रमझमआइतबार, आषाढ १, २०७१
आशलाग्दी निर्देशक दीपा बस्नेत
चलचित्र क्षेत्रमा महिला निर्देशक उत्साहजनक रुपमा बढ्दै गए पनि निरन्तरताको समस्या छ। दीपाले भने गुणस्तरीय कामसँगै निर्देशनमा निरन्तरता कायम गरेकी छन्।
राजधानीको ओस्कार कलेज अफ फिल्म स्टडिज्बाट चलचित्र निर्देशनमा स्नातक २९ वर्षीया दीपाले पहिलो फिल्म ‘अन्तराल’ बाटै हुने बिरुवाको चिल्लो पात देखाएकी थिइन्।
६ महीनाअघि सर्वोत्कृष्ट डिजिटल सिनेमा अवार्डमा नवनिर्देशक अवार्ड जितेकी उनी अहिले एनएफडीसी फिल्म अवार्डका लागि सर्वोत्कृष्ट नवनिर्देशक सहित ११ विधामा मनोनयनमा परेकी छन्।
अनलाइन फिल्मीखबर पपुलर अवार्डका लागि नवनिर्देशकको टप फाइभ र नेपाल चलचित्र प्राविधिक संघले गर्न लागेको नेफ्टा अवार्ड– २०७१ को पनि मनोनयनमा परेकी दीपाको दोस्रो कथानक चलचित्र ‘श्री ५ अम्बरे’ हो, जसको निर्माण कार्य भर्खरै सकिएको छ।
“म रहरले पढेर चलचित्र निर्देशक बनेकी हुँ”, दीपा भन्छिन्, “यो क्षेत्रमा केही गर्ने सोचका साथ आएकीले काममा धेरै मिहिनेत पनि गर्छु।”
पाँच वर्ष जति रंगकलाकार बनेकी दीपासँग भिजुअल एडिटरको पनि लामै अनुभव छ। एडिटरको रुपमा म्युजिक भिडियो, चलचित्र र डकुमेन्ट्रीको काम गरेपछि निर्देशनमा हात हालेकी हुन्।
उनी तीन वर्षसम्म नेपाल वातावरण पत्रकार समूहको भिजुअल एडिटर थिइन्। त्यहाँ रहँदा र बाहिर गरेर दुई दर्जन डकुमेन्ट्री र आधा दर्जन छोटा फिल्म निर्देशन गरेकी उनको छोटो चलचित्र ‘भाँडो’ टोरोन्टो फिल्म फेस्टिभलमा निकै प्रशंसित भएको थियो।
दीपा भन्छिन्, “रहरलाई अब पेशा बनाउने क्रममा छु।”
नेपाली फिल्म अहिले फड्को मार्ने क्रममा रहेको बताउने दीपा विभिन्न विषयमाथि फिल्म बनिरहेको बताउँछिन्।
उनी भन्छिन्, “फर्मूला शैली त लगभग पाखा नै लागिसक्यो।”
ऋषिराम कट्टेल