टिप्पणीसोमबार, आषाढ २, २०७१

दाहालको अस्थिर रणनीति

mumaram Khanal

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राजनीतिक रूपले ढुलमुले चरित्रको मानिन्छ । यो विशेषतालाई उनी पनि सहज रूपमा स्वीकार्छन् र भन्छन्, “त्यतिवेला त्यही नगरी हुन्थेन भने अहिले यही नगरी हुँदैन ।” तर, विभाजन र विघटनतर्फ उन्मुख दलको नेता भएकाले हुन सक्छ, उनको त्यो क्षमता र उनले दिने तर्कमा विश्वास गर्ने मानिस कम हुँदै गएका छन् ।

१९ जेठमा पोखरामा आयोजित पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराई एउटै मञ्चमा देखा परे । तस्वीरः माधव बराल

पार्टी विभाजनपछि दाहालले विपरीत विचारहरूलाई एकसाथ प्रयोग गरेकाले उनको दल राजनीतिक विचलनको प्रयोगशाला बन्दै गयो । कुनै वेला दाहालले बाबुराम भट्टराईको राजनीतिक लाइनलाई समर्थन गर्लान् र मोहन वैद्यसँग विभाजन हुने स्थिति स्वीकार्लान् भनेर सोच्न पनि सकिंदैनथ्यो । तर दाहालले त्यसलाई स्वीकार्दै विभाजनले पार्टीलाई असर पर्दैन भन्ने अभिव्यक्ति समेत दिए । त्यसवेला ठूलो दल रहेकाले दाहालले एमाओवादी आफ्नो कार्यकालमै यसरी सानो दल होला भन्ने सोच्न सकेनन् । पार्टी विभाजनलाई उनले महत्व नदिनुको कारण त्यही हो । दोस्रो संविधानसभा निर्वाचनमा वैद्य माओवादीलाई निर्वाचनमा ल्याउन सकिने सम्भावना भएर पनि नल्याउनुको कारण उनकै अरुचि प्रमुख थियो । एमाओवादी सबैभन्दा ठूलो दल बन्ने र वैद्य माओवादी विसर्जन हुने उनको विश्वास थियो ।

निर्वाचनको परिणाम सोचे विपरीत आएपछि दाहाल अर्को विचलनमा पुगे । निर्वाचन परिणाम अस्वीकार गर्ने हदसम्मको घोषणा गर्नु त्यसैको परिणाम थियो । तर हप्ता दिन नबित्दै उनी कथित धाँधलीको छानबिन गर्नुपर्ने माग राख्दै संविधानसभाको परिणाम स्वीकार्ने ठाउँमा आए । तर, त्यसवेला पनि पार्टीको महाधिवेशनबाट आफैंले गराएको प्रधान न्यायाधीशको नेतृत्वमा गैरराजनीतिक सरकार बनाउने निर्णयलाई त्रुटिपूर्ण भन्दै उनले ढुलमुलेपन देखाए । त्यसले उनको पार्टीको विश्वसनीयता घटायो भने पार्टीका कार्यकर्ता पनि आगामी बाटोबारे अन्योलग्रस्त बने ।

त्यही कारण बाबुरामले उनलाई राजनीतिक आक्रमण गर्ने मौका पाए । जसले अहिले एमाओवादीलाई अन्योल र विवादमा पार्दै विभाजन र विघटनको सँघारमा पुर्‍याएको छ । र, अहिले उनी वैद्यसँग नजिकिन बाध्य भएका छन् । यसले दाहाललाई संविधानसभाप्रति अरू उदासीन बनाएको छ । यसरी दाहाल, वैद्य माओवादीले लिएको निर्वाचन बहिष्कारको राजनीतिक लाइन ठीक रहेछ भन्ने निष्कर्षमा पुगेको देखाउँछ । यो क्रम बढ्दै गएमा उनी संविधानसभाबाट बाहिरिने उपाय खोज्ने ठाउँमा पनि पुग्न सक्ने देखिन्छ ।

निर्वाचनमा पार्टी पराजित भएको जिम्मेवारी लिएर दाहालले अध्यक्षबाट राजीनामा दिनुपर्छ भन्ने बाबुरामको अडानले उनीहरूबीचको अन्तरसंघर्ष तीव्र बनेको हो । संविधानसभामा रहँदा सैद्धान्तिक रूपले बाबुराम हावी रहने निष्कर्षले पनि उनलाई वैद्य माओवादीको नजिक पुर्‍याएको देखिन्छ । संविधानसभामा रहँदासम्म वैद्य माओवादी एकतामा नआउने भएकाले संविधानसभाबाट बाहिरिने सोच बनाएका दाहाल पछिल्लो समय वैद्य माओवादीलाई संविधानसभामा ल्याएर एकता गर्ने तथा बाबुराम समूहलाई कारबाही गर्ने बाटोमा जान खोजेको संकेत देखिएका छन् ।

दाहालको इच्छा संविधानसभाबाट बाहिरिने भए पनि बाबुराम समूहसँग सम्बन्धविच्छेद गर्दा कमजोर हुने निष्कर्षमा पुगेको देखिन्छ । त्यसको साटो वैद्य समूहलाई संविधानसभामा ल्याएर बाबुराम समूहलाई कारबाही गर्दा आफू बलियो हुने उनको बुझाइ छ । वैद्य समूह पनि बाबुरामलाई सके कारबाही गर्ने नसके महत्वहीन बनाउने पक्षमै छ ।

बाबुराम समूहले अलग पार्टी बनाउन अन्तिम गृहकार्य गरेको सूचना पाएकाले दाहालले रणनीति बदलेको देखिन्छ । संविधानसभाबाट बाबुराम समूह पनि बाहिरिन सहमत भएको भए वैद्य समूहसँग एकता गरेर जातीय/क्षेत्रीय शक्तिसँग मोर्चाबन्दी गर्ने दाहालको योजना थियो । तर बाबुराम समूह संविधानसभा छाड्न तयार नभएको बुझेपछि दाहालले वैद्य समूहलाई संविधानसभामा ल्याउने उपाय रोजे । त्यसो हुँदा पार्टी शक्तिशाली बन्ने र नेता कार्यकर्तामा देखिएको निराशा हटेर विघटन प्रक्रिया रोकिने उनको विश्वास छ ।

वैद्य समूहले पनि गोलमेच सम्मेलनलाई अहिले ‘गोलमेचसभा’ भन्न थाल्नुको कारण एमाओवादीसँग एकता हुने सम्भावना देखेर नै हो । वैद्यलाई ‘गोलमेचसभा’ शब्द प्रयोग गर्न दाहालले नै सुझाएको बताइन्छ । यस हिसाबले अहिलेसम्म दाहाल र वैद्य मिल्ने तथा बाबुराम बाहिरिने सम्भावना ज्यादा देखिएको छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...