुला परिवेशको महत्व बुझेकी सू चीले त्यो मौकालाई प्रयोग गरिन्, जसमा उनको पारिवारिक पृष्ठभूमिले सहयोग पुर्यायो । त्यसवेलासम्म आङ सानकी छोरीबाहेक कुनै परिचय नभएकी उनले नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) गठन गरिन् ।
त्यसपछि उनको परिचय प्रजातन्त्र र मानवअधिकारको संघर्षको पर्याय बन्न पुग्यो । उनको दलले १९९० मा ४८५ सीटका लागि भएको संसद्कोे निर्वाचनमा ३९२ सीट पायो, जतिवेला उनी नजरबन्दमा थिइन् । त्यसको अर्को वर्ष उनलाई नोबेल शान्ति पुरस्कारले विभूषित गरियो ।
१९९० को दशकमा तेस्रो विश्वमा प्रजातन्त्रको ‘तेस्रो लहर’ चलिरहेको वेला बर्मामा भने आम निर्वाचन मार्फत अनुमोदित पार्टीलाई सेनाले सत्ता हस्तान्तरण गर्न चाहेन । सू चीलाई १९८९ देखि २०१० सम्म घरमै नजरबन्द राखियो । सन् २००८ मा शासन खुकुलो बनाउन चर्को अन्तर्राष्ट्रिय दबाब परेपछि सैनिक सरकारले संविधान संशोधन गर्यो ।
तर, त्यसो गर्दा पनि विदेशी नागरिकसँग बिहे गरेको वा सन्तान विदेशी नागरिक भएकालाई राष्ट्रपति बन्नबाट निषेध गर्ने प्रावधान राखेर सू चीलाई सत्तामा पुग्न रोक्न खोजियो । सू चीका पति बेलायती हुन् भने दुई छोराहरूसँग पनि बेलायती नागरिकता छ ।
बिमिस्टेकको सम्मेलनमा जाँदा प्रधानमन्त्री सुशील कोइरालाले सू चीलाई यो कार्यक्रममा नेपाल आउन निमन्त्रणा दिएका थिए । कोइरालाको निम्तो उनले सहजै स्वीकार्नुमा नेपालसँगको पुरानो सम्बन्ध, बर्माले नेपाली कांग्रेसलाई सघाएको इतिहास र बीपी कोइरालाको अन्तर्राष्ट्रिय व्यक्तित्व कारण हुनसक्छन् ।
त्यसमाथि, बौद्ध धर्मकी अनुयायी उनको लुम्बिनीप्रति विशेष आस्था हुने नै भयो ।
सू चीको भविष्य
सू ची अहिले संसद्मा प्रतिपक्षमा रहेको दलको नेता छिन् । तर, २०१५ मा हुने आम निर्वाचन अघि संविधान संशोधन भएन भने ६८ वर्षीया उनले राष्ट्रपति हुन पाउने छैनन् ।
नजरबन्दमुक्त भएपछि उनको हत्या गर्ने प्रयास पनि भएको छ । उता, बर्मामा रहेका अल्पसंख्यक मुस्लिम समुदायमाथि भएको ज्यादतीको विरोधमा नबोलेको तथा जातीय हिंसा रोक्न पहल नगरेकोमा उनको आलोचना हुने गरेको छ ।
सेनासँग उनको सम्बन्ध अझै सुध्रिएको छैन । यस्तोमा उनलाई सत्तामा पुग्न सजिलो हुने छैन । सू चीको भनाइ छ, “मानिसलाई शक्तिले होइन डरले भ्रष्ट बनाउँछ । जोसँग शक्ति छ उनीहरू शक्ति गुम्ने डरले भ्रष्ट हुन्छन् भने जोमाथि शक्तिको प्रयोग गरिएको छ उनीहरू शक्तिको डरका कारण भ्रष्ट हुन्छन् ।”
परिवार त्यागेर स्वतन्त्रताका लागि सैनिक शासकहरूसँग अविचलित रूपमा लडेकी उनलाई श्रद्धापूर्वक हेर्नेहरू भने बर्माको कार्यकारीप्रमुख भएको देख्न चाहन्छन् । उनलाई स्वतन्त्रताको प्रतिमूर्ति मान्नेहरूको संख्या विश्वमा धेरै छ ।
उनले सैनिक शासनसँग लड्न महात्मा गान्धीले प्रख्यात बनाएको अहिंसाको माध्यम नै रोजिन् । नेल्सन मन्डेलाको निधनपछि विश्वमा अहिले उनी नै सबैभन्दा प्रतिष्ठित ‘फ्रिडम फाइटर’ हुन् । त्यसैले जुनसुकै अवस्थामा उनले पाएको सम्मान अहिलेभन्दा घट्ने देखिंदैन ।